धरानको धार्मिक, सांस्कृतिक समस्या समाधानमा १३ राजनीतिक एकजुट, वार्ताबाट समस्या समाधान गर्ने अठोट

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

सुनसरी । धर्मका नाममा सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा निकालिने सद्भाव ¥यालीबाट हुनसक्ने सम्भावित घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेपछि यहाँका १३ राजनीतिक दलहरु धार्मिक, सांस्कृतिक विवाद समाधानका लागि एकजुट भएका छन् । उपमहानगरपालिकामा देखिएको धार्मिक तथा सांस्कृतिक विवाद समाधानका लागि सर्वदलीय वार्ता गर्न १३ राजनीतिक दलले सहमति भएका हुन् । 

शुक्रबार सद्भाव र् याली निकालेपछि आयोजित पत्रकार सम्मेलनका क्रममा दलका नेताहरूले वार्ता र संवादबाट देखिएको विवाद हल हुने विश्वास व्यक्त गरेका थिए। पत्रकार सम्मेलनमा दलका नेताहरूले संवादबाट समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै धरानमा धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्न अपिल गरेका थिए।

सोही क्रममा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य सुदनकुमार श्रेष्ठले देखिएका धार्मिक, सांस्कृतिक विवादका विषयमा सर्वपक्षीय छलफलबाट समाधान गर्न प्रतिबद्ध रहेको जनाए।

उनले धरानमा शनिबार आयोजना गर्ने भनिएको पूर्वनिर्धारित कार्यक्रम स्थगन गरी सजह वातावरण बनाउन अपिल गरेका छन्।

सर्वदलीय पक्षबाट विज्ञप्ति जारी गर्दै श्रेष्ठले हालको गम्भीर परिस्थितिलाई मनन गर्दै सामाजिक सञ्जालमा समेत सद्भाव खलबलिने सामग्री नराख्न, सेयर नगर्न र शान्ति सुरक्षा कायम गर्न आवश्यक व्यवस्था गर्नुपर्नेमा जोड दिए।

सर्वदलीय वार्ताका लागि नेपाली कांग्रेस धरानका सभापति श्याम पोखरेल, नेकपा एमाले धरान अध्यक्ष हर्कजंग एभेड, नेकपा माओवादी केन्द्र धरान अध्यक्ष सूर्यबहादुर भट्टराई, जसपा धरानका अध्यक्ष ताजुब लिम्बूलगायतले प्रतिबद्धता जनाएका छन्।


खगेन्द्र कार्की
प्रतिक्रिया