ब्रोड पिक हिमपहिरोमा परेका १० आरोहीको मृत्यु, ६ नेपाली पनि मृतकमा
खगेन्द्र कार्की
१६ साउन २०८३, शनिवार ०६:४६ मा प्रकाशित
1062
काठमाडौं । पाकिस्तानको ८,०५१ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परेका १० आरोहीको मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये विश्व कीर्तिमानधारी निर्मल पुर्जासहित ६ नेपाली र चार विदेशी आरोही रहेका छन्।
आरोहणका क्रममा बिहीबार आएको हिमपहिरोमा १० जना सम्पर्कविहीन भएका थिए। शुक्रबार चार जनाको शव फेला परेको थियो भने बाँकी आरोहीको पनि निधन भएको पुष्टि भएपछि प्रधानमन्त्री वालेन्द्र शाहले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
मृतक नेपाली आरोहीमा निर्मल पुर्जा, पुरबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा छन्। विदेशी आरोहीमा ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ र अमेरिकाकी म्यालोरी गाइस रहेका छन्। नाधिरा र म्यालोरीको शव शुक्रबार नै फेला परेको थियो।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत आरोहणलाई साहस, अनुशासन र मानवीय सीमालाई चुनौती दिने यात्राको संज्ञा दिँदै दिवंगत आरोहीहरूको योगदान इतिहासमा सधैँ प्रेरणादायी रहने बताएका छन्। उनले सम्पूर्ण दिवंगत आरोहीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
काराकोरम पर्वत शृङ्खलामा अवस्थित ब्रोड पिक विश्वको १२औँ अग्लो हिमाल हो। हाल हिमपहिरोको घटनाबारे सम्बन्धित निकायले थप विवरण संकलन गरिरहेको छ।