वर्षामा सडक अवरुद्ध हुनु नियति कि कमजोर पूर्वाधारको परिणाम ?

खगेन्द्र कार्की

विराटनगर । वर्षा सुरु हुनासाथ देशका विभिन्न पहाडी तथा हिमाली जिल्लाका सडक अवरुद्ध हुने पुरानै समस्या यस वर्ष पनि दोहोरिएको छ। पहिरो, सडक भासिने, कटान हिलाम्मे हुने कारण तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूलीमैलुङस्याफ्रुबेंसी सडक रुकुम पश्चिमको भेरी करिडोरलगायत सडकखण्डमा यातायात प्रभावित भएको छ।

समस्या हरेक वर्ष दोहोरिए पनि यसको स्थायी समाधानतर्फ पर्याप्त ध्यान नदिइएको देखिन्छ। सडक निर्माणका क्रममा भूगोलको संवेदनशीलता, पानीको उचित निकास, पहिरो नियन्त्रण वातावरणीय प्रभावलाई पर्याप्त ध्यान नदिँदा सामान्य वर्षामै सडकमा क्षति पुग्ने गरेको छ। विकासका नाममा पहाडी भित्तामा जथाभावी डोजर चलाउने प्रवृत्तिले पनि भूक्षय पहिरोको जोखिम बढाएको विज्ञहरूको तर्क छ।
प्रहरीका अनुसार इलाम नगरपालिका राजदुवालीमा वर्षाका कारण मेची राजमार्ग हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका जिरोकिलो, कोदारी लिपिङ क्षेत्रमा पहिरो तथा सडक भासिँदा अरनिको राजमार्गका विभिन्न खण्ड बन्द भएका छन्। चौतारा साँगाचोकगढी डुम्रेमा समेत राजमार्ग अवरुद्ध छ।
त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका खाल्टेमा सडक कटान भएपछि त्रिशूलीमैलुङस्याफ्रुबेंसी सडक बन्द भएको छ। रुकुम पश्चिमको आठबिसकोट रिजेगार्ड खोलामा पहिरो जाँदा भेरी करिडोरअन्तर्गत जाजरकोटडोल्पा सडकखण्ड अवरुद्ध भएको छ। तेह्रथुमको लालीगुराँस काडेस्थित पिङवाखोलानजिक मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण बन्द भएको छ।
अर्कोतर्फ, जोखिमयुक्त सडकमा सावधानीका लागि रातको समयमा यातायात रोक्ने अभ्यास पनि गरिएको छ। सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बिपी राजमार्गको खुर्कोटनेपालथोककटुन्जेबेँसी खण्डमा बेलुका बजेदेखि बिहान बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि बेलुका बजेदेखि बिहान बजेसम्म यातायात बन्द गरिएको छ।
यी तत्कालीन उपायले दुर्घटना मानवीय क्षति घटाउन सहयोग गरे पनि सडकको दीर्घकालीन समस्या समाधान गर्दैनन्। सडक निर्माणपूर्व विस्तृत भूअध्ययन नगर्ने, पानीको निकासका लागि पर्याप्त संरचना नबनाउने, कमजोर माटो भएको क्षेत्रमा आवश्यक संरक्षण नगर्ने निर्माण गुणस्तरमा सम्झौता गर्ने प्रवृत्तिले समस्या दोहोरिने गरेको छ।
विशेषगरी पहाडी सडकमा डोजर प्रयोगलाई विकासको पर्याय बनाउने प्रवृत्तिको पुनरावलोकन आवश्यक देखिन्छ। सडक खन्ने मात्र होइन, त्यससँगै ढल निकास, जैविक तथा इन्जिनियरिङ पहिरो नियन्त्रण, रिटेनिङ वाल, सडक किनार संरक्षण नियमित मर्मतलाई पनि योजनाको अभिन्न हिस्सा बनाउनुपर्छ।
वर्षायाममा सडक अवरुद्ध हुनु पूर्ण रूपमा रोक्न नसकिए पनि हरेक वर्ष एउटै सडकमा एउटै समस्या दोहोरिनु भने सामान्य प्राकृतिक विपत्ति मात्र होइन, पूर्वाधार निर्माण व्यवस्थापनको कमजोरी पनि हो। त्यसैले आकस्मिक पहिरो पन्छाउनेभन्दा जोखिम पहिचान गरी दीर्घकालीन रूपमा सुरक्षित सडक निर्माणमा राज्यको प्राथमिकता जानुपर्ने देखिन्छ। प्रहरीले समेत वर्षायाममा यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।

 

खगेन्द्र कार्की
प्रतिक्रिया