सांसदको अभ्यास : निर्वाचनको बेलामात्र फर्कने सांसदहरुको लर्कोमा उदाहरणीय बन्दै रास्वपाका सांसद चौधरी

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । निर्वाचित भएपछि बेपत्ता हुने सांसदहरुको अभ्यासलाई चुनौति दिँदै उदाहरणीय बन्दैछन सुनसरीबाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सांसद बनेका अशोक चौधरी । 

निर्वाचित भएपछि लाभको पदका लागि सत्ता र शक्तिको वरिपरि घुमिरहने सांसदहरुको दिनचर्या बदल्ने अठोटका साथ सांसद चौधरी यतिखेर आफ्नै निर्वाचन क्षेत्रमा समस्याका पोका खोज्दै भौतारिरहेका भेटिन्छन् । वडा कार्यालयहरुदेखि नगरपालिका, गाउँपालिकासम्म घुमिरहेका छन् । ‘स्थानीय तहबाट समाधान नहुने ठूला समस्याहरु छन् भने लेखेर दिनुहोस्, म सरोकारवाला निकायसम्मै पुगेर ध्यानाकर्षण गराउँछु भन्दै दृढ संकल्प र विश्वासका साथ उनी गाउँ, बस्ति र सहरमा डुलिरहेका छन् । उनी आफूले बदल्न चाहेको विषयवस्तुका विषयमा यसरी डुलेर समस्या माग्दा कतिले दिने गरेको तर कतिपयले वास्तै नगरेको अनुभव पनि बटुलिरहेका छन् । 

अघिल्ला सांसदहरुको भन्दा आफ्नो काम गर्ने तरिका केही फरक रहेको उनी बताउँछन् । ‘संघले बजेट नदिएको होइन रहेछ, हामीले लागि परेर नमागेको पो रहेछ,’ उनी भन्छन्, ‘कुनै समस्या आयो भने फोन गरेकै भरमा काम हुन्छ भनेर जनतालाई आश्वासन दिन्छन्, तर काठमाडौमा त्यस्तो हुँदैन ।’

उनकाअनुसार विकास निर्माण वा अन्य कुनैपनि समस्या समाधानका विषयमा मन्त्रालय वा विभाग एक पटक गएर वा फोन गरेर मात्र हुँदैन, निरन्तर पछ्याइरहनुपर्छ । ‘हाम्रो सिस्टम नै यस्तो छ कि निरन्तर नलागेसम्म काम बन्दैन, तर मान्यज्यूहरु भनिदिएको छु भनेर टार्नुहुँदो रहेछ,’ उनी भन्छन्, ‘अरु त अरु पाएका योजनाहरु समेत कतिपय काम अघि बढ्न सकेको छैन भने कतिपय योजना बिचमै अड्किइरहेको छ र त्यसको लागि लबिङ पुगिरहेको पाइँदैन ।’

आफ्नो पार्टीसँग जनताका अपेक्षाहरु धेरै रहेकोले पनि आफूहरु जिम्मेवार बनेर लागिपरेको उनी बताउँछन् । उनी आफ्नो ठाउँको विकास गर्ने सवालमा कोही पनि सानो वा ठूलो नहुने बताउँछन् । ‘म त सांसद पो हो, गाउँपालिका, नगरपालिकाका प्रमुखहरुले वा वडाध्यक्षहरु मकहाँ धाइरहनुपर्छ भन्ने भावना गलत हो,’ उनी भन्छन्, ‘आफ्नो ठाउँ बनाउने कुरा हो, जो जसकोमा गएपनि केही फरक पर्दैन ।’

उनकाअनुसार पालिकाले बाटोघाटो निर्माणलाई प्राथमिकता दिइरहेका छन् । यस्तै शिक्षा र स्वास्थ्य सेवाको स्तरोन्नतीका लागि बजेट माग गर्ने गरेको उनको अनुभव छ । इटहरीको सवालमा बाहिरि चक्रपथ तथा वन सेन्टर तथा डुबान नियन्त्रणको लागि आफू लागिपरेको उनी बताउँछन् । ‘बर्न सेन्टर इटहरी १७ मा बनाउने गरी तयारी भइरहेको छ,’ उनी भन्छन्, ‘यहाँका समस्याहरुको विषयमा मेयरज्यूसँग पनि कुरा भइरहेको छ, इटहरीको समस्या समाधानको लागि जनप्रतिनिधि तथा सांसदहरु मिलेर डेलिगेसन जाने कुरा भएको छ ।’

खगेन्द्र कार्की
प्रतिक्रिया