नेपाल प्रहरीमा इन्स्पेक्टर पद थप, कुल २९ पुग्यो, खुला प्रतिष्पर्धाबाट ८ पदमा भर्ना लिइने
फाष्ट मिडिया नेपाल संवाददाता
८ साउन २०८३, शुक्रबार ०८:५९ मा प्रकाशित
368
नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको खुला प्रतियोगितात्मक भर्नामा ८ पद थप गरेको छ। यससँगै इन्स्पेक्टर पदका लागि कुल माग संख्या २९ पुगेको छ।
नेपाल प्रहरी प्रधान कार्यालयको भर्ना छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै २६ मंसिर २०८२ मा प्रकाशित विज्ञापनमा पद संख्या थप गरिएको जनाएको हो।
थप गरिएका ८ पदमध्ये अमर/अशक्त तथा प्रहरी परिवारतर्फ ४, खुलातर्फ २, महिलातर्फ १ र आदिवासी/जनजातितर्फ १ पद समावेश गरिएको छ।
प्रहरीका अनुसार सर्वोच्च अदालतको २४ माघ २०७९ को परमादेश कार्यान्वयन तथा समावेशी समूहसम्बन्धी कानुनी व्यवस्था मिलाइएपछि कायम हुने पदमध्ये समावेशी अनुपातअनुसार पदपूर्ति गरिनेछ।
साथै, आर्थिक वर्ष २०७९/८० मा समावेश हुन नसकेर गुमेका पदहरूको क्षतिपूर्तिसम्बन्धी व्यवस्था पनि कानुनबमोजिम गरिने नेपाल प्रहरीले जनाएको छ।