कोशीमा मनसुन जोखिम उच्च, सरकार तयारी अवस्थामा

खगेन्द्र कार्की

विराटनगर । यस वर्षको मनसुनमा कोशी प्रदेशका तराई क्षेत्रमा बाढी र पहाडी जिल्लामा पहिरोको उच्च जोखिम देखिएको छ। प्रदेश सरकारले सम्भावित विपद् न्यूनीकरणका लागि पूर्वतयारी तीव्र बनाएको जनाएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार झापा, मोरङ र सुनसरीमा बाढी तथा डुबानको खतरा उच्च छ भने ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु पहिरोको जोखिममा छन्। प्रदेशभर करिब ९९ हजार ७७७ घरधुरी बाढी र आगलागीको जोखिम सूचीमा परेका छन्।
सरकारले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य प्रदेश कार्ययोजना २०८२÷०८३’ कार्यान्वयनमा ल्याउँदै १४ वटै जिल्लाका सुरक्षा निकाय र प्रशासनलाई उच्च सतर्कतामा राखेको छ। बाढीपूर्व सूचना प्रणाली, मोबाइल एसएमएस र साइरनमार्फत तटीय क्षेत्रका बासिन्दालाई सचेत गराउने व्यवस्था गरिएको छ।
चालु आर्थिक वर्षको वैशाख १० सम्म विपद्का घटनामा १२५ जनाको मृत्यु भएको छ। तीमध्ये ४१ जनाको ज्यान चट्याङबाट गएको प्रहरी तथ्यांक छ। वन्यजन्तुको आक्रमणबाट ३१, विद्युतीय दुर्घटनाबाट २१ र सर्पदंशबाट १० जनाको मृत्यु भएको छ।
प्रदेश सरकारले हालसम्म १५३ विपद् प्रभावित परिवारलाई ६१ लाख ६० हजार रुपैयाँ राहत वितरण गरिसकेको जनाएको छ। विपद्मा मृत्यु हुनेका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँ राहत दिने व्यवस्था छ।
सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग समन्वय गरी द्रुत उद्धार टोली तयारी अवस्थामा राखेको छ। पहाडी क्षेत्रमा सडक अवरुद्ध भए तत्काल खुलाउन मेसिनरी उपकरण तैनाथ गरिएको छ भने स्वास्थ्य संस्थामा एन्टि–स्नेक भेनम मौज्दात राख्न निर्देशन दिइएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया