कोशीदेखि सुदुरपश्चिमसम्मका दर्जनौं परिवार बाढी र पहिरोबाट विस्थापित

खगेन्द्र कार्की

इटहरी । आइतबारदेखि आएको अविरल वर्षाका कारण कोशी प्रदेशको ताप्लेजुङदेखि सुदुरपश्चिम प्रदेशको कञ्चनपुरसम्म क्षति पु¥याएको छ । बाढी र पहिरोबाट देशभर पछिल्लो वर्षाका कारण ५५ बढी घरपरिवार विस्थपित भएका छन् । अझै पनि वर्षाको सम्भावना रहेको र सर्तक रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरिरहेका छ । कोशी नदीको वहाव पनि बढेको छ । ताप्लेजुङको सिरीजंगा गाउँपालिका पेदाङको पहिलोमा परी ६ घर विस्थापित भएका छन भने कञ्चनपुरमा बाढीबाट ५२ घरपरिवार बाढीबाट विस्थापित बनेका छन् । आइतबार रातिको वर्षासँगै पहिरो झरेका कारण बस्तीमा उच्च जोखिम भएपछि उनीहरु विस्थापित भएका हुन् । स्थानीय खेलप्रसाद बुढाक्षेत्री परागका अनुसार पहिराले हाङमाया थुङ्गिम ९लिम्बू० को घर उच्च जोखिममा परेको छ भने पहिरो झरिरहेकाले त्यस क्षेत्रमा बसोबास गर्ने जगत भण्डारी, भीमबहादुर भण्डारी, अम्बरध्वज लिम्बू, शिवलाल भण्डारी र टंक भण्डारीको घरसमेत जोखिममा रहेका छ । चिचिहाङ बस्तीको तलबाट पहिरो झरेको बताइएको छ । पहिरो झरेपछि हाङमायाको परिवार राति नै छिमेकीकोमा गइ बसेको बताइएको छ । अन्य घर परिवारसमेत सुरक्षित ठाउँमा छन् । अहिले वर्षा नभए पनि समयसमयमा पहिरो झरिरहेको स्थानीयले बताएका छन् ।

कञ्चनपुरमा सशस्त्रको बीओपीसहित ४५ घरपरिवार विस्थापित

कञ्चनपुरको दोधारा चाँदनीमा सशस्त्र प्रहरीको बीओपी डुबानमा परेको छ । जोगबुढा नदीको पानी बस्ती पस्दा दुई बीओपी पनि डुबानमा परेका छन् ।

दोधारा चाँदनी नगरपालिका १० सुन्दरनगर र दोधारा चाँदनी ७ कञ्चभोजको बिओपी डुबानमा परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

डुबानपछि सुन्दरनगरको बीओपीमा कार्यरत २३ जनालाई सोही ठाउँको ओमकार आधारभूत विद्यालय र कञ्चभोजमा कार्यरत ३० जनालाई सहरी खोप केन्द्र भवनमा सारिएको छ । डुबान प्रभावित स्थानीयलाई सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारिरहेको छ ।

आइतबारदेखिको अविरल वर्षापछि ५२ परिवार डुबानबाट प्रभावित बनेका छन् । दोधारा चाँदनी १० शान्ति टोलका डुबान प्रभावित १२ घरपरिवारका ४० जनालाई उद्धार गरिएको छ । उनीहरूलाई दोधारा चाँदनी–९ स्थित अम्बिका माध्यमिक विद्यालयमा सारिएको छ । डुबानका कारण दोधारा चाँदनी र भीमदत्त नगरपालिका थप ४५ परिवार प्रभावित भएका छन् । दोधारा चाँदनी नगरपालिका– ८ रामपुरे टापु र जर्गा टोलमा जोगबुढा नदीको पानी पसेको छ । डुबानले रामपुरे टापु र जर्गा टोलका २५ परिवारका ७० जना प्रभावित भएका छन् ।

उनीहरूलाई जनज्योति माध्यमिक विद्यालयमा सारिएको प्रहरीले जनाएको छ । जोगबुढा नदी पस्दा दोधारा चाँदनी–३ पटराखल्लाका १५ परिवारका ५५ जना विस्थापित भएका छन् । उनीहरूलाई सर–समान र चौपायासहित जमुना आधारभूत विद्यालय जमुनाघाडीमा सारिएको छ ।

भीमदत्त नगरपालिका–१० भुजेलास्थित सेन्सोरियल स्कुल डुवानमा परेको छ । डुबानमा परेका भीमदत्त नगरपालिका–११ चौकीसत्ताका ५ परिवारलाई सुरक्षित स्थानमा सारिएकोे छ । सो क्षेत्रमा आधा दर्जन घर डुबानमा परेका छन् ।

महाकालीमा पानी बढ्दो

महाकाली नदीमा पानीको बहाव बढ्दो क्रममा छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार महाकाली नदीमा पानीको बहाव बढेपछि चार पाङ्ग्रे र तीन पाङग्रे सवारी साधन आवतजावत बन्द गरिएको छ । महाकाली नदीमा पानीको बहाव दुई लाख क्युसेक नाघेको छ । महाकालीमा निरन्तर पानीको बहाव बढिरहेको हो । महाकालीमा पानीको बहाव बढेपछि भीमदत्त नगरपालिका ११ गड्डाचौकीस्थित महाकाली नदीमा रहेको नेपाल–भारत जोड्ने बनबासा पक्की पुलमा ठूला सवारी साधन आवतजावत बन्द गरिएको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया