भ्रष्टाचारको जरा उखेल्ने पूर्वप्रधानमन्त्री प्रचण्डको झापाबाट उद्घोष

खगेन्द्र कार्की

झापा ।  पूर्व प्रधानमन्त्री एबम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माओवादी केन्द्रप्रति जनताको आर्कषण बढ्दै गएको बताएका छन् ।

झापाको गौरीगञ्जमा माओवादी केन्द्रको दोस्रो गाउँ सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे दाहालले देश निर्माण गर्न नेपाली जनताले फेरि पनि माओवादी केन्द्रलाई साथ दिने विश्वास व्यक्त गरे  ।  

पछिल्लो तीनै तहको उपनिर्वाचनबाट सत्तारुढ दलको गठबन्धनलाई हराउँदै धेरै स्थानमा माओवादी केन्द्रले जितेर जनताको साथ प्राप्त गर्न सफल भएको उनको दावी थियो ।

पार्टीमा नवप्रवेशीहरुलाई स्वागत गर्दे उनले माओवादी केन्द्रमा काम गर्न आउने नेपाली जनताको उत्साहपूर्ण साथ र सहयोग प्राप्त हुदै आएको विचार राखे । देशमा प्राप्त भएका राजनीतिक लगायतका सवै उपलव्धी आफनो पार्टीकै नेतृत्वदायी भूमिकाबाट संभव भएको र यसको रक्षा र समृद्धितर्फ लैजान पनि माओवादी केन्द्रले नै फेरि पनि अगुवाई गर्ने उनको जोड थियो ।

नेपालको राजनीतिक इतिहासमा झापाले अगुवाई गरिआएको चर्चा गर्दे उनले भने–‘ संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा देशमा विकास र समृद्धि ल्याउन फेरि आन्दोलन गर्नुपर्ने खाँचो देखिदै गएकाले यसमा नेपाली जनताको साथ र सहयोग प्राप्त हुने हामी विश्वस्त छौ ।’

देशमा आएको यो राजनीतिक परिवर्तनले मात्र देश बलियो नहुने भएकाले पनि अव आर्थिक, सामाजिक,सांस्कृतिक अधिकार प्राप्त गर्न एकपटक आन्दोलन जरुरी भएको उनको धारणा थियो ।

‘अहिलेको सरकार अलोकतान्त्रिक, असंवैधानिक र अप्राकृतिक छ’ प्रचण्डले भने– अहिलेको सरकार न लोकतान्त्रिक छ, न संवैधानिक छ । यो अलोकतान्त्रिक, असंवैधानिक र अप्राकृतिक छ ‘०८४ मा हामीलाई २०६४ को जस्तै पहिलो पार्टी बनाउनुभयो भने भ्रष्टाचारको जरा उखेल्ने कुरामा म प्रतिज्ञा गर्न चाहन्छु,’ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा भएको सो कार्यक्रममा  सम्बोधन गर्दै उनले भने, ‘यो सरकारले साँच्चै नै भ्रष्ट र दलालका पक्षमा काम गर्दैछ । संविधान, देश र लोकतन्त्रका विरुद्धमा काम गर्दैछ ।’

 नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीको निर्वाचन क्षेत्रबाट सयौँ मानिस नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरेका झापा निर्वाचन क्षेत्र नम्बर ५ का ७८९ जनालाई सोमबार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीमा स्वागत गरेका हुन् ।
माओवादी केन्द्र गौरीगञ्ज गाउँ सम्मेलन तथा खबरदारी सभाको अवसरमा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 
कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल सद्भावना पार्टी, मधेसी जनाधिकार फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी परित्याग गरी उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 
नेपाली कांग्रेसका क्षेत्रीय सदस्य कमलेशकुमार राजवंशीले भ्रष्टाचार विरुद्धको आन्दोलन र सुशासनका निमित्त माओवादी अध्यक्ष प्रचण्डलाई साथ दिन पार्टी प्रवेश गरेको बताए । जनमत पार्टीका केन्द्रिय सदस्य महेन्द्रकुमार राउतसमेत माओवादी केन्द्रमा प्रवेश गरे । नव प्रवेशीहरुलाई प्रचण्डले अविर र खदा लगाइदिएका थिए ।  

सो कार्यक्रममा स्थानीय शैक्षिक अगुवा कमलेश्वर राजवंशीसहित ठुलो संख्याका सर्वसाधारणहरुलाई अविर ,खादा लगाएर उनले पार्टी प्रवेश गराएका थिए । सोमबारनै अध्यक्ष प्रचण्डले त्यस क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेको कनकाई पुल, कमलको आदिवासी रंगशाला लगायतको स्थलगत अनुगमन गरेका थिए । त्यहाँ पुगेका प्रचण्डले आदिवासी रंगशाला निर्माणमा भईरहेको कामका बारेमा जानकारी लिएका थिए ।

अध्यक्ष प्रचण्ड झापाको कार्यक्रम सकेर सोमबार साँझनै काठमाडौं फर्किएका पार्टीले जनाएको छ ।

प्रचण्डलाई कोच संस्कृतिमा खानपीन

यसअघि प्रचण्डले राजवंशीको घरमा केराको पातमा पेल्का र माछा भात खाएका थिए ।

प्रचण्डले माओवादी केन्द्रका गौरीगञ्ज १ का वडा कमिटी अध्यक्ष तिलक राजवंशीको महाभारास्थित घरमा कोच संस्कृति अनुसार बिहानको खाना खाएका हुन् । केराको पातमा उनले उसिना चामलको भात, लाफाको पेल्का (लाफा सागको दाल जुन चिप्लो हुन्छ), आलु र फूलकोभीको भाजी र रहुँ माछा खाएका हुन् । कोच संस्कृति अनुसार उनले पलेटी कसेर खाना खाएका थिए । उनीसंगै नेताहरु हरिबोल गजुरेल, इन्द्रबहादुर आङबो, सावित्रीकुमार काफ्ले, जीवन आचार्य,धर्मशीला चापागाँईलगायतले खाना खाएका थिए । राजवंशीको घरमा करिव ७५ जनाले खाना खाएको थिए । जसको व्यवस्थापन पार्टीको जिल्ला कमिटीले गरेको थियो ।

ओलीले रंगशालामा जालझेल गरे

माओवादी अध्यक्ष प्रचण्डले आदिवासी रंगशालाको अस्तित्व कायम गर्न पनि यो संरचना बनिनु पर्ने औल्याएका छन् । सोमबार अपरान्ह कमल ५ स्थित निर्माणाधिन आदिवासी रंगशाला आएका प्रचण्डले आफू यो रंगशालाको विषयमा जानकार भएकाले पनि यो काम जसरी भएपनि पूरा गर्न आफू प्रतिवद्ध भएको बताए ।

रंगशाला निर्माणमा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जालझेल गरेको उनको टिप्पणी थियो । ओलीले रंगशाला बनाउन चाहेनन्, उनले भने, –‘ओलीजीले रंगशाला बनाउन त चाहेनन् तर नाम नै उल्टाएर बखेडा झिके, यसले आदिवासी जनजातिमाथि अन्याय भएको छ’ ।

त्यसक्रममा प्रचण्डलाई रंगशाला समितिसहित स्थानीय खेलकुद क्षेत्रका अगुवाहरुले स्वागत गरेका थिए । गौरीगञ्जको कार्यक्रम सकेर सोझै निर्माणाधिन रंगशालामा आएका प्रचण्डले रंगशाला समितिका पदाधिकारी, सदस्यहरुसंग अन्तरकृया गरेका पार्टी जिल्ला अध्यक्ष सहभागि राजु आचार्य (अग्नी) ले बताए ।

खगेन्द्र कार्की
प्रतिक्रिया