प्राकृतिक विपत्ति : सजग र सतर्क रहौं– कोशी प्रदेशका पहाडी जिल्लामा भारी वर्षाका कारण बाढीपहिरोमा परी ठूलो जनधनको क्षति

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल न्युज डेक्स

वर्षाको वितण्डा सुरु भएको छ । अविरल वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र बाढीमा परेर मानविय क्षतिसहित ठूलो मात्रामा धनको क्षति भएको छ । ताप्लेजुङ्ग , पाचथर र सङ्खुवासभामा भीषण बाढी पहिरोले ठूलो जनधनको क्षति पु¥याएको छ ।  

संखुवासभाकाे  हेँवा खोलामा शनिवार राती आएको बाढीले बगाउँदा दुइ जनाकाे मृत्यु भएकाे छ । मृतककाे पहिचान हुन नसकेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ । सङ्खुवासभाको हेवा, पिलुवा र सभा खोलाका प्राय पुल खोलाले बगाएको छ ।   १६ भन्दा धेरै मानिस सम्पर्क  बिहिन भएका छन् भने दर्जन भन्दा धेरै  घर बगाएको खवर प्राप्त भएको छ । यता ताप्लेजुङमा पनि बाढीले ३ घर बगाएको छ भने एकै परिवारका ३ सहित ४ जना मानिस बेपत्ता रहेको बताइएको छ ।

अबिरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ । गए राति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले जानकारी दिए । 

उनका अनुसार सोही क्षेत्रका डिल्ली सेलिङ, रामबहादुर सेलिङ र मीन बुढाथोकीको घर जोखिममा छन् । वर्षासँगै आएको बाढी बस्तीतर्फ पसेपछि घर छाडेर सुरक्षित क्षेत्रमा सरेकाले मानवीय क्षति भएको छैन । बाढीले इङ्वाखोला जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ । खोला किनारको खेतीयोग्य जमिनसमेत बगाएको छ भने केही पशुचौपायासमेत बगाएको जनाइएको छ ।

यसैगरी मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ । बाढीले बजार क्षेत्र कटान गरेपछि दुई घर उच्च जोखिममा रहेको स्थानीय प्रदीप पोखरेलले बताएका छन् । उनका अनुसार दीपक धिताल र सुकबहादुर लिम्बूको घर उच्च जोखिममा छन् । बाढी सामान्यतया घटे पनि पानीको बहाव घटेको छैन । मध्यरातमा बाढी आएपछि बजारका आधाजसो घरपरिवार अन्तै सरेका छन् । बाढीले मेरिङ्देन गाउँपालिकातर्फ जाने खोला किनारको सडकसमेत बगाएपछि बाटो पूर्णरूपमा अवरुद्ध बनेको बताइएको छ ।

मैवाखोला–२ र ५ नं वडा जोड्ने खार्तेखोलाको झोलुङ्गे पुल बगाएको स्थानीयले बताए । रातभर अत्यधिक वर्षासँगै ठाउँ–ठाउँमा बाढी र पहिरो झरेपछि जिल्लाका अधिकांश गाउँघरका मानिस रातभर नै जाग्राम बस्नुपरेको छ । जिल्लाका सबै ठाउँमा वर्षा भएको थियो । बिहीबार रातिमात्र सिरीजङ्घा गाउँपालिकाको याम्फुदिनमा बाढीले क्षति पुगेको थियो । यहाँका पाँचवटा सरकारी कार्यालय स्थानान्तरण गरिएको छ भने १५ घरपरिवार अन्तै सरेर बसेका छन् । यसैबीच मेची राजमार्गअन्तर्गत हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोलामा आएको बाढीले पुल बगाएपछि मेची राजमार्गसमेत पूर्णरूपमा अवरुद्ध भएको जनाइएको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया