कांग्रेसमा दोश्रो पुस्ता विद्रोह–दोस्रो विशेष महाधिवेशन अनुकरणीय

फाष्ट मिडिया नेपाल संवाददाता

नेपाली कांग्रेसको अहिले एउटा ‘विशेष’ उत्सव चलि रहेको छ । नामले मात्रै होईन शिर्ष नेतृत्वको इच्छा बिपरीत दोश्रो पुस्ता मियो बनेर विशेष महाधिवेशन आयोजना गर्न तम्सियो र ग¥यो पनि । त्यसैले एक पक्षका लागि यो आलोचकहरुको भिड भए पनि यहाँ उपस्थित प्रतिनिधिहरुको गणितले पनि बताई सकेको छ कि, यो विशेष महाधिवेशन–विशेष उत्सवकै रुपमा देखिएको छ ।

आवधिक रुपमा आन्तारीक नेतृत्व चयन गर्ने, विधि र प्रकृयालाई आत्मसात गर्ने र लोकतन्त्र प्रति विश्वास गर्ने कुनै पनि राजनीतिक दलका लागि विशेष महाधिवेशन दुर्लभ र अपवाद समारोह हो । बाध्यता वा परिवन्धले मात्र विशेष महाधिवेशन आयोजना गर्ने गरिन्छ । नेपाली कांग्रेसले पनि सुवर्ण शम्शेरलाई सभापति चुनेको २०१२ सालको छैठौ महाधिवेशनको २ वर्ष पछि विशेष महाधिवेशन गरि विपीलाई सभापति चयन गरेको थियो । त्यसको करिव ६ दशक पछि कांग्रेसमा यो दुर्लभ उत्सव वा समारोहका आयोजना भयो ।

नेपाली कांग्रेसमा विश्वप्रकाश शर्मा र गगन थापा जस्ता स्पातिला युवाहरु महामन्त्री भएर निर्णयमा उथल पुथल प्रभाव राख्न सक्ने हैसियत बनाए पछि पहिलो पुस्ता निक्कै तर्सिएको यथार्थ हो । पटक पटक पार्टीको सर्वोच्चता, शासनको सर्वोच्चताको अभ्यास गरि सकेका, त्यो उच्च राजनीतिक प्रयोगशालामा परीक्षण भई सकेकाहरुबाट मात्र मुलुकमा विकशित चेतना, आवश्यकता र गतिशिलताको संवोधन हुन सक्दैन भन्ने उनीहरुले निश्कर्ष निकालि सकेका थिए । त्यसैले उनीहरु समय सापेक्षा कांग्रेस निर्माणको संकल्पमा संकल्पित थिए । खासगरि भन्ने हो भने, भदौ २३ र २४ को नवयुवा आन्दोलनको निशानामा पनि त्यहि नेतृत्व परि सके पछि रुपान्तरणको हुटहुटी थप जागृत भयो ।

कुनै पनि सुरुङ्मा प्रवेश भई सके पछि निकाश जरुरी हुन्छ । कुनै पनि उचाईमा पुगि सके पछि अवतरण जरुरी हुन्छ । तर के राजनीति त्यस्तो अपवाद हो जसको शिखरमा पुगे पछि कहिल्यै धर्तीमा अवतरण हुनु पर्दैन वा त्यो सुरुङ्मा छिरे पछि कहिल्यै निस्कनु पर्दैन ? कांग्रेसको दोश्रो पुस्ताले यहि कुरा बुझायो कार्यकर्ताहरुलाई । नेतृत्वले कुईनाले घुर्चिरँहदा पनि उनीहरुले आँट गरे, हिम्मत हारेनन् । यदि बहुमत प्रतिनिधीहरु उनीको पक्षमा नआई दिएको भए उनीहरुको हुर्कदोँ राजनीतिमा पुग्न सक्ने दूरगामी क्षतीबाट नतर्सि उनीहरु निरन्तर लागि रहँदाको परिणाम हो, कांग्रेसको दोश्रो विशेष महाधिवेशन ।

जुन नदी निरन्तर बगि रहयो, त्यहि नदी सफा हुन्छ । जुन पोखरीको पानी जति चलायो, त्यति कन्चन हुन्छ । कांग्रेसको यो महाधिवेशनले निकाश के निकाल्छ, त्यो हेर्न पर्खौ केहि दिन तर पनि यसले पक्कै पनि कांग्रेसको गतिशिलता बढाउने छ, कञ्चनपना बढाउने छ । यसबाट अरु राजनीतिक दल र नेतृत्वले पनि पाठ सिक्न सक्यो भने उनीहरुका लागि फाईदै हुने छ । रमिता मात्र हेरेर ओठ लेप्¥याउने मात्र हो भने उनीहरुले पनि भोलि कांग्रेसको शिर्ष नेतृत्वले अहिले भोगेको उराठीपना भोग्नु पर्ने निश्चित छ । अरु दलहरुमा पनि विश्व र गगन जस्ता दोश्रो पुस्ताले आँट गरे पनि आफ्नो विकल्प नभएको भ्रम पाल्नेहरुको भ्रम उत्रिने अश्यम्भावी छ । फरक यति हो त्यस बेला समय धेरै घर्किएको हुने छ, क्षति अलिक बढि हुने छ । त्यसैले अरुले पनि बेलैमा कुरा बुझेको राम्रो ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया