पूर्वप्रम भट्टराई सहित ४९ जनाको उम्मेदवारी फिर्ता

खगेन्द्र कार्की

इटहरी । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।  

निर्वाचन आयोगले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा निर्वाचनका लागि ३ हजार ४८७ जनाको उम्मेदवारी परेकोमा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराइलगायत ४९ जनाले उम्मेदवारी फिर्ता लिएको जनाएको हो ।

त्यस्तै ५ जना उम्मेदवारविरुद्ध दाबी विरोध परेकोमा एक जनाको उम्मेदवारी खारेज भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनले देशैभर शान्तिपूर्ण तवरले निर्वाचन कार्यक्रम अघि बढिरहेको जानकारी दिए । निर्वाचनका लागि समानुपातीतर्फ करिब डेढ करोड मतपत्र छापिसकिएको र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेसँगै प्रत्यक्षतर्फको मतपत्रको डिजाइन गरेर छपाइको कार्य सुरु गरिने उनले बताए । 

प्रवक्ता भट्टराईले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पनि सम्पन्न भइसकेको जानकारी दिए । 

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक जनशक्ति, मतपत्र लगाएका सामाग्री सातै प्रदेशको निर्वाचन कार्यालयमा पुराइसकिएको आयोगले जनाएको छ ।



पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ मा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए। उनले फेसबुक लाइभमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरे । गोरखा २ का जनता, नयाँ पुराना सबै राजनीतिक दलहरुको आग्रहपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताए । उनले अब संसद् बाहिर रहेर पनि जनताको आकांक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै रुपन्देही–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की कर्भिका थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बस्दा प्राप्त स्थायी आवास अनुमति (पीआर) परित्याग गरेको कम्तीमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाउने कानुनी व्यवस्था रहेको र सो अवधि पूरा नभएकाले उम्मेदवारी फिर्ता लिएको उनले विज्ञप्तिमार्फत जानकारी गराएकी छन् । थापाले पार्टीबाट मनोनयन फिर्ता लिन अनुरोध आएपछि संविधानको मर्म र भावनाअनुसार उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताएकी छन् । उनले अध्ययनका क्रममा विदेशमा स्थायी आवास अनुमति लिएको भए पनि नेपाली नागरिकता र राहदानीबाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी नलिएको स्पष्ट पारेकी छन् ।

यस्तै ओखलढुंगाबाट प्रतिनिधि सभा निर्वाचन लड्न स्वतन्त्र मनोनयन दर्ता गराएका सन्त तामाङले उम्मेदवारी फिर्ता लिएका छन् । भने मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । एमालेबाट उम्मेदवार बनेका पोल्देन छोपाङ गुरुङ र कुवेरसिंह गुरुङले उम्मेदवार फिर्ताका लागि निवेदन दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटका नेता जीवन बुढाले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि बुढाले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताइएको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया