४६ डिग्री तापक्रममा “लु”का कारण १६ को मृत्यु

खगेन्द्र कार्की

एजेन्सी / भारतको तेलङ्गाना राज्यमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ। बढ्दो तापक्रमसँगै हीटस्ट्रोक (लू) का घटनामा वृद्धि हुँदा हालसम्म कम्तीमा १६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

टाइम्स अफ इन्डिया का अनुसार सबैभन्दा धेरै मृत्यु जयशंकर भूपालपल्ली जिल्लामा भएको छ, जहाँ चार जनाले ज्यान गुमाएका छन्। यस्तै, बारंगल अर्बन, करीमनगर र निजामाबादमा तीन–तीन जनाको मृत्यु भएको छ भने जोगुलाम्बा गडवाल, रंगारेड्डी र सूर्यपेट जिल्लामा एक–एक जनाको ज्यान गएको बताइएको छ।

स्थानीय प्रशासनले अत्यधिक गर्मीका कारण विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। अस्पतालहरूमा हीटस्ट्रोक, डिहाइड्रेसन तथा गर्मीजन्य स्वास्थ्य समस्या लिएर आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको बताइएको छ।

भारतको मौसम विभागका अनुसार तेलङ्गानाका विभिन्न क्षेत्रमा तापक्रम ४६ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। लगातारको तातो हावा र चर्को घामका कारण बाहिरी गतिविधि प्रभावित भएका छन्। विशेषगरी दैनिक ज्यालादारी मजदुर, निर्माण क्षेत्रमा काम गर्ने श्रमिक तथा सडकमा लामो समय बस्नुपर्ने मानिसहरू बढी जोखिममा परेका छन्।

यता, भारतको राजधानी दिल्लीसहित उत्तरी क्षेत्रमा पनि अत्यधिक गर्मी कायम रहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार चर्को गर्मीका कारण आकाशमा उडिरहेका चरासमेत बेहोस भएर जमिनमा खस्न थालेका छन्। सामाजिक सञ्जालमा विभिन्न स्थानमा चराहरूलाई पानी खुवाउँदै उद्धार गरिएको दृश्यहरू सार्वजनिक भइरहेका छन्।

विशेषज्ञहरूले जलवायु परिवर्तन, वन विनाश र शहरीकरणका कारण दक्षिण एसियामा गर्मीको प्रभाव झन् तीव्र बन्दै गएको बताएका छन्। भारतमा प्रत्येक वर्ष गर्मीयाममा हीटवेभका कारण सयौं मानिस प्रभावित हुने गरेका छन् भने यस वर्ष अवस्था अझ गम्भीर बन्दै गएको चेतावनी मौसमविद्हरूले दिएका छन्।

मौसम विभागले आगामी केही दिनसम्म तापक्रम उच्च रहने पूर्वानुमान गर्दै नागरिकलाई अत्यावश्यक कामबाहेक दिउँसो बाहिर ननिस्कन, पर्याप्त पानी पिउन र वृद्धवृद्धा तथा बालबालिकाको विशेष हेरचाह गर्न आग्रह गरेको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया