मनसुनको सुरुआतमै कोशीलाई झट्का : ७ स्थानमा यातायात अवरुद्ध, झापाको माईखोला बस्तिमा, एसियन हाइवेका डाइभर्सनमा क्षति

खगेन्द्र कार्की

झापा । गएरातीदेखि नै परेको अविरल वर्षाले मनसुनको सुरुमै कोशी प्रदेशलाई झट्का दिएको छ । ४ जिल्लामा ७ स्थानमा यातायात अवरुद्ध भएको छ भने गाउँ गाउँमा बाढी पसेर जलमग्न बनेको छ । झापा गाउँपालिका अन्तर्गत रहेको माइखोलामा आएको बाढीले मकै खेती डुबानमा परेको छ भने गाउँघरमा समेत पानी पसेको छ । बाढीका कारण झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका जोड्ने माइखोलाको भाटे पुलसमेत बगाएको छ । 

यस्तै, हुलाकी राजमार्गअन्तर्गत कन्काई नदीमा वर्षौँअघि सुरु भएको पुल नबनेपछि समस्या परेका स्थानीयलाई आवतजावतमा सहजताका लागि बनाइएको बाँसको पुल बगाएको छ । गएराति परेको वर्षाले कन्काई नदीमा आएको बाढीले बाँसको पुल बगाएको हो । जसका कारण हुलाकी राजमार्ग अवरुद्ध बनेको छ । पूर्वपश्चिम राजमार्गमा एसियन हाइवे निर्माण गर्ने क्रममा बाटो भत्काइएपछि हुलाकी राजमार्गलाई वैकल्पिक मार्गको रुपमा प्रयोग गर्ने गरिएको थियो । 

यसैगरी, स्तरोन्नति भइरहेको पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा गए रातिको अविरल वर्षापछिको बाढीले निर्माणाधीन ‘एसियन हाइवे’ का तीन वटा डाइभर्सन बगाएको छ ।

बाढीले बगाएका तीनवटै डाइभर्सन मेचीनगर नगरपालिका क्षेत्रका हुन् । काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) का आयोजना प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तका अनुसार मेचीनगरको काँकडभिट्टास्थित कालीखोला, धुलाबारीको ढुकुरे खोला र चारआलीको ‘एनिमल अन्डरपास’ को डाइभर्सन बाढीले बगाएको हो ।

डाइभर्सन बगेपछि शनिबार बिहानदेखि पूर्वपश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको थियो । बिहान ११ बजेसम्ममा चारआलीको ‘एनिमल अन्डरपास’ बाहेक कालीखोला र ढुकुरे खोलाको डाइभर्सन मर्मत सम्भार गरेर यातायात चल्न सक्ने बनाइएको उनले जानकारी दिए ।

‘बाढीले आवतजावतमा अवरोध नपु¥याओस् भनेर निर्माणको ठेक्का लिएको कम्पनीलाई छिटो कल्भर्टको काम सक्नुप¥यो र पुल निर्माणाधीन रहेको स्थानमा बलियो डाइभर्सन बनाउन पर्यो भनेर धेरै पहिलेदेखि हामीले निर्देशन र परिपत्र दिदै आएका थियौं’, उनले भने, ‘तर, सोचेभन्दा अगावै मनसुन सुरु भयो, बाढीको पानी थेग्न सक्ने डाइभर्सन बनाउने योजना पूरा नगर्दै ठूलो पानी परिहाल्यो ।’

एसियाली विकास बैंकको सहयोगमा रु १० अर्बको लगानीमा एसियन हाइवेको पूर्वीखण्डको स्तरोन्नतिको कार्य भइरहेको छ । निर्माणसम्बन्धी ठेक्का लिएको एभ्रास्कन कालिका जेभीले लिएको छ । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले राजमार्ग स्तरोन्नतिमा ढिलासुस्ती भएका कारण यसपालिको वर्खामा राजमार्ग क्षेत्रमै बाढीजन्य विपद् निम्तिने एक साता अघि नै चेतावनी दिए । काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकका आयोजना प्रमुख पन्तले वर्षात्को अवधिमा राजमार्ग क्षेत्रमा कुनै समस्या आएमा ¥यापिड रेस्पोन्स टोलीमार्फत तत्काल समस्याको निरुपण गर्ने तयारी रहेको बताए ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलाम, झापा, मोरङ, धनकुटा र सुनसरी क्षेत्रमा वर्षा हुने छ  । सर्तकता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया