आगामी फागुन २१ गते प्रतिनिधीसभाको निर्वाचन हुँदैछ । यसका लागि मंगलबार सम्वन्धित निर्वाचन क्षेत्रहरुमा उम्मेद्वारी समेत दर्ता भएको छ । उम्मेद्वारी दर्तासँगै निर्वाचनको औपचारीक दैलो पनि खुलेको छ ।
निर्वाचन लोकतन्त्रको एक महत्वपूर्ण अवसर हो । निर्वाचन लोकतन्त्रमा जनताले आफ्नो अभिमत व्यक्त गर्ने सबैभन्दा उन्नत, वैधानिक र शान्तिपूर्ण विधि हो । यस प्रक्रियामार्फत जनताले आफ्नो प्रतिनिधि चयन गरी राज्यसत्ताको दिशानिर्देश तय गर्ने अधिकार प्रयोग गर्छन् । त्यसैले निर्वाचन केवल एउटा औपचारिक प्रक्रिया मात्र नभई जनताको सार्वभौम अधिकारको प्रत्यक्ष अभ्यास हो । स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन लोकतन्त्रको आधारशिला हो । यदि निर्वाचन प्रक्रियामा अनियमितता, दबाब, डर, लोभ वा प्रलोभन देखाप¥यो भने त्यसले लोकतान्त्रिक मूल्य र जनविश्वासमा गम्भीर चोट पु¥याउँछ । मतदातालाई पैसा, वस्तु, रोजगारी, सुविधा वा अन्य कुनै किसिमको प्रलोभन देखाएर मत प्रभावित गर्ने कार्य पूर्णतः निन्दनीय र कानुनविपरीत हो । यस्तो प्रवृत्तिले निर्वाचनको नतिजा मात्र होइन, शासन प्रणालीप्रति नागरिकको भरोसा पनि कमजोर बनाउँछ ।
निर्वाचनलाई मर्यादित, पारदर्शी र विश्वसनीय बनाउन आचारसंहिताको प्रभावकारी कार्यान्वयन अनिवार्य छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता सबै राजनीतिक दल, उम्मेदवार, समर्थक तथा सरोकारवालाले इमान्दारितापूर्वक पालना गर्नुपर्छ । राज्यस्रोतको दुरुपयोग, घृणात्मक अभिव्यक्ति, गलत प्रचार, सामाजिक सद्भाव खल्बल्याउने गतिविधि तथा हिंसात्मक कार्य कुनै पनि हालतमा स्वीकार्य हुँदैनन् ।
यस निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले स्वस्थ प्रतिस्पर्धालाई आत्मसात गर्दै नीति, कार्यक्रम र दृष्टिकोणका आधारमा जनसमर्थन हासिल गर्नुपर्छ । मतदाताले पनि डर वा लोभमा नपरी विवेकपूर्ण निर्णय गर्दै स्वतन्त्र रूपमा मतदान गर्नुपर्ने दायित्व छ । सञ्चार माध्यम, नागरिक समाज र सुरक्षा निकायले आ–आफ्नो भूमिकामा जिम्मेवार र निष्पक्ष भएर सहयोग गर्नुपर्छ ।
फागुन २१ को निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन सबैको साझा प्रतिबद्धता आवश्यक छ । यसरी सम्पन्न निर्वाचनले लोकतन्त्रलाई थप सुदृढ बनाउँदै देशलाई स्थायित्व, सुशासन र समृद्धितर्फ अघि बढाउने बलियो आधार निर्माण गर्नेछ ।
त्यसैले निर्वाचनको परिणामलाई आफ्नो पक्षमा पार्न अवाञ्छित कार्य गर्ने, नागरिकमा प्रलोभन, डर र भ्रममा पार्ने जस्ता कार्य काँहिबाट पनि हुनु हुँदैन । यसै गरि अहिले उठि रहेको प्रश्न भनेको, सुरक्षाको हो । सुरक्षा सुदृढ बनाउन राज्यको दायित्व हो । यस तर्फ राज्य संयन्त्र गम्भिर हुन आवश्यक छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो