पूर्वअर्थमन्त्री तथा नागरिक अभियन्ता देवेन्द्रराज पाण्डेको निधन

खगेन्द्र कार्की

इटहरी । पूर्वअर्थमन्त्री तथा प्रखर नागरिक अभियन्ता देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। उनको पार्थिव शरीरको शनिबार काठमाडौंको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ। लोकतन्त्र, नागरिक अधिकार र सुशासनका पक्षमा चार दशकभन्दा बढी समय सक्रिय भूमिका निर्वाह गरेका पाण्डेको निधनसँगै नेपालको लोकतान्त्रिक आन्दोलनले एक अग्रणी नागरिक अगुवा गुमाएको छ।
पाण्डे नेपालमा नागरिक समाजलाई संगठित र सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्तित्वका रूपमा परिचित थिए। २०६२/६३ को जनआन्दोलनका क्रममा कांग्रेस, एमाले र माओवादीबीच हुने अनौपचारिक छलफलका लागि उनको विशालनगरस्थित निवास प्रमुख केन्द्र बनेको थियो। तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध नागरिक समाजलाई एकताबद्ध गर्दै ‘लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन’ को नेतृत्वसमेत उनले गरेका थिए।
नागरिक अधिकार र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता पाण्डेको सार्वजनिक जीवनको मुख्य विशेषता थियो। २०३६ सालमा जनमत संग्रहका बेला तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले राज्यसत्ताको दुरुपयोग गरेको भन्दै उनले अर्थसचिव पदबाट राजीनामा दिएका थिए। २०४६ सालको जनआन्दोलनपछि गठन भएको कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्री बनेर उनले राजनीतिक संक्रमण व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए। सम्पत्तिमा कर लगाउने अवधारणा अघि सार्ने श्रेय पनि उनलाई नै दिइन्छ।
सक्रिय राजनीतिबाट टाढिएपछि पनि पाण्डे नागरिक समाजमार्फत सरकारलाई निरन्तर खबरदारी गरिरहे। लोकतन्त्र, सुशासन र नागरिक अधिकारका विषयमा उनी अन्तिम समयसम्म स्पष्ट धारणा राख्ने बौद्धिक व्यक्तित्वका रूपमा परिचित रहे। निधन हुनुभन्दा करिब डेढ महिनाअघि सामाजिक सञ्जाल एक्समार्फत उनले आफूले जीवन आफ्नै सिद्धान्तअनुसार बाँचेको उल्लेख गर्दै भावुक सन्देश सार्वजनिक गरेका थिए।
पाण्डेको निधनप्रति विभिन्न राजनीतिक दल, नागरिक समाजका अगुवा, बौद्धिक समुदाय र शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै उनलाई नेपालको लोकतान्त्रिक आन्दोलनका अथक अभियन्ता र नागरिक चेतनाका प्रेरणास्रोतका रूपमा स्मरण गरेका छन्।

खगेन्द्र कार्की
प्रतिक्रिया