कोशीमा बाढी, पहिरो र चट्याङको दोहोरो जोखिम : पाँच वर्षमा ६६ जनाको मृत्यु, २३ जिल्ला उच्च सतर्कतामा

खगेन्द्र कार्की

इटहरी । मनसुन सक्रिय भएसँगै कोशी प्रदेशमा बाढी, पहिरो र चट्याङको जोखिम एकसाथ बढेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन कोशीसहित देशका २३ जिल्लामा बाढीको उच्च जोखिम रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। यसैबीच, अविरल वर्षाका कारण कोशी प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध वा आंशिक रूपमा सञ्चालनमा आएका छन् भने पछिल्ला पाँच आर्थिक वर्षमा चट्याङका घटनाले मात्र प्रदेशमा ६६ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक भएको छ। यी तीनवटै अवस्थाले मनसुनजन्य विपद् व्यवस्थापनमा प्रदेशको तयारी र पूर्वसूचना प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।

प्राधिकरणका अनुसार पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ र धनकुटासहित कोशी प्रदेशका अधिकांश जिल्लामा भारीदेखि अति भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागले हिमाली तथा पहाडी भूभागसँगै तराईका केही क्षेत्रमा समेत लगातार वर्षा हुने पूर्वानुमान गरेको छ। भारी वर्षासँगै नदी तथा खोलामा आकस्मिक बाढी, पहिरो, भू–क्षय, गेग्रान बहाव र सहरी डुबानको जोखिम बढेकाले नदी किनार, होचा भूभाग तथा जोखिमयुक्त बस्तीका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। रातिको समयमा अनावश्यक यात्रा नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचनालाई नियमित रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ।

मनसुनको प्रभाव सडक सञ्जालमा समेत देखिन थालेको छ। इलामको राजदुवाली क्षेत्रमा पहिरो खस्दा मेची राजमार्ग प्रभावित भएको छ भने ताप्लेजुङको खोक्से खोलामा सडक अवरुद्ध हुँदा यातायात पूर्ण रूपमा ठप्प बनेको छ। भोजपुरको बोखिम क्षेत्रमा मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सञ्चालनमा रहेको छ। सडक अवरुद्ध हुँदा यात्रु तथा ढुवानी सेवा प्रभावित भएका छन्। प्रदेश बाहिर पनि बीपी राजमार्गमा रात्रिकालीन सवारी सञ्चालन रोकिएको, अरनिको राजमार्ग, कान्ति लोकपथ, कालीगण्डकी करिडोर, आरुघाट–माछीखोला सडक, सालझण्डी–ढोरपाटन सडक तथा घोराही–थवाङ शहीद राजमार्ग पहिरोका कारण बन्द रहेकाले पूर्व–पश्चिम तथा पहाडी जिल्लाबीचको आवागमनमा समेत असर परेको छ। सडक विभाग र नेपाल प्रहरीले अत्यावश्यकबाहेक यात्रा नगर्न तथा यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेका छन्।

प्राकृतिक विपद्को अर्को गम्भीर चुनौती चट्याङ बनेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि चालु आर्थिक वर्ष २०८२/८३ को असार २५ गतेसम्म चट्याङका कारण प्रदेशमा ६६ जनाको मृत्यु भएको छ भने २१८ जना घाइते भएका छन्। मृत्यु हुनेमध्ये ४४ जना पुरुष र २२ जना महिला रहेका छन्। घाइतेमध्ये ११५ जना पुरुष र १०३ जना महिला छन्। प्रहरीका अनुसार खेतबारी, खुला चौर, जंगल तथा गोठमा काम गरिरहेका व्यक्तिहरू चट्याङबाट सबैभन्दा बढी प्रभावित भएका छन्।

जिल्लागत तथ्यांक हेर्दा झापा सबैभन्दा बढी प्रभावित देखिएको छ, जहाँ पाँच वर्षमा ११ जनाको मृत्यु भएको छ। इलाम, सुनसरी, भोजपुर, उदयपुर र खोटाङमा सात–सात जनाले ज्यान गुमाएका छन्। घाइतेको संख्या भने ओखलढुंगामा सबैभन्दा बढी ४३ रहेको छ। त्यसपछि भोजपुरमा ३९, उदयपुरमा ३३ र खोटाङमा २७ जना घाइते भएका छन्। यही अवधिमा चट्याङका कारण एक हजार ३२ वटा पशुचौपाया मरेका छन् भने आगलागीबाट १७० घर तथा गोठ जलेका छन्। प्रदेशभर तीन करोड ७२ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको प्रहरीको अभिलेखमा उल्लेख छ।

विज्ञहरूले चट्याङको जोखिम बढ्दै गए पनि त्यसको वैज्ञानिक अभिलेख राख्ने प्रणाली प्रदेशमा नहुँदा प्रभावकारी पूर्वतयारी गर्न कठिन भइरहेको बताएका छन्। जल तथा मौसम विज्ञान कार्यालय धरानका सूचना अधिकारी रुपक थापाका अनुसार कोशी प्रदेशमा चट्याङ कहाँ, कहिले र कति शक्तिसहित पर्‍यो भन्ने रेकर्ड गर्ने लाइटनिङ डिटेक्सन नेटवर्क सञ्चालनमा छैन। कार्यालयमा रहेको एक मात्र उपकरण पनि लामो समयदेखि बिग्रिएको छ। अहिले विराटनगर विमानस्थलमा रहेको उपकरणले विमानस्थल सञ्चालन अवधिमा मात्रै सीमित अभिलेख राख्ने भएकाले प्रदेशस्तरीय तथ्यांक उपलब्ध हुँदैन। यसले जोखिम मूल्याङ्कन, पूर्वसूचना प्रणाली र विपद् व्यवस्थापनमा ठूलो कमजोरी देखिएको उनी बताउँछन्।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण मेघगर्जन र चट्याङका घटना बढ्दै गएका छन्। मौसममा हुने आकस्मिक परिवर्तनका कारण खेतबारीमा काम गर्ने किसान, घाँस–दाउरा संकलन गर्न जंगल जाने स्थानीय, गोठाला तथा खुला स्थानमा रहेका मानिसहरू सबैभन्दा बढी जोखिममा पर्ने गरेका छन्। उनले मौसम खराब हुँदा अग्ला रुख, बिजुलीका पोल, टेलिफोनका तार तथा धातुजन्य वस्तुबाट टाढा रहन, सकेसम्म पक्की भवनभित्र बस्न तथा मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन सुझाव दिएकी छन्। विद्यालय, स्थानीय तह र समुदायस्तरमा चट्याङसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सके मानवीय क्षति उल्लेख्य रूपमा घटाउन सकिने उनको भनाइ छ।

विपद् व्यवस्थापनका जानकारहरूका अनुसार मनसुनजन्य जोखिम केवल बाढी र पहिरोसम्म सीमित छैन। सडक अवरोध, विद्युत् अवरोध, कृषि क्षति, चट्याङ, पशुधनको नोक्सानी र आकस्मिक उद्धारका चुनौतीहरू एकैसाथ बढ्ने भएकाले प्रदेश सरकारले पूर्वतयारी, उद्धार सामग्री, सूचना प्रवाह र स्थानीय तहसँगको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ। विशेषगरी जोखिमयुक्त बस्तीको पहिचान, नदी तटीय क्षेत्रमा निगरानी, चट्याङ पूर्वसूचना प्रणालीको विस्तार र जनचेतना अभिवृद्धिमा तत्काल लगानी नगरे आगामी वर्षहरूमा मनसुनजन्य विपद्ले अझ ठूलो मानवीय तथा आर्थिक क्षति पुर्‍याउने चेतावनी विज्ञहरूले दिएका छन्।

खगेन्द्र कार्की
प्रतिक्रिया