देशभर बल्लतल्ल ९१ प्रतिशत रोपाई सम्पन्न, अब मल कता हो ?

खगेन्द्र कार्की

इटहरी । यस वर्ष साउन महिनाको २५ गतेसम्मको सरकारी आँकडा अनुसार औसत ९१ प्रतिशत धान रोपाइँ भएको छ ।

कृषि बिभागले साउन २५ गतेसम्म भएको रोपाईको विवरण सार्बजनिक गर्दै गत बर्ष यस अवधिमा ९८.१५ प्रतिशत रोपाइँ सकिएको जनाएको छ । साउन महिना सकिन लाग्दा समेत अझै ९ प्रतिशत रोपाइँ बाँकी रहेको देखिएको छ । 

यसबर्ष पनि पहिला जस्तै सिँचाइको अभाव तथा रासायनिक मलको अभाव कायमै रहेको छ ।  कृषि विभागका अनुसार नेपालमा धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ७८ हजार ९६६ हेक्टर रहेको छ । जसमा हैलेसंम १२ लाख ५४ हजार ८८६ हेक्टरमा धान रोपाइँ भइसकेको छ । त्यस्तै १ लाख २४ हजार ८० हेक्टर क्षेत्रफलमा अझै धान रोपाइँ हुन बाँकी रहेको छ । 

प्रदेशको हिसाबले सबै भन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९९।७२ प्रतिशत रोपाइँ भएको छ भने सबै भन्दा कम मधेश प्रदेशमा ७६।५४ प्रतिशत रोपाइँ भएको छ ।  मधेस प्रदेशमा सुख्खा भएका कारण रोपाइँ हुन सकिएको छ । नेपालको अन्नको भण्डार मानिने मधेशमा समयमा रोपाइँ हुन नसक्दा यस बर्ष धानको उत्पादन घट्ने देखिएको छ । विभागका अनुसार मधेसमा अझै २३ प्रतिशत भन्दा बढी रोपाइँ हुन बाँकी रहेको छ । गत बर्ष यस समयसम्म ९७ प्रतिशत रोपाइँ भइसकेको थियो । त्यस्तै कर्णाली प्रदेशमा ९८।४ प्रतिशत रोपाइँ भएको छ भने लुम्बिनी प्रदेशमा ९८।०७ प्रतिशत रोपाइँ भएको छ । त्यसैगरी बागमती प्रदेशमा ९३।५६ प्रतिशत, कोशी प्रदेशमा ९४।४२ प्रतिशत र गण्डकी प्रदेशमा ९२।७७ प्रतिशत रोपाइँ भएको छ ।

नेपालमा गत बर्ष १४ लाख २० हजार ६३६ हेक्टरमा धान खेती गरिएको थियो भने यस बर्ष ४१ हजार ३७० हेक्टर धान रोपाइँ हुने क्षेत्रफल घटेको छ । गत बर्ष कुल ५९ लाख ५५ हजार ४७६ टन धान उत्पादन भएको थियो, जुन आर्थिक वर्ष २०८०र८१ को तुलनामा ४।०४ प्रतिशतले बढी थियो । 

त्यस्तै आर्थिक वर्ष २०८०र८१ मा भने १४ लाख ३८ हजार ९ सय ८९ हेक्टरमा धान खेती गरिएको थियो, त्यसबाट ५७ लाख २४ हजार २३४ टन धान उत्पादन भएको थियो । कृषि मन्त्रालयको आँकडा अनुसार नेपालमा हाल बार्षिक करिब ८ लाख टन धान अपुग रहेको छ ।

रोपाई भएका तथ्याङ्क सार्वजनिक भए पनि अब मलको अभाव कायमै छ । रोपाईपछि किसानलाई तुरुन्तै मलको आवश्यकता पर्दछ । तर सरकारले माग भन्दा आधा भन्दा कम कम मल आपुर्ति गरेका समाचार आइरहेका छन् । किसानलाई प्रर्याप्त हुने मलको जोहो सरकारले गर्न आवश्यक छ । 


खगेन्द्र कार्की
प्रतिक्रिया