एमालेसँगको सहकार्य गम्भिर संकटमा परेको झापा कांग्रेसको दावी

खगेन्द्र कार्की

बिर्तामोड  । झापा जिल्ला सहकारी संघको निर्वाचनको विषयलाई लिएर सत्ता साझेदार दल कांग्रेस र एमालेबीच विवाद बढेको छ । संघको निर्वाचनमा दुवै दलले पद बाँडफाँड गरेर सहमतिका आधारमा अगाडि बढेको भए पनि अहिले कांग्रेसको कोटामा परेका पदमा पनि एमालेको तर्फबाट उम्मेदवारी दिएपछि विवाद चुलिएको हो । २०८१ चैत २३ गते नेपाली कांग्रेस र एमाले झापाबीच सातवटा पद कांग्रेसले र १५ वटा पद एमालेले लिने लिखित सहमति थियो ।

सहमति भएका पदमध्ये नेपाली कांग्रेसको भागमा परेको सहसचिव र सदस्य लगायतका केही पदमा सहमति उल्लंघन गर्दै एमालेको तर्फबाट उम्मेद्वारी दर्ता भएपछि बिवाद उत्पन्न भएको हो । सत्ता साझेदार दलबीच भएको सहमति एमालेको तर्फबाट उल्लंघन भएकोप्रति नेपाली कांग्रेस झापाले गम्भीर आपत्ती  प्रकट गर्दै जिल्लास्तरिय संयन्त्रको सहकार्यमाथि नै प्रश्न उठेको जनाएको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले एक विज्ञप्ति जारी गर्दै आपत्ती प्रटक गर्नुभएको हो । ‘सहकारी संघको निर्वाचन समितिले समेत पूर्व निर्धारित निर्वाचन कार्यक्रमलाई एकपक्षीय ढंगले प्रभावित गरेर बिना सहमति निर्धारित समय सकिएपछि समेत पटक पटक थप उम्मेद्वारी दर्ता र उम्मेद्वारी फिर्ता लिने कार्य गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ विज्ञप्तिमा भनिएको छ –सहमति विपरित दोहोरो उम्मेद्वारी दर्ता गरेर सहमति तोड्ने कार्य भएको प्रति हाम्रो पार्टी घोर असहमति प्रकट गर्दछ । प्रमुख सत्ता घटक दलको राजनीतिक संयन्त्रमा समेत रहनु भएका जिल्ला नेतृत्वले लिखित सहमति गरेको विषयमा एमालेका तर्फबाट सहमति तोड्ने कार्य भएकाले आगामी दिनमा दुईदलीय जिल्लास्तरिय राजनीतिक संयन्त्रको औचित्य मार्थि नै गम्भिर प्रश्न चिन्ह्र खडा भएको छ । विज्ञप्तिमा भनिएको छ–दुई दलबीच भएको भद्र र लिखित सहमतिलाई पालना नगर्ने हो भने नेकपा एमालेसंगको आगामी दिनको सहकार्यमा थप कठिनाई उत्पन्न हुनेछ ।’ लिखित सहमति अनुसार इमान्दारिता पालना भएको अवस्थामा नेपाली कांग्रेस सहकार्यलाई अघि बढाउन प्रतिवद्ध रहने उल्लेख गर्दै विज्ञप्तिमा सहकार्य गर्ने वा नगर्ने भन्ने विषय एमालेका गतिविधिमा निर्भर रहने जनाइएको छ । 

जिल्ला सहकारी संघको आठौं अधिवेशनका लागि एमालेले अध्यक्ष, खुल्ला उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, खुल्ला, महिला र क्षेत्रगत गरी नौ सदस्यीय, लेखा समिति संयोजक र एक सदस्य (महिला) लिने सहमति भएको थियो । 

नेपाली कांग्रेसले बरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, सहसचिव, क्षेत्रगत र खुल्ला गरी तीन सदस्य र एक लेखा समिति सदस्य लिने सहमति भएको थियो । सहमतिमा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, सचिव कृष्ण हुमागाँई, पार्टीका सहकारी विभाग प्रमुख दुर्गा सापकोटाले हस्ताक्षर गरेका थिए भने एमालेका तर्फबाट झापा अध्यक्ष प्रेम गिरी, कोशी प्रदेश सदस्य घनश्याम अधिकारी र पार्टीमा सहकारी विभाग प्रमुख हरिदास ढुङ्गानाले हस्ताक्षर गरेका छन् । 

उक्त सहमति विपरित कांग्रेसको भागमा परेका सहसचिव र क्षेत्रीय सदस्य पदमा एमालेका तर्फबाट पनि उम्मेद्वारी दर्ता भएपछि विवाद उत्पन्न भएको हो । 

यसैबीच निर्वाचन समितिले स्वच्छ र निष्पक्ष रुपमा कार्य गर्न नसकेको ठहर गर्दै नेपाली कांग्रेस सहकारी विभागले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको छ । यो संगै सहकारीको निर्वाचन छैटौं पटक अनिश्चित बनेको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया