ओलीका विश्वासपात्र थेबेलाई ताप्लेजुङमा कांग्रेस र रास्वपा भारी पर्ने

खगेन्द्र कार्की

ताप्लेजुङ । ताप्लेजुङको एक मात्र प्रतिनिधिसभा क्षेत्रमा यसपालि एमालेका क्षितिज थेबे, नेपाली कांग्रेसका गजेन्द्र तुम्याहाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिएको छ।

पछिल्ला दुई निर्वाचनमा लगातार विजयी भएका योगेश भट्टराईको ठाउँमा एमालेले यसपटक थेबेलाई उम्मेदवार बनाएपछि जिल्लामा चर्चा र असन्तुष्टि दुवै बढेका छन्। स्थानीय कार्यकर्ताहरू भट्टराईको साइडलाइनिङप्रति असन्तुष्ट छन् भने केपी शर्मा ओलीको विशेष पहलमा थेबे उम्मेदवार बनेका हुन्।

कांग्रेसले जिल्ला सभापति तुम्याहाङलाई उम्मेदवार बनाएको छ। उनी लामो समयदेखि स्थानीय राजनीतिमा सक्रिय नेता हुन् र एमालेविरुद्ध निरन्तर खबरदारी गर्दै आएका छन्। कांग्रेसभित्र शेरबहादुर देउवा र गगन थापा समूहबीचको आन्तरिक मनमुटावका कारण केही मत रास्वपातिर सर्न सक्ने अनुमान गरिएको छ।

रास्वपाका उम्मेदवार श्रेष्ठ कांग्रेसकै पूर्वनेता हुन्। गीत–संगीत र सामाजिक अभियन्ताका रूपमा परिचित श्रेष्ठले नयाँ पुस्ता र असन्तुष्ट मतदाताको समर्थन पाउने विश्वास व्यक्त गरेका छन्। बालेन्द्र साहको ताप्लेजुङ भ्रमणपछि रास्वपाको माहोल बलियो बनेको उनीहरूको दाबी छ।

अन्य साना दलबाट पनि उम्मेदवारी दिइएका छन् — मंगोल नेशनल अर्गनाइजेसनका सन्त लिम्बू, संघीय लोकतान्त्रिक मञ्चका मुक्साम लाबुङ, राप्रपाका इन्द्र थापा, जसपा, जनमुक्ति पार्टी र हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवारहरू सहित। लिम्बू जातिको बाहुल्यता भएकाले साना दलहरूले पनि मत कटानमा भूमिका खेल्न सक्ने अनुमान छ।

एमालेका थेबे काठमाडौंलाई कार्यक्षेत्र बनाएर युवा संघमा सक्रिय रहेकाले स्थानीयसँगको प्रत्यक्ष सम्बन्ध कमजोर भएको आलोचना छ। अर्कोतर्फ, कांग्रेस र रास्वपाले स्थानीयस्तरमा जनसंपर्क विस्तार गर्दै मतदातासँग भावनात्मक जोड बनाउने प्रयास गरेका छन्।

ताप्लेजुङको धार्मिक पर्यटनस्थल पाथिभरा क्षेत्रमा केवलकार निर्माणबारे एमालेको समर्थनले पनि केही जनजाति समुदाय असन्तुष्ट देखिएका छन्। स्थानीय व्यवसायीहरूका अनुसार यसपटक एमालेका लागि जित सहज छैन।

२०७४ र २०७९ मा योगेश भट्टराईले लगातार जितेका थिए। २०७९ को चुनावमा उनले झिनो मतान्तरले माओवादीका खेलप्रसाद बुढाथोकीलाई हराएका थिए। कांग्रेसको संगठन बलियो हुँदाहुँदै पनि प्रतिनिधिसभा तहमा अहिलेसम्म जित हासिल गर्न सकेको छैन।

स्थानीय विश्लेषकहरूका अनुसार पुराना दलप्रति जनताको निराशा, कांग्रेसभित्रको असन्तोष र एमालेभित्रको टिकट विवादले रास्वपालाई लाभ मिल्न सक्छ। तर, अन्तिम परिणाम भने संगठन र मतसंघटन क्षमतामा निर्भर रहनेछ।

खगेन्द्र कार्की
प्रतिक्रिया