अवैध चोरीनिकासी रोक्न नगरपालिका सकृय

खगेन्द्र कार्की

झापा । निर्माण कार्यका लागि आवश्यक खोलाजन्य सामाग्री उत्खनन्का लागि ठेक्का नलाग्दा चोरी निकासी हुने गरेको पाईएको छ । दमक स्थित रतुुवा खोलाबाट समेत यस्ता गतिविधि बढे पछि नगरपालिका र प्रशासनले निगरानी बढाएका छन् ।

नगरपालिकाले यस्ता गतिविधि रोकथामका लागि प्रहरी प्रशासनसँग समेत आग्रह गरेको छ । नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार पटक पटक सुचना आह्वान गर्दा समेत खोलाजन्य सामाग्री निकाशीका लागि ठेक्का लाग्न सकेको छैन । ठेक्का प्रक्रिया समयमै नलाग्दा केही व्यक्तिहरूले यस अवस्थाको दुरुपयोग गर्दै नदीबाट बालुवा, गिट्टी लगायतका सामग्री अनधिकृत रूपमा उत्खनन गरी ढुवानी गर्ने गरेको सुचना पाए पछि नियन्त्रणका लागि नगरप्रहरी समेत परिचालन गरिएको उनले जनाए ।  नगरप्रमुख थापाले भने, ‘यस समस्यालाई नियन्त्रण गर्न दमक नगरपालिका सक्रिय रूपमा अघि बढेको छ । नगरपालिकाले नियमित अनुगमनलाई तीव्रता दिएको छ र अवैध रूपमा ढुवानीमा संलग्न केही सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।’ यस कदमले गैरकानुनी क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई सचेत गराउने र नियन्त्रणमा समुदायको पनि सहभागीता बढ्ने अपेक्षा गरिएको उनले जनाए ।

समयमानै ठेक्का नलाग्दा र जथाभावी उत्खननले वातावरणमा गम्भीर असर पार्ने चुनौती समेत रहेको छ । जथाभावी उत्खनन्ले नदीको प्राकृतिक बहावमा अवरोध आउनु, भूक्षय बढ्नु, जलचर तथा आसपासका बासिन्दाको जीवनमा नकारात्मक प्रभाव पर्नु जस्ता समस्या देखा पर्न सक्छन् । त्यसैले, स्थानीयबासी, प्रशासन र सर्वसाधारण सबैले मिलेर यस्ता अवैध गतिविधि रोक्न आवश्यक रहेको प्रमुख थापाले बताए । जिल्ला प्रशासन कार्याल तथा जिल्ला प्रहरी कार्यालयको नेतृत्व, जिल्ला समन्वय समिति प्रमुख सहित नगरपालिकाको संयुक्त टोलीले खोला क्षेत्रको अनुगमन गरेको थियो ।

मावाखोला तर्फ भने मिक्लाजुङ् गाउँपालिका र उर्लाबारी नगरपालिकाले ठेक्का लगाएको जनाईएको छ । यता रतुवा खोला तर्फ भने कमल गाउँपालिका र दमक  नगरपालिकाले ठेक्का लगाउनु पर्ने हो । तर चार पटक सुचना प्रकाशित गर्दा पनि ठेक्का नलाग्दा नगरपालिका गम्भिरताूपूर्वक लागेको दमक नगरप्रमुख थापाले जनाए । ठेक्का नलागेको अवधी सम्म अवैध उत्खनन्का लागि जिल्ला प्रहरी कार्यालयसँग समेत सहयोगका लागि अग्रह गरिएको उनले जनाए । अमानतबाट खोलाजन्य सामाग्रीको राजश्व उठाउन समेत नपाईने र हाल सम्म ठेक्का समेत नलागेको अवस्था भएकाले अवैध कार्य नियन्त्रणका लागि नगरपालिका क्रियाशिल रहेको उनले बताए । खोलाबाट अवैध रुपमा सामाग्री निकाल्ने कार्य रोक्न नगरबासी, टोल विकास संस्था, सचेत नागरिक, प्रहरी–प्रशासन सवैको संयुक्त प्रयासको खाँचो रहेको थापाले बताएका छन् ।  

जिल्ला समन्वय समिति प्रमुख विश्वनाथ बरालले दमक तथा कमल क्षेत्रमा हुने रतुवा खोलाको उत्खनन् ठेक्का लाग्न नसकेको जनाए । ठेक्का नलाग्दा अवैध निकाशी हुने गरेको गुनासो पछि संयुक्त रुपमा अनुगमन गरिएको उनले जनाएका छन् । अन्य कतिपय स्थानीय तहहरुले ढुंगा, गिटी, रोडा लगायतका खोलाजन्य सामाग्री उत्खनन्का लागि ठेक्का लगाएको जानकारी पाएको उनले जानकारी दिएका छन् ।


खगेन्द्र कार्की
प्रतिक्रिया