आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने दाजुभाईले दिदीबहिनीका लागि ब्रत बसेर मनाउने 'अटवारी' पर्व मनाइँदै

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । पश्चिम नेपालमा बसोबास गर्ने थारु समुदायको अटवारी पर्व विशेष रुपले आइतबार र सोमबार भव्य रुपमा मनाउँदैछन् । खासगरेर चौधरी–डगौरा समुदायमा दाजुभाईले दिदीबहिनीको सुख, शान्ति र समृद्धिका लागि ब्रत बस्ने प्रचलन रहि आएको छ । 

२ दिन मनाइने यो पर्व एक दिन दिनभरि व्रत बसेर फलफूल र रोटीका परिकारहरु बनाउँछन् भने भोलिपल्ट बिहान ७, ९, ११, १३ विजोडी प्रकारको तरकारीलगायतका खानेकुरा पकाएर दिदीबहिनीलाई कोसेली पुर्‍याइदिन जान्छन् । दाजुभाइ वा दिदीबहिनी नहुनेहरुले यो पर्वमा खल्लो महसुस गर्छन् भने कतिले दाजुभाइ दिदीबहिनी बनाउने पनि गरेका छन् ।

आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रुपमा लिइने ‘अटवारी’ पर्व विशेषरुपमा दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा डगौरा–चौधरी समुदायमा मनाइने गरिन्छ । यो समुदायले आइतबारको दिनलाई ‘अटवारी’ नामले चिन्ने हुँदा आज यो पर्व प्रारम्भ भई सोमबार (भोलि) सम्म मनाइन्छ । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिनबाट यो पर्व शुरु हुन्छ ।

वर्षा ऋतुमा खेतीको काममा निकै ब्यस्त रहने यो समुदायका व्यक्ति अटवारी पर्वपछि भने कामको बोझ हटेर पाइने फुर्सदको समयको उपयोग गर्दै टोलटोलमा सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्ने चलन पनि छ ।

व्रत लिएर बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ । अग्रासन दिइसकेपछि यो पर्वको समापन भएको मानिन्छ । महाभारत कालमा वनबास जान बाध्य भएका पाण्डव मध्येका भीमले वनबासमा रहेको समयमा देखाएको बहादुरीको खुशियाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन शुरु भएको चौधरी समुदायका अगुवा बताउँछन् ।


खगेन्द्र कार्की
प्रतिक्रिया