नो केवलकार पक्षधरसँगको वार्ता निस्कर्षविहिन, आज आन्दोलनको अर्को चरणको तालिका सार्वजनिक गर्ने तयारी

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । ‘नो केबलकार’ समूह र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन टुंगिएको छ ।  नो केबलकार समूहका खगेन्द्र माखिमले वार्ता निष्कर्षविहीन भएको जानकारी दिए । वार्तामा सरकारी टोलीले पोल कता राख्ने तथा केबलकारको संरचना कसरी बनाउने भन्ने विषय उठाएपछि वार्ता निष्कर्षमा नपुगेको उनले बताए । आफूहरूको माग  केबलकार खारेजी मात्रै रहेको नो केबलकार समूहले स्पष्ट पारेको छ ।

सरकारी वार्ता टोलीले खारेजीको विषयमा छलफलको म्याण्डेट आफूहरूसँग नभएको र त्यसको लागि माथिल्लो निकायमा बताएपछि बिनानिष्कर्ष वार्ता टुंगिएको माखिमले बताए ।

सरकारी टोलीसँग वार्ता बिथोलिएसँगै ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा केबलकार बनाउन नहुने पक्षमा रहेको समूहले सोमबार थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाएको छ । वार्ता बिथोलिएसँगै नो केबलकार समूह माइतीघरमा भेला भएको थियो । उनीहरूले कर्मचारीस्तरको टोली अस्वीकार भएको बताएका छन् । आन्दोलनरत पक्षका प्रतिनिधि सन्तोष मेहेताका अनुसार मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता टोलीसँगमात्रै नो केबलकार समूह वार्तामा बस्ने छ ।

‘सरकारी वार्ता टोलीका सदस्यहरूले केबलकार जसरी पनि बन्ने र त्यसका लागि सेयर, रोजगारीलगायतमा मिलाउने प्रस्तावतिर जानुभयो’, उनले भने, ‘त्यसमा हामी छलफल नै गर्न चाहँदैनौं । आइतवार साँझसम्म पर्खिन्छौं, सरकार पक्षबाट केही प्रयास नभए सोमबा नै आन्दोलनका थप कार्यक्रम घोषणा गर्छौं । ‘

बैठकमा गृहमन्त्रालयका तर्फबाट प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता भएको थियो । तर आन्दोलनरत पक्षले कर्मचारी नभई राजनीतिक संयन्त्रसँगमात्रै वार्ता गर्ने अडान राखेका हुन् ।

यो विषय राजनीतिक मुद्दा भएकाले मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता समिति गठन भएमात्रै आफूहरु छलफलमा सहभागी हुने मेहेताले बताए । त्यसका लागि आइतवार साँझसम्म समय दिएको उनले बताए । ‘उहाँहरु भनेको कार्यान्वयनमात्रै गर्ने हो । यो राजनीतिक मुद्दा भएकाले हामी मन्त्री वा उच्चस्तरीय वार्ता टोलीसँगमात्रै छलफल गर्ने भनेका छौं’, उनले भने, नभए सोमबारदेखि हामी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं ।’ पाथीभरा केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्काल रोक्नेबारे आन्दोलनरत पक्ष र सरकारबीच २२ माघमा सहमति जुटेको थियो । सहमति जुटेसँगै ‘नो केबलकार समूह’ले आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो । उक्त दिन भएको ६ बुँदे सहमतिमा माघ आइतवार पुनः विस्तृत छलफल गर्ने गरी सहमति जुटेको थियो । त्यसक्रमा दुवै पक्षबीच आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क तथा प्रभावकारी स्वास्थ्य उपचार सरकारले गर्ने, माघ १२ गतेको घटनामा छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने, आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई विना शर्त रिहा गर्ने प्रक्रिया अघि बढाउने,  मुक्कुमलुङ संरक्षक पक्षले घोषणा गरेको यातायात बन्द फिर्ता लिने सहमति भएको थियो ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया