इटहरी । विश्व बाघ दिवसका अवसरमा कृषि, वन तथा वातावरण मन्त्रालयले आज पछिल्लो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गर्दैछ। सन् २०२२ को गणनाअनुसार नेपालमा ३५५ वटा बाघ रहेका छन् भने पछिल्लो सर्वेक्षणमा बाघको सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ।
विश्व बाघ दिवस हरेक वर्ष जुलाई २९ मा मनाइन्छ। सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा सम्पन्न बाघ शिखर सम्मेलनपछि बाघ संरक्षण र प्राकृतिक बासस्थान जोगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो।
नेपालमा प्रत्येक चारदेखि पाँच वर्षको अन्तरालमा बाघ गणना गरिन्छ। सन् २०२२ को तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८, बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ रहेका छन्। मन्त्रालयका अनुसार बासस्थान सुधार र आहारा प्रजातिको वृद्धिका कारण यसपटक बाघको सङ्ख्या बढेको हुन सक्ने अपेक्षा गरिएको छ।
विश्वमा हाल ५ हजार ३५७ वटा बाघ रहेका छन्। भारतमा सबैभन्दा धेरै ३ हजार १६७ बाघ छन् भने नेपाल ३५५ बाघसहित चौथो स्थानमा छ। नेपालले सन् २०१० मा १२१ बाट सन् २०२२ मा ३५५ पुर्याएर बाघ संरक्षणमा उल्लेखनीय सफलता हासिल गरेको छ।
पछिल्लो बाघ सर्वेक्षण गत पुसदेखि करिब तीन महिनासम्म चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी क्षेत्रमा सञ्चालन गरिएको थियो। दुई–दुई किलोमिटरका ग्रिडमा स्वचालित क्यामेरा जडान गरी खिचिएका तस्बिरको विश्लेषणबाट बाघको सङ्ख्या निर्धारण गरिएको हो। सर्वेक्षणमा करिब २५० जनशक्ति र १ हजार १०० क्यामेरा प्रयोग गरिएको थियो।
बाघको सङ्ख्या बढेसँगै मानव–बाघ द्वन्द्व, बासस्थानको सीमितता र समस्याग्रस्त बाघ व्यवस्थापन चुनौतीका रूपमा देखिएका छन्। हाल देशभर १६ समस्याग्रस्त बाघ खोरमा राखिएका छन्। तिनको व्यवस्थापनका लागि सरकारले चितवनको देवनगरमा करिब ५२ हेक्टर क्षेत्रफलमा ‘टाइगर सेन्चुरी’ निर्माण गर्ने योजना अघि बढाएको छ।
१३ साउन २०८३, बुधबार ०८:५० मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो