उर्लाबारी उद्योग वाणिज्य संघले यही फागुन १५ देखि २५ गतेसम्म “उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव” लगाउँदैछ । महोत्सव सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि संघले मूल समिति, कार्यसम्पादन समिति, विभिन्न उपसमिति गठन गरी तयारीलाई तीब्र बनाएको छ । उर्लाबारी नगरपालिका कार्यालय दक्षिणतर्फ लाग्ने महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने कार्यक्रम रहेको छ । संघले यस वर्ष महोत्सवको आम्दानी व्यवसायिक सुरक्षामा खर्चिने भएको छ । स्थानीय व्यावसायीहरूको सुरक्षाको सुनिश्चितता गर्दै आगो निभाउने उपकरण (ाष्चभ भहतष्लनगष्कजभच) रिफिल गर्ने मेसिन खरिद गरिने संघका अध्यक्ष तारामान सिरेङ लिम्बूले बताए । ‘आगलागीको जोखिमबाट बच्न व्यवसायीहरुले आगो निभाउने उपकरण राख्नुभएको हुन्छ, त्यो उपकरण प्रयोगमा नआएपनि प्रत्येक प्रत्येक दुई वर्षमा रिफिल गर्नु नै पर्छ’ उनले भन्नुभयो, ‘एक त रिफिल गर्न विराटनगरसम्म पुग्नुपर्ने बाध्यता अर्को महंगो हुने भएकोले धेरै व्यवसायीले आगो निभाउने उपकरण राख्नुभएको छैन । हामीले मेसिन खरिद गरेर सस्तो शुल्कमा रिफिल गर्न थालेपछि सबैले राख्नुहुन्छ भन्ने विश्वास लिएका छौँ ।’ यो रिफिल गर्ने मेसिनलाई करिब १६ लाख रुपैयाँ पर्ने उनले बताए ।
उर्लाबारीमा विभिन्न समयमा आगलागीका कारण ठूलो जनधनको क्षति भएको छ । गत वर्ष कार्तिकमा उर्लाबारी–७ मा दिपक कार्कीको सुनपसलमा भएको आगलागीमा २८ जना घाइते भएका थिए भने उपचारका क्रममा पाँच जनाको मृत्यु भएको थियो । त्यसअघि पछि पनि उर्लाबारीमा भएका आगलागीमा ठूलो क्षति भएको थियो । यसैले पनि आगलागी नियन्त्रणमा सहयोग पुगोस् र सबैले पसलमा आगो निभाउने यन्त्र राखून् भन्ने उद्देश्यले रिफिल गर्ने मेसिन खरिद गर्ने योजना बनाइएको अध्यक्ष सिरेङले बताउनुभयो । अध्यक्ष सिरेङ स्वयम् गत वर्ष आगलागीमा परी घाइते भएका थिए ।
महोत्सवमा विभिन्न आकर्षक स्टलहरू र प्रदर्शनीहरू रहने महोत्सव कार्यसम्पादन समितिका संयोजक तथा संघका पूर्वअध्यक्ष चन्द्रबहादुर भट्टराई भरतले जानकारी गराए । जसमा आदिवासी फुड स्टल, अटोमोबाइल स्टल, दैनिक उपभोग्य वस्तु र सेवाहरू, हस्तकलाका उत्पादनहरू, साना तथा घरेलु उत्पादनहरू, गार्मेन्ट, शैक्षिक तथा वित्तीय संस्थाहरू, होटल र रेष्टुरेन्ट, अटोमोबाइल, फुटवेयर, निर्माण सामग्री, इलेक्ट्रोनिक्स, फर्निचर र फर्निसिङ सामाग्रीहरू, जडिबुटी र औषधीजन्य वस्तुहरू, सांस्कृतिक प्रदर्शनी र बाल उद्यान तथा मनोरञ्जनात्मक खेल तमासाहरु रहने उनले बताए ।
महोत्सवमा १० दिनको अवधिमा ३ लाख भन्दा बढी दर्शकहरूको सहभागिता र करिब १५ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ । यस महोत्सवमा १ सय ५० भन्दा बढी व्यापारिक स्टलहरू रहनेछन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो