दमक । सौर्य एयरलाइन्सको बुधबार भएको जहाज दुर्घटनामा एकै परिवारका तीन जनासहित १८ जनाको ज्यान गएको छ ।
इन्जिनियर र चालक दलका सदस्य गरी १९ जना रहेको जहाज चेक गर्नका लागि काठमाडौंबाट पोखरा लैजाने क्रममा सिआरजे २०० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले बताए ।
‘हामीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग अनुमति लिएर जहाज पोखरा लैजान लागेका थियौँ, तर जहाज उड्नेबित्तिकै तल झरेछ,’ उनले भने, ‘जहाजमा चालक दलका सदस्य र इन्जिनियर मात्र छन्, यात्रु (सर्वसाधारण) छैनन् ।’
जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले उल्लेख गरेको छ ।
प्राधिकरणका अनुसार सीआरजे ७ (रजिस्ट्रेसन–९एनएएमई) जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो । दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा १८ जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ । यस्तै पाइलट मनिषरत्न शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ ।
दुर्घटनामा परेका १९ जनामध्ये विमान चालक क्याप्टेन मनिश रत्न शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरिएको थियो ।
विमानको नियमित मर्मत र सम्भारको समय तालिकाअनुसार यो विमानको विस्तृत मर्मतको अवधि अझै ५० घण्टा बाँकी थियो ।
यस विमानमा बसेर विस्तृत मर्मत सम्भार गर्न सौर्य एयरका प्राविधिकहरू पोखरा जाँदै थिए । उनीहरूले नै प्राविधिक जाँच गरेर यो विमान उडाउन मिल्ने भनी आफैँ सवार थिए । काठमाडौंमा विमानको विस्तृत मर्मत सम्भार गर्ने ठाउँ नभएकाले पोखरामा दुई महिना राखेर विस्तृत मर्मत सम्भार गर्नुपर्ने प्रवक्ता पाण्डेय बताउँछन् ।
“काठमाडौंमा दुई महिना राखेर विस्तृत मर्मत गर्ने हेङ्गर नभएकाले यो विमान पोखरामा बनेको नयाँ विमानस्थलमा रहेको हेङ्गरमा लग्न लागिएको थियो । यो नियमित मर्मत सम्भार योजनाअन्तर्गत नै हो,” उनले भने, “सामान्य मेन्टेनेन्स नियमितरूपमा भए पनि यस्तो खालको मेन्टेनेन्स चाहिँ डेढ–दुई महिना राखेर नै गर्नुपर्ने हुन्छ । तर, यस्तो विस्तृत मर्मत गर्नुपर्ने समय हुन्छ । विस्तृत मर्मत गर्ने अवधि अझै ५० घण्टा बाँकी थियो ।”
अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, आश्विन निरौला, सुदीपलाल जोशी, सर्बेश मरासैनी, श्याम विन्दुकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न साही, कोपाइलट सुशान्त कटुवाल र एकजना विदेशी आरिफ रेदा (यमनी) को निधन भएको छ ।
प्राप्त समाचार अनुसार निधन भएका १८ जना मध्ये एकै परिवारका तीनको निधन भएको छ । सप्तरीका अग्रज पत्रकार प्रकाश खतिवडाकी छोरी–ज्वाँई र नातिको समेत निधन भएको हो ।
जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको ज्यान गएको छ ।
मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने अधिराज उनीहरुका छोरा हुन् । प्रिजाका बुबा प्रकाश खतिवडाले ज्वाइँ मनुराज प्राविधिक भएको बताए । उनले ज्वाइ प्राविधिक भएको बताए पनि सौर्य एयरलाइन्सकै कर्मचारी भए–नभएको खुलाएनन् ।
तर, सौर्य एयरलाइन्सले भने उनीहरु सबै कर्मचारी भएको आफ्नो विवरणमा उल्लेख गरेको छ । पारिवारका अनुसार प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत थिइन् । यस्तै अधिराज भने नाबालक हुन् ।
यसैगरी सो विमानमा विराटनगरका तीन जना समेत रहेको खुलेको छ ।
दुर्घटनामा मृत्यु भएका जहाजका को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर अश्विन निरौला र सुरक्षा (सेफ्टी चिफ) सागर आचार्य विराटनगरवासी भएका सौर्य एयरलाइन्स विराटनगर स्टेशन म्यानेजर प्रकाश पौडेलले जानकारी दिएका छन् ।
प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण
सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि विभिन्न मिडियामा आएको समाचारप्रति प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस काउन्सिलले विज्ञप्ति जारी गरेर बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएको विषयमा विभिन्न सञ्चारमाध्यमबाट जहाज कम्पनीको नाम, जहाजमा सवार यात्रु र दुर्घटनामा परी मृत्यु हुनेको संख्या एउटै समयको समाचार पोस्टमा फरक–फरक तथ्य सम्प्रेषण भएको र कतिपय सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारणसमेत भएकोप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
समाचार सम्प्रेषणका क्रममा आधिकारिक तथ्यको पुष्ट्याइँबेगर हतारमा सामग्री सम्प्रेषण नगर्न र नगराउन काउन्सिलले सम्पूर्ण सञ्चारमाध्यम, पत्रकार, सामाजिक सञ्जालका प्रयोगकर्तालाई हार्दिक अनुरोधसमेत गरेको छ ।
प्रधानमन्त्रीद्वारा सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
बुधबार सामाजिक संञ्जाल फेसबुकमा लेख्दै ओलीले उक्त दुर्घटनाप्रति धैर्य रहन अनुरोध गर्दै दुःख व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्,’नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ । नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु ।’
सौर्य एयरको विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थल पुगेका थिए । मर्मतका लागि पोखरातर्फ जाँदै गरेको विमान बुधबार बिहान ११ः११ मा त्रिभुवन विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो । विमानमा चालक दलका २ सदस्यसहित १९ जना सवार थिए ।क्याप्टेन एमआर शाक्यको जीवितै उद्धार गरिए पनि १८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो