इटहरी सुरक्षित र व्यवस्थित बनाउन स्थानीय सरकारको सक्रियता आवश्यक : सुरक्षा निकाय
खगेन्द्र कार्की
२४ असार २०८३, बुधबार ०९:५८ मा प्रकाशित
568
इटहरी । इटहरीलाई सुरक्षित, व्यवस्थित र दीर्घकालीन रूपमा विकास गर्न स्थानीय सरकारले पूर्वाधार निर्माण, शहरी व्यवस्थापन र विपद् तयारीमा प्रभावकारी भूमिका खेल्नुपर्नेमा सुरक्षा निकायहरूले जोड दिएका छन्। इटहरीमा आयोजित सडक सुरक्षा, विपद् न्यूनीकरण तथा शान्ति–सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गरिरहे पनि स्थानीय तहको ढिलासुस्ती र पूर्वाधार अभावका कारण अपेक्षित परिणाम हासिल गर्न कठिन भएको बताएका हुन्।
कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले पार्किङको अभाव, बसपार्क सञ्चालनमा ढिलाइ, फुटपाथ अतिक्रमण, ट्राफिक संकेत, लेन मार्किङ, ट्राफिक लाइट, सीसी क्यामेरा र यात्रु प्रतिक्षालयको कमीले ट्राफिक व्यवस्थापन जटिल बनेको बताए। सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न र भवन निर्माणमा पार्किङलाई अनिवार्य बनाउनुपर्ने उनको भनाइ थियो।
सशस्त्र प्रहरी बलका डीएसपी नन्दकिशोर महतोले विपद् व्यवस्थापनका लागि स्थानीय तहको समन्वय कमजोर रहेको बताए। विपद् स्वयंसेवक तालिम, उद्धार सामग्री तथा आगलागी नियन्त्रण उपकरणको अभाव रहेको उल्लेख गर्दै बाढी र अन्य विपद्का लागि पूर्वतयारी बढाउन आग्रह गरे।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले अभद्र व्यवहार, साइबर अपराध, लागूऔषध र आत्महत्याका घटनामा वृद्धि भइरहेको भन्दै विद्यालय तहदेखि नै सचेतनामूलक शिक्षा आवश्यक रहेको बताए। उनले शहरका मुख्य नाकामा सीसी क्यामेरा, पूर्वसूचना प्रणाली र दमकल व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
कार्यक्रममा सहभागी नागरिक समाज, व्यवसायी, सामाजिक अभियन्ता तथा विज्ञहरूले पनि अव्यवस्थित शहरीकरण, पार्किङ अभाव, फुटपाथ अतिक्रमण, सडक निर्माणमा ढिलाइ, चोरी तथा दुव्र्यसनका घटना बढ्दै गएको भन्दै स्थानीय सरकारलाई प्रभावकारी योजना कार्यान्वयन गर्न आग्रह गरे। ट्राफिक शिक्षा विद्यालयस्तरबाट सुरु गर्न, दीर्घकालीन शहरी योजना बनाउन, ट्रान्सपोर्ट हब, मल्टिस्टोरी पार्किङ, फायर हाइड्रेन्ट तथा विपद् व्यवस्थापन प्रणाली विकास गर्नुपर्ने सुझावसमेत दिइयो।
इटहरी उपमहानगरपालिकाका नगरसभा सदस्य दिनेश रसाइलीले डुबान नियन्त्रणका लागि शेरा खोलाको व्यवस्थापनमा बजेट विनियोजन गरिएको, दमकल खरिद प्रक्रिया अघि बढेको, नगर प्रहरीलाई तालिम दिइएको तथा मल्टिस्टोरी पार्किङ र नयाँ भवनमा पार्किङ अनिवार्य गर्ने नीति कार्यान्वयनको तयारी भइरहेको जानकारी दिए। उनले यी योजनाले इटहरीलाई थप सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।