मेरिट मिचेरै राजनीतिक भागवण्डमै डिन नियुक्त

खगेन्द्र कार्की

दमक । त्रिभुवन विश्वविद्यालयमा एकै पटक ८ जना डिन नियुक्त भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले मेरिटका आधारमा डिन छनौट गर्न समयसीमा दिए पनि अन्ततः राजनीतिक भागवण्डाकै आधारमा ८ जना डिनहरु नियुक्त भएका छन् । 

विगत कै राजनीतिक नियुक्तिको निरन्तरताका आधारमा ५ अध्ययन संस्थान र ३ संकायमा ८ जना डिन नियुक्ति भएको देखियो । प्रतिस्पर्धाको आधारमा डिन नियुक्ति गर्ने भन्दै कार्यविधि बनाएर छनोट तथा सिफारिस समितिमार्फत दरखास्त आह्वान गरी प्रक्रिया अघि बढाएइए पनि नियुक्तिअघि सत्तारुढ दलको स्वार्थ सतहमा देखियो । 

रेक्टर खड्ग केसीले कार्यकारी परिषद्को बैठकले डिन नियुक्त गर्ने निर्णय गरेको बताए । त्रिविले प्रतिस्पर्धाको आधारमा डिन नियुक्ति गर्ने भन्दै कार्यविधि पछ्याएको थियो । तर सत्तारुढ एमालेले उक्त प्रक्रियामा प्रश्न उठाउँदै विरोध गरेपछि अन्ततः मेरिट मिचेर डिन नियुक्त गरिएको छ । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले समेत पुस ७ गतेसम्म नियुक्ति गर्न उपकुलपति केशरजंग बराललाई निर्देशन नै दिनुपरेको थियो । बराल सिफारिस समितिले पहिलो नम्बरमा सिफारिस गरेकालाई डिन नियुक्त गर्नुपर्ने अडानमा उभिएका थिए । रेक्टर केसी लगायत कार्यकारीका सदस्यहरु सिफारिस परेका ३/३ जना मध्ये एक जनालाई नियुक्त गर्न सकिने पक्षमा थिए ।

विवाद बढेपछि ३ मध्ये एकलाई छनोट गर्दै डिन नियुक्त गरियो । किनकि यसो गर्दा छनौटमा परेको तीनमध्ये एक छान्दा राजनीतिक भागबन्डा पूरा गर्न सकिने थियो । जहाँ जहाँ राजनीतिक स्वार्थ छ, त्यहाँ त्यहाँ छनौटमा परेका तीनबाट एक जना छानियो भने जहाँ जहाँ दलहरुको प्राथमिकता थिएन, त्यहाँ भने एक नम्बरमै परेकालाई डिन बनाइयो । नियुक्ति गर्दा दल निकट भनेर प्रस्ट नखुलेका एकसहित कांग्रेस निकट ३, एमाले/माओवादी निकट २/२ जना प्राध्यापक डिन नियुक्त भएका छन् ।

शनिवार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले ८ वटा संकायका डिन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो। नियुक्ति पाएकाहरूलाई आज (आइतबार) नै नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम छ ।

त्रिविका अनुसार मानविकी तथा सामाजिकशास्त्र संकायको डिनमा प्रा.डा. द्विविनन्द ढकाल नियुक्त भएका छन्। त्यस्तै इन्स्टिट्युट अफ मेडिसिनको डिनमा प्रा.डा. मोहनराज शर्मा, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा डा. किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायमा प्रा.डा. वेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा डा. ठाकुर सिलवाल, व्यवस्थापन संकायमा प्रा.डा. महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानमा सुशीलबहादुर वज्राचार्य, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा.डा. शंकर खनाल डिन नियुक्त भएका हुन् ।

बैठकले योजना निर्देशनालयका निर्देशकमा डा लक्ष्मीकान्त शर्मा, शिक्षा विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा डा राजेन्द्र कुँवर र व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा प्रा.डा. मीना राजभण्डारीलाई नियुक्त गरेको छ। 

यही मंसिर २७ गते बसेको त्रिविको साधारण सभा (सिनेट) बैठकमा त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ७ गतेभित्र डिन नियुक्त गर्न निर्देशन दिएका थिए।


खगेन्द्र कार्की
प्रतिक्रिया