दमक । झापालगायत देशका अधिकांश भुभागमा आइतबारदेखि हल्का, मध्यम र केही स्थानमा भारी वर्षा सुरु भएसँग धान रोपाईका लािग रोपिएको धानलाई पानीको प्रतिक्षा गरिरहेका किसानलाई राहत मिलेको छ ।
कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत धान रोपाइँ मनसुनी वर्षाकै भरमा सम्पन्न हुने गरेका छन् । मनसुनमा राम्रो वर्षा हुन नसक्दा मधेस प्रदेशलगायत स्थानमा देखिएको सुक्खापनले यस वर्षको धान उत्पादनमा ह्रास आउन सक्ने भन्दै सरोकारवालाहरू चिन्तित छन् । यही बेला वर्षा सुरू भएसँगै हल्का भए पनि राहत मिल्न सक्ने भन्दै उनीहरूमा उत्साह देखिएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेबिड ढकालले सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार आइतबारदेखि मुलुकका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको भन्दै यसले धान रोपाइँमा सहजता ल्याउन सक्ने बताए । ’मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ’, उनले भने, ’मधेसमा वर्षा कम हुँदा सुक्खा बढेको थियो । मधेसका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।’
महाशाखाका अनुसार सोमबार कोशी प्रदेशका केही भूभागमा मध्यमदेखि भारी वर्षा र मधेस प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका केही क्षेत्रमा मध्यम वर्षा र पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा र गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसमी विज्ञप्तिमा उल्लेख छ ।
मधेस प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयका प्रवक्ता तथा सूचना अधिकारी सुदीप चौधरीले मधेस प्रदेशका कतै वर्षाले रोपाइँका लागि केही राहत दिए पनि कतै भने वर्षा हुन नसकेको कारण समस्या उस्तै रहेको जानकारी दिए ।
धान रोपाइँका लागि मनसुन अनुकूल नहुँदा नेपालको पूर्वी तराईको क्षेत्रमा गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ उल्लेखनीय रूपमा घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागका अनुसार मुलुकभर ७८ दशमलव ८४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गतवर्ष भने यही अवधिमा ९२ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो । गत वर्षको तुलनामा यस वर्ष १३ दशमलव ७६ प्रतिशत बिन्दु कम रोपाइँ भएको छ ।
मुलुकभर १३ लाख ७८ हजार ९६६ दशमलव ९८ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेकोमा हालसम्म १० लाख ८७ हजार १४८ दशमलव ९५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो।
यही साउन ११ गतेसम्म गत वर्षको तुलनामा सबैभन्दा कम रोपाइँ मधेस प्रदेशमा भएको छ । विभागका अनुसार गत वर्षको तुलनामा मधेश प्रदेशमा यस वर्ष ४० दशमलव १८ प्रतिशत बिन्दु कम रोपाइँ भएको छ । गतवर्ष यस अवधिमा ९२ प्रतिशत रोपाइँ सम्पन्न भएकोमा यस वर्ष ५१ दशमलव ८२ प्रतिशत रोपाइँ मात्र भएको हो। यस प्रदेशमा ३ लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुनेमा हालसम्म एक लाख ९३ हजार ११६ दशमलव ११ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।
त्यसपछि सबैभन्दा कम रोपाइँ कोशी प्रदेशमा भएको छ । कोशी प्रदेशमा दुई लाख ७६ हजार ३८६ दशमलव ७३ हेक्टरमध्ये हालसम्म ८० दशमलव ३९ प्रतिशत अर्थात् दुई लाख २२ हजार १९२ दशमलव ५४ हेक्टरमा रोपाइँ भएको छ । प्रदेशमा गत वर्ष सोही अवधिमा ९० दशमलव ७ प्रतिशत रोपाइँ भएको थियो ।
सातै प्रदेशमा धान रोपाइँको तथ्याङ्कलाई विश्लेषण गर्दा गत वर्षको तुलनामा लुम्बिनी प्रदेशबाहेक अन्य ६ प्रदेशमा कम रोपाइँ भएको छ ।
वैकल्पिक बालीको तयारी
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले यो साउन मसान्तसम्म रोपाइँका लागि मनसुन अनुकूल नभएमा वैकल्पिक बालीमा जाने तयारी भइरहेको जानकारी दिए । ‘तराईमा सुक्खाका कारण कृषिमा देखिएको असर पत्ता लगाउन र समस्या समाधानमा के गर्न सकिन्छ भन्ने अनुसन्धान गर्न मधेस प्रदेशमा अनुगमन गरेर हामी फर्किएका छौँ’, उनले भने, ‘तत्कालका लागि कुलो, नहर, स्यालो ट्युबवेल र डिप बोरिङ मर्मत गरेर रोपाइँको क्षेत्रफल बढाउने प्रयास गरिनेछ ।’
कृषि तथा पशुपन्छी डायरी, २०८१ अनुसार हाल कृषि क्षेत्रले राष्ट्रिय कूल ग्राहस्थ उत्पादनको २४.१ प्रतिशत योगदान पु¥याउनुका साथै ५०.४ प्रतिशत जनसङ्ख्यालाई रोजगारी प्रदान गर्दै आएको छ । मधेस प्रदेशमा नेपालमा खेती गरिने कूल जग्गाको १६.२५ प्रतिशत जग्गामा खेती हुने गरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
भूगर्भविद् डा सुवोध ढकालले चुरे विनाशका कारण मधेस तथा तराई क्षेत्रमा सुक्खापन बढ्दै गइरहेको भन्दै चुरे क्षेत्रको संरक्षण गर्न नसके यस्ता समस्या भविष्यमा अझै बढ्न सक्ने बताए ।
‘चुरे तराईको रिचार्ज जोन हो । चुरेबाट रिचार्ज भएर छिरेको पानी तराईमा पुग्छ । तर चुरेमा भू–क्षय र पहिरोका कारण जमिनमा पानी रिचार्ज हुन सकेन । पानी बाहिरबाट बग्ने र बाढी आउने समस्या भयो,’ उनले भने, ‘चुरे क्षेत्रको दिगो संरक्षण गर्न सकेनौं भने तराईमा जमिनमुनिको पानी सुक्दै जानेछ र भविष्यमा पानीको झन् ठूलो समस्या बेहोनुपर्छ ।’
यसैबीच, कृषि विभागका उप–महानिर्देशक जगन्नाथ तिवारीले यदि साउन १५ सम्ममा मनसुन अनुकूल नभएमा र रोपाइँ गर्न नपाएका कृषकहरूका लागि राहतको व्यवस्था गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए । ‘अहिलेको वर्षाले कतिको रोपाइँलाई सहज गर्छ ? हेरौँ । नभए राहत उपलब्ध गराउने विषयमा छलफल भएको छ’, उनले भने, ’बीउ जुटाउने हो कि पानीको व्यवस्था गराउने हो कि भन्ने विषयमा छलफल भइरहेको छ ।’ तिवारीले दीर्घकालीन रूपमा सिँचाइको सुविधा उपलब्ध गराउन नसकेमा यस्तो किसिमका समस्या दोहोरिने र मुलुकले धान उत्पादनमा क्षति बेहोनुपर्ने बताए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो