मुस्ताङ । पर्वतीय उच्च उचाइ (हाइअल्टिच्युड) का कारण लेक लागेर चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म मुस्ताङमा नौ विदेशीसहित १३ पर्यटकको मृत्यु भएको छ। मुक्तिनाथ दर्शनका लागि आएका धार्मिक पर्यटकहरू उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमीका कारण बिरामी परेर ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार मृत्यु हुनेमध्ये चार नेपाली र नौ विदेशी नागरिक छन्। नेपालीतर्फ तीन पुरुष र एक महिला तथा विदेशीतर्फ सात पुरुष र दुई महिला रहेका छन्। सबै पर्यटक वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाको क्षेत्रमा लेक लागेर बिरामी भएका थिए। उनीहरूको प्रदेश अस्पताल जोमसोममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मुस्ताङमा लेक लागेर मृत्यु हुनेमध्ये अधिकांश भारतीय पर्यटक छन्। समथर भूभागबाट सिधै तीन हजार मिटरभन्दा माथिको हिमाली क्षेत्रमा पुग्ने क्रममा आवश्यक स्वास्थ्य सावधानी नअपनाउँदा यस्तो समस्या देखिने गरेको छ। उच्च उचाइमा अक्सिजनको मात्रा कम हुने भएकाले ज्येष्ठ नागरिक, दीर्घरोगी, शारीरिक रूपमा अशक्त तथा अपाङ्गता भएका व्यक्तिमा जोखिम बढी रहने स्वास्थ्यकर्मीहरू बताउँछन्।
लेक लाग्ने घटनालाई न्यूनीकरण गर्न सरकारी तथा गैरसरकारी निकायले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्। प्रदेश जनस्वास्थ्य कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), मुक्तिनाथ विकास समिति, स्थानीय तह तथा सुरक्षा निकायले सूचना बोर्ड, ब्रोसर र जनचेतनामूलक सामग्रीमार्फत पर्यटकलाई सचेत गराउने काम गरिरहेका छन्।
मुक्तिनाथ क्षेत्रका होटलहरूमा पोर्टेबल अक्सिजन सिलिन्डर र आवश्यक औषधिको व्यवस्था गरिएको मुक्तिनाथ होटल एसोसिएसनले जनाएको छ। साथै, मुक्तिनाथ मन्दिर परिसर र मन्दिर जाने सिँढीमार्गमा ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’ सञ्चालनमा ल्याइएको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा बीच–बीचमा विश्राम गर्दै शरीरलाई वातावरणसँग अभ्यस्त बनाउने, पर्याप्त पानी पिउने र स्वास्थ्य अवस्था प्रतिकूल देखिएमा तत्काल उपचार लिनु लेक लाग्ने जोखिम कम गर्ने प्रमुख उपाय हुन्।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो