सुन्दरहरैँचामा ४६९ महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

फाष्ट मिडिया नेपाल संवाददाता

विराटचोक/ महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्याको प्रारम्भिक पहिचान गर्ने उद्देश्यले सुन्दरहरैँचा नगरपालिकामा सञ्चालन गरिएको ‘मातृत्व जोगाउने अभियान’ अन्तर्गत तीन दिनमा ४६९ जना महिलाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्राप्त गरेका छन्। स्वास्थ्य परीक्षणका क्रममा चार जनामा क्यान्सरको शंका देखिएपछि थप परीक्षण तथा उपचारका लागि विराट क्यान्सर इन्स्टिच्युटमा रिफर गरिएको आयोजकले जनाएको छ।
कल्प इम्पावर वेमेन नेपालको पहल तथा नेपाल बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको अभियान असार ८ देखि १० गतेसम्म सुन्दरहरैँचा–२ को आधारभूत स्वास्थ्य केन्द्र, मृगौलिया र वडा नं. १२ को आधारभूत स्वास्थ्य केन्द्र, इन्द्रपुरमा सञ्चालन गरिएको थियो। अभियानमा पाठेघरको मुखको क्यान्सरको भीआईए स्क्रिनिङ, स्तन क्यान्सर परीक्षण, अल्ट्रासोनोग्राफी तथा स्त्रीरोगसम्बन्धी परामर्श सेवा प्रदान गरिएको थियो। विराट क्यान्सर इन्स्टिच्युटले प्राविधिक साझेदारका रूपमा सेवा दिएको थियो।
अभियानको उद्घाटन कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले गरेका थिए। कार्यक्रममा कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पुजा कोइरालाले महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै समुदायमै विशेषज्ञ सेवा पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताइन्। प्रारम्भिक परीक्षणबाट क्यान्सर समयमै पहिचान गर्न सकिने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको उनको भनाइ थियो।
स्वास्थ्य मन्त्री लिम्बुले सरकारी निकाय, निजी क्षेत्र र सामाजिक संस्थाबीचको सहकार्यबाट समुदायस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न सकिने बताए। नेपाल बैंक लिमिटेडका प्रतिनिधिले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्यक्ष सामाजिक प्रभाव पार्ने कार्यक्रमलाई प्राथमिकता दिँदै आएको उल्लेख गरे।
अभियानअघि स्थानीय तहसँग समन्वय, स्वास्थ्य सचेतनामूलक कार्यक्रम, भिडियो सन्देश तथा पम्पलेट वितरणमार्फत जनचेतना अभिवृद्धि गरिएको थियो। पहिलो दिन १३१, दोस्रो दिन १३८ र तेस्रो दिन २०० गरी कुल ४६९ महिलाले सेवा लिएका थिए। रिफर गरिएका सेवाग्राहीलाई उपचारमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
समापन समारोहमा आयोजकले ३०० महिलालाई सेवा दिने लक्ष्य रहेकामा ४६९ जनासम्म सेवा पुर्‍याउन सफल भएको जनाउँदै आगामी दिनमा पनि समुदायमा आधारित यस्ता स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया