– सरोज बास्तोला
जीवनका सबै सपना आफ्नै रोजाइका हुँदैनन्। केही सपना परिस्थितिले लेखिदिन्छ, केही रहर बाध्यताले अधुरै छोडिदिन्छ। मेरो जीवन पनि त्यस्तै कथामध्ये एक हो।
म निम्न आर्थिक अवस्थाको परिवारमा हुर्किएको मान्छे। बाल्यकाल अभावमै बित्यो। न राम्रोसँग पढ्ने अवसर पाइयो, न आर्थिक अवस्था उकास्ने कुनै व्यवसाय गर्ने वातावरण नै बन्यो। परिवारको गर्जो टार्ने, भाइबहिनी र घरको भविष्य जोगाउने एउटै विकल्प देखियो—विदेश। त्यसैले कलिलो उमेरमै मनमा हजारौँ रहरहरू थाती राखेर खाडीको बाटो रोजेँ।
हेर्दाहेर्दै विदेशिएको पनि दुई दशक नाघिसकेछ। उमेरले चालीस पार गरिसक्यो। छोराछोरी हुर्किए, परिवार अघि बढ्यो, तर म अझै कतारमै छु। कहिलेकाहीँ लाग्छ, समय धेरै अघि बढिसक्यो, तर मेरो जीवनको घडी भने परिवारको भविष्यसँगै कतै रोकिएर बसेको छ। अझै कति वर्ष यही मरुभूमिमा बित्ने हो, थाहा छैन।
विदेशिनु कसैको रहर हुँदैन, धेरैको बाध्यता हुन्छ। त्यसैले विदेश बसेकोमा गर्व गर्न सकिँदैन, तर आत्मग्लानि पनि छैन। किनभने मैले आफ्नो परिवारका लागि गरेको संघर्षलाई कमजोरी होइन, जिम्मेवारी ठानेको छु। नेपालमा देखेको राजनीतिक अस्थिरता, बेरोजगारी, कुशासन र अवसरको अभाव सम्झँदा कहिलेकाहीँ लाग्छ—घरभन्दा टाढा भए पनि कम्तीमा श्रमको सम्मान गर्ने ठाउँमा त छु। कमाइ धेरै वा थोरै जे भए पनि मेहनतको मूल्य पाउने वातावरण आफैंमा ठूलो कुरा हो।
कतार बसाइले मलाई रोजगारी मात्र दिएन, जीवनका केही अविस्मरणीय अवसर पनि दियो। सन् २००६ मा दोहामा आयोजित १५औँ एसियन गेम्सबाट सुरु भएको मेरो स्वयंसेवक यात्राले लुसाइल सुपर कप हुँदै सन् २०२२ को फिफा विश्वकपसम्म पुग्ने सौभाग्य प्राप्त ग¥यो। संसारकै सबैभन्दा ठूलो फुटबल महोत्सवमा स्वयंसेवकका रूपमा काम गर्न पाउनु एउटा साधारण नेपाली श्रमिकका लागि कल्पनाभन्दा बाहिरको उपलब्धि थियो।
अल रायनस्थित ४४ हजारभन्दा बढी दर्शक अट्ने सुन्दर एजुकेशन सिटी रंगशालामा आठवटा सिफ्ट काम गर्दा बटुलेका अनुभव आज पनि मनमा ताजै छन्। कहिले मुख्य प्रवेशद्वारमा उभिएर विश्वभरिबाट आएका दर्शकलाई स्वागत गर्ने अवसर मिल्यो, कहिले खेलाडी र समर्थकबीच रहेर आफ्नो जिम्मेवारी पूरा गर्ने मौका। प्रत्येक सिफ्टमा फरक टोली, फरक टोली–नेता र फरक जिम्मेवारीले नयाँ सिकाइ दियो। विश्वकपको उत्साह, दर्शकहरूको उमंग र स्वयंसेवकका रूपमा त्यो ऐतिहासिक क्षणको साक्षी बन्न पाउनु जीवनकै अविस्मरणीय उपलब्धिमध्ये एक बन्यो।
एजुकेशन सिटी रंगशालामा भएको पहिलो खेल डेनमार्क र ट्युनिसियाबीच थियो भने अन्तिम खेल ब्राजिल र क्रोएसियाबीचको क्वार्टरफाइनल। टिकट जाँचदेखि दर्शकलाई आवश्यक जानकारी दिने, समस्या समाधान गर्न सहयोग गर्ने र खेल सफल बनाउन आफ्नो सानो भूमिका निभाउँदा आफू केवल एउटा श्रमिक होइन, विश्वकै ठूलो खेल उत्सवको एउटा जिम्मेवार सदस्य भएको अनुभूति भयो।
कतिपयले भन्न सक्छन्—“जाबो स्वयंसेवक भएर पनि कति ठूलो कुरा गरेको!“ तर खाडीको गर्मीमा गुमनाम भएर पसिना बगाइरहेको एउटा नेपाली श्रमिकका लागि यस्तो अवसर साँच्चिकै असाधारण हुन्छ। स्वयंसेवक भएर कुनै आर्थिक लाभ प्राप्त हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि विश्वको सबैभन्दा प्रतिष्ठित खेल प्रतियोगिताको सफलतामा सानो योगदान दिन पाउनु आफैंमा ठूलो सम्मान हो। सञ्चारकर्मीका रूपमा पनि यो अनुभव आफ्ना पाठकसँग बाँड्ने जिम्मेवारी महसुस गरेँ।
फिफा विश्वकपका लागि आवेदन खुलेपछि विभिन्न छनोट चरण पार गरेर हामीले अन्तिम जिम्मेवारी पाएका थियौँ। विश्वका २०९ देशबाट चार लाख २० हजारभन्दा बढी आवेदन परेको थियो। तीमध्ये ५८ हजार जनाको अन्तर्वार्ता लिएर २० हजार स्वयंसेवक छनोट गरिँदा त्यसमा एउटा नेपाली श्रमिकका रूपमा मेरो नाम समावेश हुनु अत्यन्तै गर्वको क्षण थियो। यो मेरो व्यक्तिगत सफलता मात्र थिएन, विदेशमा पसिना बगाइरहेका हजारौँ नेपालीको प्रतिनिधित्व गर्ने अवसर पनि थियो।
विश्वकपमा दुई सयभन्दा बढी नेपाली स्वयंसेवकको सहभागिता थियो। हामी सबैले अनुशासित, सभ्य र जिम्मेवार रूपमा आफ्नो भूमिका निर्वाह गर्दै नेपालप्रतिको सकारात्मक छवि प्रस्तुत गर्ने प्रयास गर्यौँ। फिफाले यातायात, पोशाक, खाना, प्रमाणपत्र तथा सम्मानस्वरूप बहुमूल्य उपहार प्रदान गरेर स्वयंसेवकहरूको योगदानको सम्मान गरेको थियो। तर ती सबैभन्दा ठूलो पुरस्कार भनेको विश्वकै महान् खेल महोत्सवको प्रत्यक्ष साक्षी बन्न पाउनु नै थियो।
यस यात्रालाई अझ सहज बनाउन आदरणीय मित्र विश्व भट्टराईले नेपाली स्वयंसेवकहरूको ह्वाट्सएप समूह निर्माण गर्नुभएको थियो। त्यसबाट धेरै जानकारी आदानप्रदान गर्न सजिलो भयो। उहाँ र बिनेश तामाङको पहलमा नेपाली स्वयंसेवकहरूले कतारस्थित नेपाली राजदूतसँग भेट गर्ने अवसर पनि पाए, जसले हाम्रो सहभागितालाई थप अर्थपूर्ण बनायो।
आज फर्केर हेर्दा लाग्छ—विदेशले मलाई धेरै कुरा सिकायो। परिवारबाट टाढा बस्ने पीडा पनि दियो, तर आत्मविश्वास, अनुभव र विश्व हेर्ने दृष्टि पनि दियो। बाध्यताले विदेश पु¥यायो, तर त्यही बाध्यताभित्र जीवनले केही यस्ता रहरहरू पनि पूरा गरिदियो, जसको कल्पना नेपालमै हुँदा गरेको थिइनँ।
यस यात्रामा मलाई हौसला दिने मेरा परिवार, मित्र कान्ति सिंह, हेमन्त लिम्बु, मोना, सर भिभी अबु बकर बाबु, सर ओस्मान तथा विश्वकप स्वयंसेवक बन्न आवश्यक समय र सहयोग उपलब्ध गराउने रोजगारदाता कम्पनी इमाल्कोप्रति म सदैव कृतज्ञ छु।
विदेशको जीवन केवल रेमिट्यान्स कमाउने कथा होइन। यो त्याग, जिम्मेवारी, सपना र संघर्षसँगै कहिलेकाहीँ अनपेक्षित रूपमा पूरा हुने रहरहरूको पनि कथा हो। मेरा लागि फिफा विश्वकप २०२२ त्यही रहर पूरा भएको एउटा अविस्मरणीय अध्याय हो।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो