दमक/ फागु अर्थात होली पर्वलाई अधिराज्य भर उल्लासमय, संयमित ढंगले मनाएको छ । पहाडी र हिमाली तथा तराई–मधेस गरी बिहीबार र शुक्रबार मनाइएको यस पटकको होली निकै संयमित र जिम्मेवार देखिएको छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एकआपसमा विभिन्न रंग तथा अबिर लगाएर मनाउने चलन छ ।
होली पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व राष्ट्रिपति विद्यादेवी भण्डारी, प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतले शुभकामना दिएका छन् ।
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
इटहरीदेखि दमकका विभिन्न संघसंस्थाले मनाए होली
विगतका वर्षमा इटहरीको मुख्य बजार चोकमा होली हंगामा आयोजना गरेर सबै युवायुवतीलाई एकै ठलोमा रमाइलो गर्ने अवसरबाट यो पटक बञ्चित गराइएको थियो अर्थात विभिन्न चोक र गल्लिहरुमा होलीका पारखीहरुको यत्रतत्र छरिएर होली मनाइरहेको देखिन्छ । बेलुकपख अर्थात ३ बजेतिर आइतबारे गल्लिीमा ठूलो भिड लागेको थियो । त्यहाँ होलीका पारखीहरुलाई डिजे ब्याण्डको तालमा रमाइलो गर्ने अवसर प्रदान गरिएको थियो । इटहरी क्षेत्रका विभिन्न टोल विकास संस्थाले आ–आफ्नै ढंगबाट होली मनाएका छन् । इटहरी–८ को हाम्रो टोल विकाससहित सबै टोल विकासले होली मनाएका छन् । यस्तै इटहरी जेसिज देखि विभिन्न संघसंस्थाहरुले आ–आफ्नै तौरतरिकाले होली मनाएका थिए । दमकसहित तराईमा शनिबार धुमधामका साथ होली मनाईएका छन् । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश आएको परम्परागत फागु पर्व विभिन्न रङ र लोला खेली मनाईएका हुन ।
तराई क्षेत्रको जनकपुरसहितका मिथिला क्षेत्रमा होलीलाई अझ उल्लासमय रुपमा मनाउने प्रचलन छ ।
यसैवीच दमकमा दमक जेसीजसहित विभिन्न सामाजिक संघसंस्थाहरुले आपसी रंग खेलेर होली मनाइएका छन् । दमक जेसीज, नेपाल सुनचाँदी ब्यबसायी संघ दमक,मैथिली सेवा समिति दमकलगायतले आपसी रंग खेलेर संस्कृतिमूलक पर्व होली हर्षोल्लासका साथ मनाइएका हुन् । यसैगरि, दमकको गोर्खा डिपार्टमेन्टको प्राङगणमा धु्रवतारा स्पोर्टिङ क्लव र वजार क्षेत्रमा दमक ७ स्थित पाथीभरा यवा क्लवले औपचारिक रुपमा विशेष सांगीतिक कार्यक्रम गरि होली मनाईएका छन् । चौंक र वजार क्षेत्रमा आयोजित ती होली विशेष कार्यक्रममा सहभागि युवायुवतीहरुले दिनैभरि नाचेर मनोरञ्जन दिलाएका थिए ।
अघिल्ला वर्ष झै यसवर्ष पनि दमक जेसीजले होली मिलन कार्यक्रमलाई निरन्तरता दिएको छ । दमक जेसीजको सचिवालयमा आयोजित होली कार्यक्रममा दमक जेसीजकी पूर्व अध्यक्ष समेत रहेकी दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा कार्यक्रममा दमक जेसीजका संस्थापक सदस्य तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष पदम कोईराला, दमक जेसीज बर्ष २०२५ का अध्यक्ष तथा सल्लाहकार चन्द्र खत्री, दमक जेसीजका निबर्तमान अध्यक्ष रामचन्द्र अधिकारी, दमक जेसीजका पूर्ब अध्यक्ष गञ्जबहादुर दाहाल, लोक बहादुर अधिकारी, गोबिन्दराज कट्टेल, सुयोग खरेललगायतको जेसीजका पदाधिकार, सदस्यहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा बशिष्ट संस्कृत गुरुकुल बिद्यापीठका पूर्व प्राचार्य पण्डित चेतन आचार्यले होली पर्बको महत्व तथा यसको इतिहासका सन्दर्भमा चर्चा गरेका थिए ।
होली मिलन सो कार्यक्रमको संयोजन दमक जेसीजका उपाध्यक्ष सुमन कुमालले गरेका थिए भने सन्ध्या बरालले जेसीज आस्था बाचन गरेकी थिइन्् ।
यसैगरी, दमक ९ स्थित निम्स नेशनल हस्पिटलले अस्पतालमा कार्यरत चिकित्सक,नर्स तथा अन्य स्वास्थ्य कर्मचारी एवं शुभचिन्तकहरुबीच होली मिलन तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालका अध्यक्ष उमाकान्त आचार्य, सचिव रोशन विष्ट लगायतले सञ्चालक समिति एवं सहभागीहरुलाई शुभकामना व्यक्त गरेका थिए ।
त्यसैगरी ध्रुवतारा स्पोर्टिङ क्लबको आयोजनामा गोरखा डिपार्टमेन्ट परिसरमा होली उत्सव २०८१ विशेष कार्यक्रम सम्पन्न भएको थियो । ति कार्यक्रमहरुमा कलाकारहरुले विभिन्न गीत संगीतका माध्यमबाट पनि मनोरञ्जन दिलाएका थिए ।
यसैगरि, सुनचाँदी ब्यबसायी संघ दमकको आयोजना होलिमिलन कार्यक्रम हर्षउल्लासका साथ मनाइएको अध्यक्ष काशी खाँतीले बताए ।
मंगलवारेमा होली मिलन कार्यक्रमलाई निरन्तरता
होली मिलन कार्यक्रमलाई यसवर्ष कमल ५ स्थित मंगलवारे वजारमा भव्य रुपले मनाईएका छन् ।
स्थानीय दुर्गा मन्दिरमा आयोजित होली कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष हुुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, मंगलमय टोल विकास संस्थाका अध्यक्ष गणेश प्रधान लगायतले होलीलाई सामाजिक सद्भावका रुपमा मनाउदै आएको होली नेपालीहरुको साँझा विशेष पर्व भएको जोड दिएका थिए ।
होली मिलन कार्यक्रम स्थानीय सगुन युवा क्लव, मंगलमय टोल विकास संस्था र आमा समूह मंगलवारेको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा स्थानीयहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
क्लवका अध्यक्ष देवेन्द्र राज आङदेम्बेको अध्यक्षतामा भएको सो कार्यक्रममा सहभागिहरु एकापसमा रंग साटासाट तथा शुभकामना आदानप्रदान गर्नुका साथैं गीत, नृत्य प्रस्तुत गरि मनाईएको टोल विकास संस्थाका सचिव तुलसी तिवारीले बताए ।
यसैगरि कमल नगर जेसीजले पनि कमल ६ स्थित वडा कार्यालय परिषरमा होली मिलन कार्यक्रम गरि मनाईएका छन् ।
पहिलो पाइला नेपाल दमक शाखाको होली
यसैगरी, पहिलो पाइला नेपाल दमक शाखाले दमकस्थित संगम स्वीट्सको प्राङगणमा शुक्रबार होली मिलन कार्यक्रम गरिएको छ ।
पहिलो पाइला दमक शाखा अध्यक्ष राजु निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा दमक नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईं, दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रबि केसी, नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका अध्यक्ष प्रकाश बुढाथोकी, होटेल ब्यबसायी संघ दमकका महासचिब भुपेन्द्र न्यौपाने, रोटरी क्लब अफ दमकका पूर्व अध्यक्ष सन्दिप चापागाँइ, दमक डिपिएल संस्थापक अध्यक्ष भेषराज न्यौपाने, अध्यक्ष अनु आचार्य, सामाजिक ब्यक्तित्व तिर्थराज बस्नेत औषधि व्यवसायी संघ झापाका उपाध्यक्ष बिबेक बजगाँइ लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिति नगर प्रमुख थापाले बोल्दै सामाजिक सद्भाव एकता ,भाइचाराको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।
उपप्रमुख भट्टराईले रङहरुको पर्बले सबैलाई उत्साह उमंग छाओस भन्दै होली पर्बको शुभकामना ब्यक्त गरिन् ।
कार्यक्रममा होटल ब्यबसायी संघको महासचिब भुपेन्द्र न्यौपानेले रितिरिबाज र परम्पराको जोगार्न गराउन यस्तो किसिमको कार्यक्रमले सहयोग पुर्याउने बताए ।
संस्थाका गतिविधि र कार्यक्रमको औचित्यमाथि संस्थाका उपाध्यक्ष लबराज खडकाले प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सल्लाहकार गणेश प्रधानले गरेका थिए ।
विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रूपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वकै दिन पनि सहज रूपमा हिँडडुल गर्न सकेको सडकमा भेटिएका धेरैले बताए । कतै अपवादका रूपमा जबर्जस्ती रङ लगाए पनि फोहर पानीले दुव्र्यवहार गरेको देखिएन । फुर्सद भएकाले सडकमा पर्व मनाए पनि जरुरी काम परेर बाहिर निस्कनुपर्नेलाई इच्छा विपरीत रङ दलिदिँदा केही वर्ष अघिसम्म धेरै तनावपूर्ण वातावरण बन्ने गरेको थियो ।यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन्। निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् बताउँछन् ।
राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।
यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा वारीसाधनसमेतमा लोला हिर्काउनेजस्ता विकृति पनि कम हुँदै गएको छ । प्रत्येक वर्ष पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमा र तराइका जिल्लामा फागुन कृष्ण प्रतिपदाका दिन फागु पर्व मनाउने गरिन्छ ।
होलीलाई सभ्य र संयमित बनाउन सुरक्षा निकायको तयारीका बाबजुद पनि यति हुँदा हुँदै पनि काठमाडौँमा होली खेल्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँका विभिन्न क्षेत्रमा होली खेल्नेक्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा बिहीबार १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा २ महिला र १० पुरुष छन्। त्यस्तै प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने ९० सवारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो