इटहरी । इटहरी उद्योग वाणिज्य संघको असार २७ गते हुने निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। अध्यक्ष पदमा कांग्रेस–एमालेको सहमतिमा अघि सारिएका नवराज काफ्ले र स्वतन्त्र उम्मेदवार गायत्री कटवाल भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ। यसपटकको निर्वाचनलाई व्यवसायीहरूले नेतृत्व, कार्यशैली र संस्थाको भावी दिशाबारे हुने प्रतिस्पर्धाका रूपमा हेरेका छन्।उद्योग वाणिज्य संघभित्र देखिँदै आएको राजनीतिक प्रभाव कम गर्ने उद्देश्यले कांग्रेस र एमाले निकट व्यवसायीहरूले नवराज काफ्लेको नेतृत्वमा सहमतिको प्यानल बनाउने प्रयास गरेका थिए। तर नेतृत्वका आकांक्षीबीच सहमति जुट्न नसकेपछि निवर्तमान कोषाध्यक्ष तथा कांग्रेसबाट अध्यक्षको दाबेदार रहेकी गायत्री कटवाल भण्डारी स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिइन्।त्यसपछि चुनावी समीकरण पनि फेरिएको छ। काफ्लेलाई कांग्रेस–एमाले निकट व्यवसायीको साथ छ भने भण्डारीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा तथा कांग्रेसभित्रकै केही व्यवसायी समूहले समर्थन जनाएका छन्। यसअघि उद्योग वाणिज्य संघको निर्वाचनमा मुख्यतः कांग्रेस र एमाले अलग–अलग प्रतिस्पर्धामा उत्रने गरेका थिए। यसपटक ती दुई दलको सहकार्य भएपछि अन्य राजनीतिक धारसँग निकट व्यवसायीहरू स्वतन्त्र उम्मेदवारको पक्षमा उभिएका छन्।दुवै उम्मेदवारले आफ्नो जितको दाबी गरिरहेका छन्। भण्डारीले आफू इटहरीमै जन्मेर व्यवसाय गर्दै आएको, अघिल्लो निर्वाचनमा पनि अध्यक्षको प्रतिस्पर्धामा रहेको र उद्योग वाणिज्य संघमा पहिलो पटक महिला नेतृत्व स्थापित गर्ने अवसर आएको भन्दै व्यवसायीको साथ पाउने विश्वास व्यक्त गरेकी छन्। उनले आफ्नो उम्मेदवारीलाई कुनै दलको भन्दा पनि व्यवसायीको साझा आवाजका रूपमा व्याख्या गर्दै संस्थालाई राजनीतिक भागबन्डाबाट माथि उठाएर सेवा केन्द्रित बनाउन चाहेको बताएकी छन्।भण्डारीले व्यवसायी राहतका लागि स्थायी अक्षय कोष, सहुलियतपूर्ण कर्जा, युवा उद्यमीका लागि स्टार्टअप कोष, व्यवसायमैत्री कर नीति, निःशुल्क कानुनी परामर्श, डिजिटल सदस्यता प्रणाली, २४ सै घण्टा हेल्पडेस्क, महिला तथा युवा उद्यमी प्रवर्द्धन, को–वर्किङ स्पेस, आधुनिक गोदाम तथा शीतभण्डार निर्माण, व्यवस्थित बजार र पार्किङ तथा पारदर्शी र उत्तरदायी संघ निर्माणलाई आफ्नो प्रमुख एजेण्डा बनाएकी छन्।यता नवराज काफ्लेले भने व्यवसायीबीचको विभाजन अन्त्य गर्दै साझा नेतृत्व निर्माणका लागि सहमतिको प्यानल बनाइएको बताएका छन्। संघमा रहँदा विभिन्न जिम्मेवारी सम्हालेको अनुभव, कृषि, उद्योग, पर्यटन तथा निजी क्षेत्रसँगको लामो संलग्नताले आफूलाई सक्षम नेतृत्वका रूपमा स्थापित गर्ने उनको दाबी छ। उनले उद्योग वाणिज्य संघलाई व्यवसायीको साझा संस्थाका रूपमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।यसअघि काफ्ले नेतृत्वको प्यानलबाट एशोसिएट सदस्य विनोद पौडेल तथा वस्तुगत सदस्य सञ्जोग पराजुली र सुरेश कार्की निर्विरोध निर्वाचित भइसकेका छन्। यसले काफ्ले समूहको मनोबल बढेको उनीहरूको भनाइ छ।इटहरी उद्योग वाणिज्य संघमा करिब २ हजार ३ सय ६५ मतदाता रहेका छन्। निर्वाचन परिणामले आगामी नेतृत्व कसको हातमा जाने मात्र होइन, उद्योग वाणिज्य संघको भावी कार्यदिशा र व्यवसायी समुदायले रोज्ने नेतृत्व शैलीसमेत निर्धारण गर्ने भएकाले यसपटकको चुनावलाई चासोका साथ हेरिएको छ।
इटहरी । इटहरी उद्योग वाणिज्य संघको असार २७ गते हुने निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। अध्यक्ष पदमा कांग्रेस–एमालेको सहमतिमा अघि सारिएका नवराज काफ्ले र स्वतन्त्र उम्मेदवार गायत्री कटवाल भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ। यसपटकको निर्वाचनलाई व्यवसायीहरूले नेतृत्व, कार्यशैली र संस्थाको भावी दिशाबारे हुने प्रतिस्पर्धाका रूपमा हेरेका छन्।
उद्योग वाणिज्य संघभित्र देखिँदै आएको राजनीतिक प्रभाव कम गर्ने उद्देश्यले कांग्रेस र एमाले निकट व्यवसायीहरूले नवराज काफ्लेको नेतृत्वमा सहमतिको प्यानल बनाउने प्रयास गरेका थिए। तर नेतृत्वका आकांक्षीबीच सहमति जुट्न नसकेपछि निवर्तमान कोषाध्यक्ष तथा कांग्रेसबाट अध्यक्षको दाबेदार रहेकी गायत्री कटवाल भण्डारी स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिइन्।
त्यसपछि चुनावी समीकरण पनि फेरिएको छ। काफ्लेलाई कांग्रेस–एमाले निकट व्यवसायीको साथ छ भने भण्डारीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा तथा कांग्रेसभित्रकै केही व्यवसायी समूहले समर्थन जनाएका छन्। यसअघि उद्योग वाणिज्य संघको निर्वाचनमा मुख्यतः कांग्रेस र एमाले अलग–अलग प्रतिस्पर्धामा उत्रने गरेका थिए। यसपटक ती दुई दलको सहकार्य भएपछि अन्य राजनीतिक धारसँग निकट व्यवसायीहरू स्वतन्त्र उम्मेदवारको पक्षमा उभिएका छन्।
दुवै उम्मेदवारले आफ्नो जितको दाबी गरिरहेका छन्। भण्डारीले आफू इटहरीमै जन्मेर व्यवसाय गर्दै आएको, अघिल्लो निर्वाचनमा पनि अध्यक्षको प्रतिस्पर्धामा रहेको र उद्योग वाणिज्य संघमा पहिलो पटक महिला नेतृत्व स्थापित गर्ने अवसर आएको भन्दै व्यवसायीको साथ पाउने विश्वास व्यक्त गरेकी छन्। उनले आफ्नो उम्मेदवारीलाई कुनै दलको भन्दा पनि व्यवसायीको साझा आवाजका रूपमा व्याख्या गर्दै संस्थालाई राजनीतिक भागबन्डाबाट माथि उठाएर सेवा केन्द्रित बनाउन चाहेको बताएकी छन्।
भण्डारीले व्यवसायी राहतका लागि स्थायी अक्षय कोष, सहुलियतपूर्ण कर्जा, युवा उद्यमीका लागि स्टार्टअप कोष, व्यवसायमैत्री कर नीति, निःशुल्क कानुनी परामर्श, डिजिटल सदस्यता प्रणाली, २४ सै घण्टा हेल्पडेस्क, महिला तथा युवा उद्यमी प्रवर्द्धन, को–वर्किङ स्पेस, आधुनिक गोदाम तथा शीतभण्डार निर्माण, व्यवस्थित बजार र पार्किङ तथा पारदर्शी र उत्तरदायी संघ निर्माणलाई आफ्नो प्रमुख एजेण्डा बनाएकी छन्।
यता नवराज काफ्लेले भने व्यवसायीबीचको विभाजन अन्त्य गर्दै साझा नेतृत्व निर्माणका लागि सहमतिको प्यानल बनाइएको बताएका छन्। संघमा रहँदा विभिन्न जिम्मेवारी सम्हालेको अनुभव, कृषि, उद्योग, पर्यटन तथा निजी क्षेत्रसँगको लामो संलग्नताले आफूलाई सक्षम नेतृत्वका रूपमा स्थापित गर्ने उनको दाबी छ। उनले उद्योग वाणिज्य संघलाई व्यवसायीको साझा संस्थाका रूपमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसअघि काफ्ले नेतृत्वको प्यानलबाट एशोसिएट सदस्य विनोद पौडेल तथा वस्तुगत सदस्य सञ्जोग पराजुली र सुरेश कार्की निर्विरोध निर्वाचित भइसकेका छन्। यसले काफ्ले समूहको मनोबल बढेको उनीहरूको भनाइ छ।
इटहरी उद्योग वाणिज्य संघमा करिब २ हजार ३ सय ६५ मतदाता रहेका छन्। निर्वाचन परिणामले आगामी नेतृत्व कसको हातमा जाने मात्र होइन, उद्योग वाणिज्य संघको भावी कार्यदिशा र व्यवसायी समुदायले रोज्ने नेतृत्व शैलीसमेत निर्धारण गर्ने भएकाले यसपटकको चुनावलाई चासोका साथ हेरिएको छ।
२० असार २०८३, शनिवार ०९:२९ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो