ह्वीलचेयर प्रदान गर्दै परिसंघ कोशीले मनायो छैटौं स्थापना दिवस

खगेन्द्र कार्की

विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेश समितिले आफ्नो छैटौं वर्ष प्रवेशको अवसरमा अपाङ्गता भएका ७ वर्षीय बालक सुवान चौधरीलाई ह्वीलचेयर प्रदान गरेको छ।
मोरङको कटहरी गाउँपालिका–१ निवासी तथा विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत सुवानलाई काठमाडौंबाट मगाइएको ह्वीलचेयर आइतबार आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो। स्थापना दिवसको अवसरमा परिसंघले वृक्षारोपण, रक्तदान र ह्वीलचेयर वितरण गरी तीन सामाजिक कार्यक्रम सम्पन्न गरेको जनाएको छ।
विराटनगरको बरगाछी चोकस्थित परिसंघले निर्माण गरेको पुष्पवाटिकामा आयोजित वृक्षारोपण कार्यक्रममा नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष एवं संविधानसभा सदस्य पवनकुमार सारडा, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेशका संस्थापक अध्यक्ष भीम घिमिरे, वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, उपाध्यक्षहरू दीपक पौडेल, गिरिजा सारडा, सुशीलकुमार जोशी, देवेन्द्र गुप्ता, कोषाध्यक्ष साकेत राठी, महानिर्देशक विजयहरि शर्मा तथा समितिका सदस्यहरूको सहभागिता रहेको थियो।
छैटौं वर्ष प्रवेशको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष सारडाले संस्थापक अध्यक्ष भीम घिमिरेको नेतृत्व र योगदानकै कारण परिसंघ आज परिणाम दिने अवस्थामा पुगेको बताए। आफू अध्यक्ष भए पनि संस्थाको विकासमा घिमिरेको योगदान विशेष रहेको उनको भनाइ थियो।
केन्द्रीय उपाध्यक्ष एवं संस्थापक अध्यक्ष घिमिरेले आर्थिक वर्ष २०८३/८४ को संघीय बजेटमा नेपाल उद्योग परिसंघले दिएका करिब ६५ प्रतिशत सुझाव समेटिएको दाबी गरे। निजी क्षेत्रबाट प्राप्त सुझावमध्ये सबैभन्दा बढी सुझाव परिसंघका समावेश भएको उनले बताए।
कार्यक्रममा अध्यक्ष सारडा, वरिष्ठ उपाध्यक्ष मुन्दडालगायत पदाधिकारीले संस्थापक अध्यक्ष घिमिरेलाई सम्मान गरेका थिए। उपाध्यक्ष दीपक पौडेलको संयोजकत्वमा तीनवटै कार्यक्रम आयोजना गरिएको परिसंघले जनाएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया