निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान (सूचनासहित)

फाष्ट मिडिया नेपाल संवाददाता

 आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रहरी भर्ना खुला गरिएको छ। प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी आवश्यक रहेको जनाउँदै बिहीबार सूचना सार्वजनिक गरेको हो।

निर्वाचन सुरक्षामा खटिन इच्छुक नागरिकहरूले पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन्। सार्वजनिक बिदाका दिनसमेत आवेदन स्वीकार गरिने प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागले जानकारी दिएको छ।

दरखास्त फारम काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रहरी परिसर तथा देशभरका सबै जिल्ला प्रहरी कार्यालयहरूबाट लिन र बुझाउन सकिने व्यवस्था गरिएको छ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, साधारण लेखपढ गर्न जान्ने नेपाली नागरिकहरू निर्वाचन प्रहरीमा भर्ना हुन योग्य हुनेछन्। आवेदन परेका उम्मेदवारमध्ये माघ ५ देखि ९ गतेसम्म छनोट प्रक्रिया सञ्चालन गरिनेछ भने माघ १२ गते अन्तिम नतिजा सार्वजनिक गरिनेछ।

छनोटमा परेकाहरूले माघ १५ देखि २४ गतेसम्म तालिम लिनुपर्नेछ। निर्वाचन प्रहरीको कार्य अवधि ४० दिन तोकिएको छ। यस अवधिमा उनीहरूले ३४ हजार ७७६ रुपैयाँ पारिश्रमिक पाउनेछन्। साथै, रासन तथा आवत–जावत खर्चबापत ८४६ रुपैयाँ अतिरिक्त प्रदान गरिनेछ।

त्यसैगरी, तालिम अवधिमा ४ दिनका लागि दैनिक ३०० रुपैयाँ खाजा खर्च दिइनेछ भने पोसाक खर्च छुट्टै व्यवस्था गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया