विराटनगर । कोशी प्रदेश सरकारको आन्तरिक आयतर्फ सवारी साधन र घरजग्गा रजिस्ट्रेसन करको हिस्सा सबैभन्दा बढी देखिएको छ । विवरण अनुसार सवारी साधन कर बाँडफाँडबाट १ अर्ब ५१ करोड ६२ लाख ३८ हजार २५७ रुपैयाँ र घरजग्गा रजिस्ट्रेसन दस्तुरबापत १ अर्ब ४१ करोड ७८ लाख १५ हजार ८८६ रुपैयाँ संकलन भएको छ ।प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ मा कुल ३० अर्ब ३८ करोड ४७ लाख ३२ हजार ४३९ रुपैयाँ आम्दानी गरेको छ । प्रदेश सरकारको असार मसान्तसम्मको विवरण अनुसार कुल प्राप्त आयमध्ये प्रदेशको आफ्नै आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोड ८४ लाख ४४ हजार ९११ रुपैयाँ रहेको छ । बाँकी ठूलो हिस्सा भने संघीय सरकारबाट प्राप्त विभिन्न अनुदान, राजस्व बाँडफाँड र रोयल्टी लगायतका स्रोतबाट जुटाइएको हो ।यसैगरी सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता दस्तुरबापत ६३ करोड ३० लाख ६५ हजार ४० रुपैयाँ, दहतर बहतरको बिक्रीबाट ३१ करोड २३ लाख ९५ हजार २६९ रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्कबापत १३ करोड १० लाख ९४ हजार ८९ रुपैयाँ आन्तरिक खातामा दाखिला भएको छ । यसका साथै बेरूजू असुलीतर्फ १२ करोड २२ लाख ९२ हजार ६३२ रुपैयाँ संकलन भएको छ ।संघीय सरकारबाट मूल्य अभिवृद्धि कर (भ्याट) बाँडफाँडबापत ८ अर्ब ८९ करोड ४३ लाख ६४ हजार ४४७ रुपैयाँ र वित्तीय समानीकरण अनुदानबापत ८ अर्ब २१ करोड ५३ लाख १९ हजार ३०० रुपैयाँ प्राप्त भएको छ ।त्यसैगरी अन्त शुल्क बाँडफाँडबाट ३ अर्ब २१ करोड ३९ लाख १९ हजार ८०२ रुपैयाँ, चालु सशर्त अनुदानबाट २ अर्ब ३९ करोड ५५ लाख २९ हजार ४५३ रुपैयाँ र पूँजीगत सशर्त अनुदानबाट १ अर्ब ५५ करोड १४ लाख ८१ हजार २५२ रुपैयाँ प्राप्त भएको छ ।आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै प्रदेश सरकारको खातामा ३ अर्ब ४४ करोड ७६ लाख ९२ हजार ४८५ रुपैयाँ कुल आय जम्मा भएको छ । जसमा असार महिनामा मात्र संकलित आन्तरिक राजस्व ९० करोड ९ लाख ५९ हजार ३३१ रुपैयाँ रहेको छ । विशेष अनुदान चालुतर्फ ३४ करोड ५ लाख रुपैयाँ, विशेष पूँजीगततर्फ २१ करोड ६७ लाख रुपैयाँ तथा समपूरक अनुदान पूँजीगततर्फ ३९ करोड १७ लाख रुपैयाँ प्रदेश सञ्चित कोषमा दाखिला भएको छ भने पर्वतारोहण र विद्युत रोयल्टीबापत क्रमशः २२ करोड ७१ लाख र १० करोड ३२ लाख रुपैयाँ आम्दानी भएको छ ।
८ साउन २०८३, शुक्रबार १२:३६ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो