हाँसपोसा एकेडेमीले मनायो १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

खगेन्द्र कार्की

फामिने संवाददाता

दमक । 

विगतमा शिक्षा आर्जनमा देखिएका पीडा र बालबालिकाको शैक्षिक अधिकारबाट बञ्चित भएको कारुणिक कथाबाट जोडिएको इटहरीको हाँसपोसा एकेडेमीले १६ औं वार्षिकोत्सव मनाएको छ ।

भोजपुरको साम्पाङमा रहँदा भौगोलिक कठिनाइका कारण आफ्नो बाल्यकाल सामान्य भन्दा माथि जान नसकेको पीडा बोकेका उक्त एकेडेमीका संस्थापक समर बहादुर कार्की सुनसरीको इटहरीस्थित हाँसपोसामा आएपछि आर्थिक पहुँच नभएका बालबालिकाको अवस्था उस्तै देखेर शैक्षिक संस्था खोल्न उत्प्रेरित बने ।

त्यही धरातलमा टेकेर स्थापना भएको उक्त निजी विद्यालयले मंगलबार १६ औं स्थापना दिवस मनाएको छ ।दु:खद् र कारुणीक पक्ष के छ भने तिनै संस्थापक सञ्चालक कार्की यतिखेर प्यारालाइसिसको कारणले बाल्न नसक्ने अवस्थामा पुगेका छन् तर पनि कार्यक्रमको अध्यक्षता भने उनैले गरेका थिए ।

लामो समयको उपचारपछि उनको नचल्ने शरिर त चल्यो तर बोली भने आएन र अहिले पनि उपचारकै क्रममा रहेको परिवारिक स्रोतबाट थाहा भएको छ । सो कार्यक्रमको समापनमा विद्यालय आर्थिक शाखा प्रमुख समेत रहेकी सुष्मा कार्की (बुहारी)ले निकै भाबुक अवस्थामा कार्यक्रम समापन गरेकी थिइन् । संस्थापक तथा अध्यक्षता गरिरहेका कार्कीको तर्फबाट सुष्माले कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न अहोरात्र खटिने, कार्यक्रमस्थलमा उपस्थित भएका सम्बद्ध सबैलाई धन्यवाद दिएकी थिइने ।

प्रिन्सपल राजेश बस्नेत र मिना कार्कीले सञ्चालन गरेको सो कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरुले शुभकामना मन्तव्य राखेका थिए । प्रिन्सिपल बस्नेतले स्वागत मन्तव्य राखेको सो कार्यक्रमका सबै वक्ताहरुले संस्थापक समर कार्कीको स्वास्थ्य लाभको कामना गर्दै उहाँको योगदानको चर्चा गरेका थिए  । दुई ठूला सहर धरान र विराटनगरका बीचमा रहेको प्रतिष्पर्धामा गएका विद्यालयको स्तरमा निकै उच्चस्तरीय पठनपाठन र अतिरिक्त क्रियाकलाप गरिरहेको वक्ताले बताएका छन् ।

अभिभावकले आफ्ना नानीहरुको पढाईको निगरानी कसरी गर्ने भन्ने पनि वक्ताहरुको सुझाव थियो । उक्त एकेडेमीको अविष्मरणीय सन्दर्भ कोट्याउँदै वक्ताहरुले छुट्टीमा समेत विद्यार्थी विद्यालयमा बोलाएर घरमा भन्दा बढी अभिभावकत्व दिएर उनीहरुको शैक्षिक गुणस्तरको ख्याल गरिनु नै रहेको वक्ताहरुको भनाई थियो । 

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि तथा वडाअध्यक्ष कार्कीले विद्यालय किताबी ज्ञान लिने मात्र नभएर अतिरिक्त र व्यवहारिक ज्ञानमा जोड दिन पर्ने र सोही अनुसार हाँसपोसा एकेडेमीले अध्ययन अध्यापन गराईरहेकोमा खुशी व्यक्त गरे । उनले सबै अभिभावकलाई समेत आ–आफ्ना बालबालिकाको रुचि अनुसारको शिक्षामा लगानी गर्न आग्रह गरे ।

प्रमुख अतिथिको भनाई

उक्त कार्यक्रम सम्पन्न भएको थियो । विद्यालय स्थापना तथा अभिभावक दिवसका अवसरमा अतिरिक्त क्रियाकलाप, विविध साँस्कतिक कार्यक्रम सहित जातीय भेषभूषा एवम नेपाली मौलिक कला, साँस्कृतिक झल्काउने गरी बालबालिकाहरुलाई उपस्थित गराइएको थियो । विद्यालयले शैक्षिक उन्नयनसँगै नेपालको लोक सस्कृति जगेर्ना गर्ने उद्देश्यले विविध कार्यक्रमलाई जोड दिँदै बालबालिकाहरुमा स्वस्थ्यका लागि शारिरीक अभ्यास हुने खेलकुद लगायतका कार्यक्रममा सहभागी भएका विद्यालयका विद्यार्थीहरुलाई शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्रहरु विधागत रुपमा प्रदान गरेको थियो । उक्त कार्यक्रममा विद्यालय छोडेर गएका विद्यार्थी तथा शिक्षकलाई समेत सम्मान गरेर उदाहरण प्रस्तुत गरेको छ । 

उक्त कार्यक्रमका सभापति तथा संस्थापक कार्की तथा प्रमुख अतिथि, विशिष्ठ अतिथि, अतिथिहरुले पालैपालो विद्यार्थी, अभिभावकलाई अतिरिक्त क्रियाकलाप, खेलकुद शैक्षिकमा उत्कृष्ट भएकाहरुलाई पुरस्कार वितरण गरेका थिए । उत्कृष्ट अभिभावक, उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी सबैलाई सम्मान गरिएको छ ।

सोही असवसरमा विद्यार्थीहरुद्धारा विभिन्न गीत, सङ्गीत, कला, नृत्य, नाटकले कार्यक्रमलाई थप रोजक बनाएको थियो । बीच बीचमा अभिभावक तथा अतिथिहरुका लागि प्रश्न सोध्ने र रिचार्ज उपहार दिने गरिएको थियो । 

सो कार्यक्रममा इटहरी १ का पूर्व वडाअध्यक्ष निश्चल पोखरेल, वडा सदस्यहरु, सहिद स्मृति स्कुलका सहायक प्रधानाध्यापक रमेश खड्का, राष्ट्रिय माविका ज्ञान बहादुर विश्वकर्मा, बुद्धिजीवि तथा समाजसेवी रियन्द्र गुरागाई, न्युभिजनका प्रिन्सिपल शैलेन्द्र खड्कालगायतका विशिष्ठ अतिथिहरुले कार्यक्रममा मन्तव्य राखेका थिए । विशिष्ठ अतिथिलाई मायाको चिनोले बिदाई गरिएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारी सबै जना नृत्यमा उत्तिकै पोख्त रहेको देखिन्थ्यो ।


खगेन्द्र कार्की
प्रतिक्रिया