निर्वाचन आयोगले कांग्रेस र एमालेका लागि मात्रै कार्यविधि ल्याएको अन्य दलको निस्कर्ष

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं । निर्वाचन आयोगले तयार गरेको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि बारे छलफलमा जुटेका एमाले र कांग्रेस बाहेकका दलहरुले सो कार्यविधि एमाले र कांग्रेसका लागि मात्रै ल्याउन लागेको निस्कर्ष निकालेका छन् । 

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको सिंहदबार बैठकले ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ को संयुक्त रुपमा प्रतिवाद गर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले दुई ठूला पार्टी मात्रै रहने गरी ल्याउन खोजिएको बताए ।

उक्त कार्यविधि सरकारमा रहेका दलहरू कांग्रेस र एमालेकै चाहनाअनुरूप ल्याउन लागिएको भन्दै आवश्यकताअनुसार संघर्ष र प्रतिवाद गर्ने कुरामा पनि दलहरूका बीचमा समझदारी बनेको बताए ।

उनले भने, ‘निर्वाचन आयोगले संविधान विपरित काम गर्दैछ, हामी लिखित रुपमा संयुक्त रुपमा प्रतिवाद गर्छौँ । दुई ठूला दलबाहेक अरु सबै निर्वाचन आयोगका कदमका विरुद्ध एकैठाउँमा आएका हौं ।’ निर्वाचन आयोगको कदम कानून र न्यायसंगत नभएको भन्दै विपक्षी दलहरु एकैठाउँमा आएको रास्वपाका नेता गणेश पराजुलीले बताए ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया