राजसंस्था र हिन्दु राज्य पुर्नस्थापनाका लागि आन्दोलनरत पक्षहरु आ–आफ्नै दाउमा

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । राजसंस्था र हिन्दु राज्य पुनःस्थापनाका लागि एकठाउँ भेला भएका राजावादी दल एवं समूहहरूमा मनमुटाव देखिएको छ । उनीहरूले एकअर्काको कार्यशैलीप्रति कटाक्ष गर्न थालेका छन् । १५ जेठबाट सुरु भएको पहिलो चरणको आन्दोलनको समीक्षा गर्न र आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्न बुधबार बसेको बैठक भाँडियो । राजावादी विभिन्न ४५ दल तथा समूहको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको खोजी गरियो ।

तर, उनी संसद बैठकलाई कारण देखाएर सहभागी भएनन् । विभिन्न समूहका प्रतिनिधिले राप्रपा अध्यक्ष लिङ्देनलाई ‘संसद चाहिने भए किन आन्दोलन गर्नू’ भन्दै कटाक्ष गरेका थिए । राप्रपा नेपालका अध्यक्ष कमल थापाले बोल्ने बेलासम्म बैठकमा तनाव उत्पन्न भइसकेको थियो । सहभागीले माइक खोसाखोस नै गरेका थिए ।

थापाले बैठकको मर्यादामाथि प्रश्न उठाउँदाउठाउँदै राजसंस्था पुनःस्थापना जनआन्दोलनका संयोजक नवराज सुवैदीले बैठक अन्त्यको घोषणा गरिदिए । सँगै उनले आन्दोलनका नयाँ कार्यक्रम आफूले घोषणा गर्ने पनि बताए । 

बैठकलगत्तै सुवेदीले प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकाका विभिन्न पालिकाहरूमा विरोध प्रदर्शनलाई जारी राख्ने र काठमाडौंबाहिर पनि विभिन्न प्रमुख शहरहरूमा विरोधसभा, धर्ना तथा जनप्रदर्शन गर्ने बताएका छन् । आन्दोलनलाई अझ सशक्त, प्रभावकारी र उपलब्धिमूलक बनाउन स्थानीय तहदेखि नै संयुक्त जनआन्दोलन समिति गठन गर्ने उल्लेख गर्दै उनले भनेका छन्, ‘जिल्लामा प्रतिबद्ध र जुझारु युवा कार्यकर्ताहरूको समूह तयार गरिसकेपछि आन्दोलनलाई पुनः काठमाडौंकेन्द्रित गरिनेछ ।’ 

जनआन्दोलन समितिका नाममा एक्लै निर्णय गर्ने सुवेदीको कार्यशैलीप्रति भने राप्रपा नेताहरू असन्तुष्ट छन् । बुधबारको बैठक भाँडिनुमा पनि उनीहरूले सुवेदीको कार्यशैलीलाई दोष दिएका छन् । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ राजसंस्था र हिन्दु राज्य पुनःस्थापनाको आन्दोलनले जनताको तहसम्म उत्साह भरिरहेको बेला संयोजक सुवेदीको कार्यशैलीले समस्या उत्पन्न गरेको बताए । उनले शिलापत्रसँग भने, ‘नवराजजीको कार्यशैलीका कारण समस्या पैदा हुँदै गएको छ । शीर्ष चार नेता बसेर बेलैमा ती समस्या टुंग्याउनुपर्छ ।’ 

अर्को चरणको आन्दोलन घोषणाका लागि बसेको बैठक विधि एवं प्रक्रिया नमिलाएर बैठकको मर्यादा ख्याल नगर्दा भाँडिएकोमा आफूलाई दुःख लागेको श्रेष्ठ बताउँछन् । त्यसो त राजावादी आन्दोलनमा विभिन्न दल र समूहका आआफ्नै स्वार्थ र कार्यशैली देखिन्छ । वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पार्टीभन्दा सुवेदी नेतृत्वको समितिप्रति प्रतिबद्ध भइदिँदा असमझदारीहरू बढिरहेका छन् ।

राप्रपा अध्यक्ष लिङ्देनको नेतृत्वमा आन्दोलन हुन सक्दैन भनेर अन्तिम राजा ज्ञानेन्द्र शाहलाई कुरा लगाइएको भन्दै लिङ्देनले चित्त दुखाएका छन् । तर, समयक्रममा १५ चैतमा पूर्वराजा शाहका जनकमान्डर दुर्गा प्रसाईं नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा आन्दोलन बदनाम मात्र भएन, तितरबितरसमेत भएको थियो । तर, करिबकरिब माहौल बिग्रिसकेको आन्दोलनलाई २४ चैतमा बल्खु, लगत्तै भृकुटीमण्डपहुँदै १५ जेठदेखि थालिएको शान्तिपूर्ण आन्दोलनले राजसंस्था पुनःस्थापनाको मुद्दालाई बलियो बनाएको विश्लेषण राप्रपा नेताहरूको छ ।

आन्दोलन बढ्दै जाँदा जस र अपजसमा पनि राजावादी समूहहरूबीच द्वन्द्व बढ्दै गएको देखिन्छ । आन्दोलनको स्वामित्वमा पनि ती समूहहरू एकमत छैनन् । राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताहरूलाई पक्राउ गरेको विरोधमा आन्दोलन समितिले सल्लाह नै नगरी उपत्यका बन्द घोषणा गरिदियो । राप्रपा सोमबार राति नै बन्दप्रति आफ्नो संलग्नता नरहेको भन्दै अलग भयो । अन्ततः सुवेदी समूहले पनि बन्द फिर्ता लियो । silfpatra

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया