दमक/ झापाको दमकमा दोश्रो संस्करणको दमक खेलकुद महोत्सव हुने भएको छ । गत वर्षदेखि खेलकुदको समग्र विकास र खेलाडीहरुको प्रोत्साहनको लागि शुरु गरिएको यो महोत्सव यस वर्षको यही वैशाख २८ देखि ३० गते सम्म आयोजना गरिन लागेको हो । शुक्रबार दमक नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले नगरका विभिन्न ठाउँहरुमा विभिन्न नौ विधाका खेलाहरु खेलाइने र महोत्सवको भव्यतासाथ आयोजना गर्नेगरी तयारी भइरहेको जानकारी गराएका छन् ।
दमक नगरपालिका युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख प्रविण खड्काका अनुसार वैशाख २८ गते नगरपालिका कार्यालयको प्राङ्गणमा बिहान साढे १० बजे भेला भइ वडा नं. ७ मा रहेको दमक नमुना व्याडमिन्टन एकेडेमीको हलमा गएर महोत्सवको उद्घाटन गरिने भएको छ । समापन भने दमक–१० को आम्बारी खेल मैदानमा वैशाख ३० गते गरिने कार्यक्रम तय गरिएको छ । महोत्सवमा नौ विधाका खेलहरु जस्तै भलिबल, फुटबल, क्रिकेट, व्याडमिन्टन, चेस, एथ्लेटिक्स, कराते, आइटीएफ तेक्वान्दो र डब्लुटीएफ तेक्वान्दो खेल खेलाइने भएको छ । फुटबल खेल भने यही वैशाख २१ गतेदेखिनै शुरु भइसकको त्यस अवसरमा जानकारी गराइयो ।
भलिबल खेल दमक–२ को हिमालय मा.वि.को खेलमैदानमा वैशाख २८ र २९ गते हुने कार्यतालिका रहेको छ । फुटबल खेल वैशाख २१ देखि ३० गते समापनका दिन सम्म वडा नं. १० को आम्बारी खेल मैदानमा गरिँदैछ । क्रिकेट भने वैशाख २६ देखि ३० गतेसम्म बेलडाँगी १ दमक–२ को खेलमैदानमा आयोजना गरिने भएको छ । व्याडमिन्टन वैशाख २८ गते वडा नं. ७ को दमक नमुना व्याडमिन्टन एकेडेमीमा हुँदैछ । चेस खेल वडा नं. ६ को वडा कार्यालय परिसरमा वैशाख २७ र २९ गते गरिने भएको छ ।
त्यसैगरी एथ्लेटिक्स वैशाख २९ गते दमक–२ हिमालय मा.वि. चौकमा आयोजना गरिने कार्यक्रम तय गरिएको छ । कराते खेल वैशाख २८ र २९ गते वडा नं. ६ स्थित दमक डोजो (नयाँ सब्जी बजार) मा व्यवस्थापन गरिने भएको छ । आइटीएफ तेक्वान्दो भने वैशाख २८ र २९ गते वडा नं. ७ मा रहेको नमुना व्याडमिन्टन एकेडेमीमा आयोजना गरिँदैछ । डब्लुटीएफ तेक्वान्दो वैशाख २९ गते दमक नयाँ सब्जी मण्डीको कभर्ड हलमा गर्ने कार्यक्रम बनाइएको छ । पत्रकार सम्मेलनमा हरेक वर्ष दमकका नयाँ नयाँ ठाउँहरु चिनाउन र पहिचानका लागि खेल स्थानहरु फेरिँदै आएको दमक नगर खेलकुद विकास समिति अध्यक्ष चम्लागाईले प्रष्ट पारे ।
दमक नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख थापाले खेलकुद क्षेत्रको विकासलाई नगरपालिकाले प्राथमिकता राखेर यस्तो महोत्सव आयोजना गरिएको बताए । महोत्सवका लागि सबै जनप्रतिनिधि र खेलप्रेमी जनसमुदायको सहयोग आवश्यक रहेको भन्दै त्यसका लागि सहयोगको अनुरोध समेत उनले गरे । महोत्सवको विभिन्न विधाका खेलहरुमा प्रथम, दोश्रो र तृतीय हुनेहरुलाई नगद १ लाख सम्म र विधाअनुसार शिल्ड, मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने भएको छ । महोत्सवको व्यवस्थित आयोजनाका लागि विधागत रुपमा खेल संयोजकहरु पनि तोकिएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो