अवैध हतियारसहित झापाबाट पक्राउ पर्ने बढ्दै

फाष्ट मिडिया नेपाल संवाददाता

दमक । झापामा पछिल्लो समयमा अवैध हातहतियारसहित मानिसहरु पक्राउ पर्ने क्रम बढ्दै गएको घटनाक्रमले देखाएको छ । भारतसंग खुल्ला सिमाना भएको झापामा अवैध हातहतियारको अवस्था झन् भयावह देखिएको छ । भारतीय क्षेत्रबाट अवैध तरिकाले भित्रिने गरेकोले पनि अवैध हतियार चुनौती बनेको प्रहरीको स्वीकारोक्ति छ । यता स्थानीयबासीहरुले वैधानिक रुपबाट राखेका हतियार पनि आधा भन्दा धेरैले नविकरण नगराएको तथ्याङ जिल्ला प्रशासन कार्यालय दिइरहेको तर पक्राउ परेका हतियार लाइसेनवाला हुन वा होइन भन्ने खुलेको छैन । 

गत साताको शनिवार राति भरुवा बन्दुक र चोरीका सामानसहित अर्जुनधारामा ३ जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका–४ का १९ वर्षीय आदित्य लिम्बू, सोही ठाउँका २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङ रहेका छन् । त्यसको पर्सिपल्ट सोमवार दमकमा पेस्तोल र म्याग्जिनसहित दमक नगरपालिका– ८ निवासी ३६ वर्षीय सञ्जीव गजमेर पक्राउ परेका थिए ।

फेरी हिजो बुधबार घरमा अवैध रुपमा हातहतियार लुकाई छिपाई राख्ने एक व्यक्ति झापाको अर्जुनधारामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नं. ४ दहिझोडा बस्ने बर्ष अन्दाजी ६२ का इन्द्रबहादुर आङ्देम्बे रहेका छन् । घरमा अवैध रुपमा हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले गएराति ८ बजे उनको घरको खानतलासी लिएको थियो । त्यसक्रममा घरदेखि अन्दाजी ५ मिटर दक्षिणमा रहेको कुखुराको खोरको कासको छानोभित्र पहेलो प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल फेला परेको थियो । पेस्तोलसहित  उनलाई नियन्त्रणमा लिई इलाका इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णकुमार चन्दले बताए ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया