फाष्ट मिडिया टिप्पणी
इटहरी उपमहानगरपालिकाले तीन सय प्रतिशतभन्दा बढी कर वृद्वि गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विरोध प्रदर्शन निरन्तर जारी राखेको छ । आम इटहरीबासीले जनताको पक्षमा रास्वपा उभिएको छ भन्ने महसुस त गरेका छन्, विरोधका कार्यक्रममा नगए पनि मौन समर्थन गरेको देखिन्छ । तर इटहरी उपमहानगरपालिकाले त्यो आवज दबाउने प्रयत्न निरन्तर गरिरहेको छ । साउन २५ गतेदेखि सुरु भएको त्यो विरोध कार्यक्रमलाई यतिका दिनसम्म साम्य बनाउन नसक्नु मेयर हेमकर्ण पौडेलको सफलता हो र ? रास्वपाले गरेको करको विरोध भनेको राजनीतिक रंग भरिएर आएको भन्ने बुझाई नगरप्रमुख पौडेलको बारम्बार सुनिन्छ । चतुर राजनीतिक खेलाडी नगरप्रमुख पौडेलले इटहरी उपमहानगरपालिकाभित्रै बहुमत रहेका अन्य दलका जनप्रतिनिधिलाई समेत झुक्याएर ३ सय प्रतिशतसम्म कर बढाएको त वडाअध्यक्ष बताएका होइनन र ? उपपमेयर संगीता चौधरीदेखि एमालेका सबै जनप्रतिनिधिले मेयरले झुक्यायो भनेकै हुन त ? फेरी नागरिकका लागि रास्वपाले विरोध गर्दा चाहि कसरी राजनीतिक रंग भयो । रास्वपा बाहेक अरु दलहरुले राजनीति छोडेका हुन र ? जे जसरी हुन्छ आफुलाई लागेका कुरा उपनगरपालिकामा लादेर भालिको राजनीतिक भविष्य सुनिश्चित बनाउने उद्देश्यका साथ मेयर साप पनि दौडिएकै हुनुपर्ने हो ? त्यो चाहि राजनीति होइन र ? कि अब मेयर हेमकर्ण पौडेलको राजनीति यति नै हो भन्नुप¥र्यो ? होइन भने इटहरी उपमहानगरपालिका भित्र भएका गलत क्रियाकलाप, रवैया वा जनहित विपरितका क्रियाकलापको आवज बोल्ने चाहि कसले त ? इटहरी सरकारलाई कसले सच्याउने ? त्यो पनि चाहिन्छ होला नि ? उपनगरपालिकाका जनप्रतिनिधिलाई चिप्ला कुरा गरेर, हप्काएर वा झुक्याएरै वा ललिपप ख्वाएरै भए पनि आफ्नो पकडमा लिएकै छ त ? अनि विरोध चाहि गरिदिने कसले ? कि हेमकर्ण पौडेल दैविक शक्ति हो यसले गलत गर्दैन भन्ने हुनुपर्यो ? रास्वपासँग किन यति सारो डरपोक बनेका हाम्रा मेयर पौडेल ? उनीहरुको शान्तिपूर्ण आन्दोलनमा गेट नै बन्द गर्ने, नगरप्रहरी तैनाथ राख्ने, नेपाल प्रहरीलाईसमेत गुहार्ने ? ए बाबा ति रास्वपाका नेता कार्यकर्ता हिजोका दिनमा हेमकर्ण पौडेलले नै प्रशिक्षित गरेका व्यक्ति अधिकांश हैनन र ? किन डराएको यतिसारो ? रास्वपाले गरेका विरोधको रिपोटिङमा पत्रकारलाई समेत राजनीति यहाँ भित्र होइन बाहिर गर्ने, भिडियो नै खिच्न दिन्न, यस विषयमा बोल्दिन, बोल्ने बेलामा बोलाउँला भन्ने, अरुले चलाएको सामाजिक सञ्जालबाट विकृति अनुभुत गर्ने तर आफैचाहि त्यही सामाजिक सञ्जालबाटै उदाउन खोज्ने, लाइभ हान्दिने चरित्रको सन्दर्भमा जनताले कसरी बुझ्ने ? फेरी करको विरोध रास्वपाले मात्र गरेको होइन होला, रास्वपा बाहेकका दल, व्यक्ति वा समूहले पनि विरोध गरेकै छन् त ? तिनीहरुसँग पुगेका पत्रकारलाई चाहि कार्यकक्षबाटै लाइभ हान्न, भिडियो, फोटो खिच्न दिने ? यस्तो किन गरिन्छ ? किन अभिभावकबाटै नागरिकलाई विभेद गरेको अनुभुति दिलाइन्छ ?
करको विरोध रास्वपाले मात्र गरेको छैन, अन्य व्यक्ति, दल वा समूहबाट पनि विरोध हुँदै आएको छ त ? उपमहानगरले पुनः करको अध्ययनको लागि समिति पनि बनाएको छ ? विरोध गर्नेहरुलाई पत्राचार गरेर बोलाउने र बसेर छलफलबाट समस्या हल गर्न केले छेकिरहेको छ ? करका सन्दर्भमा रास्वपा मात्र मेयरसापको दुस्मन चाहि कसरी बन्यो ?
मेयर सापले रास्वपामाथि चुनावी हिसाबकिताब (राजनीतिक प्रतिशोध) खोजिरहेको जस्तो झल्को पनि दिने गरेको छ । किनकी करका सन्दर्भमा रास्वपालाई मात्र राजनीति गर्ने होइन भनेर पाठ पढाईरहनु भएको छ । रास्वपाका कारण कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा धेरै ठाउँमा हात धुनुपरेको इतिहास छ । धेरै ठाउँमा जित निकाल्न आछु आछु पारेको पनि इतिहास छ । सुनसरी ३ मा कांग्रेसको विरासत तोडाएर एमालेको पोल्टामा पु¥याएको आवेग पनि मेयरसापसँग भएको हो कि ? होइन भने रास्वपा पनि इटहरीको एउटा शक्ति भएर आएको दल हो भलै उनीहरुको उपमहानगरमा प्रतिनिधित्व छैन, हुन पाएन, उपमहानगरमा प्रतिनिधित्वको लागि रास्वपा लाग्ने अवसर पाएको भए सम्भवतः हेमकर्ण पौडेल पनि मेयर हुन्थे कि हुँदैन शंकै छ । जे होस् यसरी काखा र पाखा एउटा अभिभावकबाट गर्न मिल्दैन । समान व्यहावहार भयो भने सबैलाई काम गर्ने जोस र जाँगर आउने र इटहरीको विकासमा टेवा पुग्ने हुन्छ । एकताबद्ध भएर जाने वातावरण अभिभावकले बनाउने हो । तसर्थ बेलैमा विरोध गर्नेहरुलाई वैधानिक रुपबाट वार्तामा बोलाएर समस्याको हल गर्न आवश्यक देखिन्छ नकि हरेक दिन इटहरी उपमहानगरको गेटमा लामबद्ध पम्प्लेट छातीमा टाँसेको तस्बिर ।
विरोधकै क्रममा सोमबार पनि उपमहानगर गेट अगाडि रास्वपाका नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरे । गत साउन २५ गतेदेखि लगातार उपमहानगर अगाडि गेटमा रास्वपाले प्रदर्शन गरिरहेको छ । इटहरीमा बढाईएको कर अवैज्ञानिक र अव्यवहारिक भएको भन्दै सच्याउन दबाबमूलक कार्यक्रम गर्दै आएको झण्डै एक महिना हुन लागिसकेको प्रदेश प्रवक्रा कमलबाबु मैनाली बताउँछन् । उनी भन्छन– ‘हामीले राजनीतिक प्रतिशोध साँध्न होइन, जनतासँग प्रत्यक्ष जोडिएको विषय भएका कारण यो मुद्वा उठाएका हौँ ।’
उनकाअनुसार पार्टीले हरेक दिन शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै आएको छ । कर समायोजन नभएसम्म निरन्तर विरोध प्रदर्शन गर्ने मैनालीले बताए । रास्वपा इटहरी नगरका संगठन प्रमुख खेमराज नवीन पोखरेलले इटहरीका मेयर हेमकर्ण पौडेलले पत्र काटेर वार्तामा बोलाउनुपर्ने बताए । ‘हामीले ज्ञापनपत्रसमेत बुझाएका छौँ । चिया गफका लागि उपमहानगरमा बोलाइएको रहेछ,’ उनले भने, ‘वार्ताको चिट्ठी आउनुपर्छ । मौखिक भरमा कसरी जाने ?’ अहिले कर वृद्विको विषयमा रास्वपालाई इटहरीका नागरिकको मौन समर्थन रहेको उनको बुझाई छ । तर जनताको जनजीविकासँग जोडिएको विषय करका सिन्दर्भमा उठेको हाम्रो आवाज इटहरी उपमहानगरका मेयरका लागि खिसिट्युरीको माध्यम बनाएको दुखेसो पोखरेलसँग छ ।
विरोध प्रदर्शनमा रास्वपा कोसी प्रदेशका महामन्त्री लालविक्रम थापा, प्रवक्ता कमलबाबु मैनाली, प्रदेश विभागीय सदस्य देवराज अधिकारी, जिल्ला संयोजक जीवन श्रेष्ठ, नगर कार्यबाहक सभापति हरिमाया अधिकारी, इटहरी नगरका संगठन प्रमुख खेमराज नवीन पोखरेलसहित वडा कमिटिका पदाधिकारी तथा सदस्यहरू उपस्थित थिए ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो