उद्योग वाणिज्य महासंघ कोशीमा राजेन्द्र राउतको प्यानल

खगेन्द्र कार्की

इटहरी । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको निर्वाचनबाट आगामी तीन वर्षका लागि राजेन्द्र राउतको प्यानल निर्वाचित भएको छ ।

विराटनगरमा सम्पन्न महासंघको आठौं प्रदेश सभाबाट अध्यक्षमा राजेन्द्र राउत निर्वाचित भएका हुन् । राउतले आफ्ना निकटतम प्रतिस्पर्धी नविन रिजालको समूहलाई पछि पार्दै प्यानलसहित विजय हासिल गरेका हुन् । निर्वाचनको अन्तिम परिणाम अनुसार अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा राउतले १४२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नविन रिजालले ५८ मत पाए ।

राउतले सबै क्षेत्रगत समूहमा रिजाललाई जितेका छन् । राउतले एशोसिएट तर्फ १०७ मत ल्याउँदा रिजालले ३९ मत मात्र प्राप्त गरे भने जिल्ला नगर तर्फ राउतले २४ र रिजालले १३ मत पाए । त्यसैगरी वस्तुगत तर्फ राउतले ११ र रिजालले ६ मत मात्र प्राप्त गरे । तीन वर्षअघि झापामा भएको निर्वाचनमा निर्विरोध निर्वाचित ुभएका राउत महासंघमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

निर्वाचनमा जिल्ला नगरतर्फको उपाध्यक्षमा झापाका ऋषीराज तिम्सिना, वस्तुगततर्फ विराटनगरका राजन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा विराटनगरकै रविन दाहाल निर्विरोध निर्वाचित भए । त्यसैगरी कोषाध्यक्षमा विराटनगरका श्रवणकुमार अग्रवाल निर्विरोध हुँदा  एसोसिएट सदस्यमा देवकीनन्दन अग्रवाल र भविषकुमार श्रेष्ठ पनि विना प्रतिष्पर्धा चुनिएका थिए । सदस्य पदका लागि भने निर्वाचन भएको थियो ।

खुल्ला सदस्यतर्फ जिल्ला नगरबाट कृष्णप्रसाद रिजाल, राजु ढुंगाना ‘राजीव’, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नविनकुमार चौधरी निर्वाचित भए ।  त्यस्तै, वस्तुगत तर्फको सदस्यमा सुवाष आचार्य र दिपक पाण्डे विजयी भए । महासंघ कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि २०५ मतदाता सहभागी भएका थिए । जसमा जिल्ला नगर उद्योग वाणिज्य संघहरुबाट ३८, वस्तुगत संघसंस्थाबाट १९ र एसोसिएट सदस्यहरुबाट १४८ जनाले मतदान गरेका थिए ।


खगेन्द्र कार्की
प्रतिक्रिया