अर्थतन्त्र सुधारोन्मुख अवस्थामा आएकै हो त ?

खगेन्द्र कार्की

चालु आर्थिक वर्षको एक महिनाका आर्थिक सूचकहरु हेर्ने हो अब भने अर्थतन्त्रले लय पक्रने आशा जगाएको छ । हरेक दिन अस्वभाविक रुपमा बढ्दै गएको शेयर बजारले छुट्टै पहिचान कायम मात्र गराएको छ । यसबाट लगानीकर्ताहरु उत्साहित भएका देखिन्छ । १ हजारे शेयरवालाहरु पनि शेयर बजार बढेर आम्दानीको स्रोत थपिएकोमा खुशी भएका छन् । यता फेरी घरजग्गा कारोबारले पनि लय पक्रिएको खबर आएसँगै घरजग्गासँग जोडिएका देशभरका व्यवासयी मात्र नभएर घरजग्गा बेच्न नपाएर व्यवहार मिलाउन नसकेका, आफ्नो पारिवारिक गर्जो टार्न नसकेका व्यक्तिहरु सबै उत्साहित भएका छन् । घरजग्गाको कारोबार बढेर झण्डै ४ अर्बको कारोबार हुँदा झापाको भद्रपुर मालपोत कार्यालयबाट मात्र १ हजार ४ सय ६५ लिखित पारित भएका सुखद खबर प्राप्त भएका छन् । यद्यपि घरजग्गा दीर्घकालिन व्यवसाय होइन । यसले क्षणिक फाइदा दिए पनि दीर्घकालसम्म घरजग्गाले थेग्न सक्दैन । 

वैदेशिक रोजगारमा गएका युवाहरुबाट प्राप्त रेमिट्यान्स पनि यो महिनामा बढेको देखिएको छ । झण्डै साढे १४ खर्ब बराबरको विप्रेषण मुलुकमा भिएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको यो तथ्याङ्कमा पनि १६ प्रतिशत बढीले बढेको रेमिट्यान्स बढेको जनाइएको छ । यस्तै विद्युत प्राधिकरणले पनि यस अघि नेरु. १६.९३ अर्ब रुपैयाँको विद्युत बिक्री गरी नेपाल खुद विद्युत निर्यातकर्ता र खुद राजस्व उत्पादकर्ता बनिसकेको अवस्थामा फेरी २५१ मेगावाट विद्युत खरिद गर्न भारतले स्वीकृति प्रदान गरेका सुखद समाचार पनि आएका छन् । थप विद्युत् निर्यातसँगै भारतबाट कुल स्वीकृति पाएको विद्युत्को परिमाण कुल २८ जलविद्युत् आयोजनाबाट ९४१ मेगावाट पुगेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८० सालको साउन महिनाको तुलनामा यस वर्षको साउन महिनामा २०.१ प्रतिशत राजश्व वृद्धि भएको बताएका छन् । समग्रतामा अर्थतन्त्रमा केही सकारात्मक सङ्केतहरू देखा परेको हुँदा पनि अब अर्थततन्त्र लयमा फर्कने आशा पलाएको छ ।

अब सरकारले यसलाई गिर्न नदिईकन अन्य क्षेत्रलाई समेत सवल र सक्षम बनाउँदै आर्थिक उपार्जनका माध्यम गुमाएका आम नेपालीलाई पनि लयमा फर्काउन सक्षम हुनु पर्दछ । अहिलेसम्म देखिएका सूचकांकबाट सामान्य मानिस भन्दा पनि धनाढ्यहरु नै बढी पालितपोषित भएका क्षेत्रहरुको आर्थिक अवस्था सुधारोन्मुख देखिएको हुँदा अब तल्लो वर्गका जसको चुल्होचौकामा आगो नै बल्न छोडेको छ त्यो परिवारका लागि समेत राहत हुने खालका नीति, योजना सरकारले ल्याउन आवश्यक देखिन्छ । आर्थिक अवस्था सुधारोन्मुख हुने अवस्थाको परिवार भनेको मध्यम वर्ग र तल्लो वर्ग नै भएको हुँदा यिनीहरुले काम पाउने, रोजगार मिल्ने र आयआर्जन बढ्ने सरकारको कसरत अबको आवश्यकता देखिन्छ ।  


खगेन्द्र कार्की
प्रतिक्रिया