रास्वपामा सरकार गठनबारे छलफल सुरु

खगेन्द्र कार्की

इटहरी । प्रतिनिधिसभा निर्वाचनमा दुई तिहाइ बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नयाँ सरकार गठनबारे आन्तरिक छलफल सुरु गरेको छ।

रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलका अनुसार सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच सरकार निर्माणका विषयमा निरन्तर संवाद भइरहेको छ। उनले चाँडै शीर्ष नेताहरूबीच औपचारिक भेटवार्ता हुने सम्भावना रहेको बताइन्।

काठमाडौँ–३ बाट निर्वाचित सांसद राजुनाथ पाण्डेका अनुसार भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन शाहले मन्त्रीहरू छनोट गर्नेछन्। उनले मन्त्री चयन कुनै लेनदेन वा भागबण्डाको विषय नहुने र यसबारे रवि लामिछाने र बालेन शाहबीच सहमति भएर टुंगिने बताए।

रास्वपाका केन्द्रीय सदस्य असीम शाहले पनि सम्भावित प्रधानमन्त्री बालेन शाहले आफ्नो क्याबिनेट आफैं चयन गर्ने बताएका छन्। रास्वपाको सरकार बन्ने लगभग निश्चित भएपछि बालेन अहिले समानुपातिकतर्फका ‘क्लस्टर’ मिलाउने विषयमा आन्तरिक छलफलमा जुटेका छन्।

यसैबीच रास्वपाका केन्द्रीय सदस्य तथा काठमाडौँ महानगरका मेयर हुँदा प्रमुख स्वकीय सचिव रहेका भूपदेव शाहले पनि पछिल्लो राजनीतिक अवस्थाबारे बालेन शाहसँग भेट गरेका छन्। अछाम–२ बाट भूपदेव शाहको पराजयबारे बालेनले चासो व्यक्त गरेका थिए।

रास्वपाले चैत ५ गतेभित्र संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। चुनावअघि नै बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएकाले संसदीय दलको नेता पनि उनै बन्ने उच्च सम्भावना रहेको बताइएको छ। संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभामा बहुमत सिट जित्ने दलको संसदीय दलको नेता नै सरकार प्रमुख हुन्छ।

सरकार गठनको प्रक्रिया

निर्वाचन आयोगले समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक भएपछि बन्दसूचीबाट सांसद छनोट प्रक्रिया सुरु गर्नेछ, जसका लागि करिब एक साता लाग्ने अनुमान गरिएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक मतगणना सकिएपछि आयोगले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझाउनेछ। त्यसपछि मात्र नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ।

समानुपातिक मतगणना सम्पन्न भएपछि दलहरूले पाएको मतका आधारमा सिट संख्या निर्धारण गरिनेछ। त्यसपछि राजनीतिक दलसँग ती सिटका लागि सांसदको नामावली मागिनेछ र सूची ‘क्लस्टर’ अनुसार मिलेको छ कि छैन भन्ने जाँच गरिनेछ। नमिलेको अवस्थामा दलहरूलाई फेरि मिलाउन लगाइनेछ।

क्लस्टर अनुसार प्रतिनिधित्व सुनिश्चित भएपछि समानुपातिकबाट निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गरिनेछ। त्यसपछि निर्वाचन आयोगले प्रतिनिधिसभाको पूर्ण प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनेछ। आयोगका अनुसार यो प्रक्रिया चैतको पहिलो साताभित्र पूरा हुने अपेक्षा गरिएको छ।

दलले गर्नुपर्ने प्रक्रिया

सरकार गठनको बाटो खुलेपछि रास्वपाले आफ्नो संसदीय दलको नेता चयन गर्नुपर्नेछ। पार्टीले चुनावअघि नै बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेकाले परिस्थिति नबदलिएको अवस्थामा संसदीय दलको नेता पनि उनै बन्ने सम्भावना रहेको छ।

संसदीय दलको नेता चयन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्री नियुक्त गर्नेछन्। निर्वाचन आयोगको प्रक्रिया र पार्टीको आन्तरिक तयारीका आधारमा नयाँ प्रधानमन्त्री चयन हुन चैत दोस्रो साता लाग्ने देखिएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया