मोरङ प्रहरीद्वारा लागुऔषधविरुद्ध टिकटक प्रतियोगिताका विजेता पुरस्कृत

खगेन्द्र कार्की

विराटनगर। जिल्ला प्रहरी कार्यालय मोरङले लागुऔषधविरुद्ध जनचेतना फैलाउने उद्देश्यले आयोजना गरेको टिकटक भिडियो प्रतियोगिताका उत्कृष्ट प्रतियोगीहरूलाई सोमबार पुरस्कार वितरण गरेको छ। प्रतियोगितामा उत्कृष्ट पाँचसहित उत्कृष्ट २० भित्र पर्न सफल अन्य प्रतियोगीलाई पनि सम्मान गरिएको हो।

प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विराटनगर–३ की आयुषा विक प्रथम भइन्। उनले ५० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरिन्। दोस्रो स्थान हासिल गरेका हीराबहादुर बिकले ४० हजार रुपैयाँ पाए भने अमीर श्रेष्ठ तेस्रो हुँदै ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। शंकरकुमार शर्मा चौथो स्थानमा रहँदै २० हजार रुपैयाँबाट पुरस्कृत भए।
पाँचौं स्थानमा आयुषा आचार्य र कीरण निरौला समान अंक ल्याएपछि दुवैले १० हजार रुपैयाँको पुरस्कार बराबरी रूपमा बाँडे।
कार्यक्रममा बोल्दै प्रहरी अधिकारीहरूले लागुऔषध दुर्व्यसन विशेषगरी युवामाझ गम्भीर सामाजिक चुनौतीका रूपमा फैलिरहेको उल्लेख गर्दै त्यसविरुद्ध सिर्जनात्मक माध्यमबाट जनचेतना अभिवृद्धि गर्न प्रतियोगिता आयोजना गरिएको बताए। जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार ‘लागुऔषधविरुद्ध सबै जना एक हौँ’ भन्ने सन्देश समाजमा पुर्‍याउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको हो। यस्ता अभियानले युवालाई सकारात्मक सन्देश दिनुका साथै लागुऔषधबाट टाढा रहन प्रेरित गर्ने विश्वास प्रहरीले लिएको छ।
पुरस्कार वितरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवाल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय मोरङका उपअनुसन्धान निर्देशक राजन शर्मा सापकोटालगायत विभिन्न सरकारी निकायका प्रतिनिधि, उद्योगी–व्यवसायी तथा सरोकारवालाको उपस्थिति रहेको थियो।

खगेन्द्र कार्की
प्रतिक्रिया