आकाशे पुलदेखि नगरबस सञ्चालनसम्मका योजनासहितको इटहरी उपमहानगरको कूल २ अर्ब ३५ करोडको बजेट सार्वज्निक

खगेन्द्र कार्की


फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । साधाण खर्चलाई मितव्ययी बनाउन चालु खर्चमा ब्यापक कटौति गर्दै इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ को लागि २ अर्ब ३५ करोडको बजेट ल्याएको छ । उपमहानगरपालिकाको १३ औं नगरसभामा उपप्रमुख संगीता कुमारी चौधरीले उक्त बजेट प्रस्तुत गरेकी हुन् । 

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि संघिय समानिकरण अनुदानबाट ३० करोड १७ लाख, संघिय ससर्त अनुदानबाट ७२ करोड ५७ लाख, संघिय समपुरक अनुदानबाट २ करोड, संघिय विशेष अनुदानबाट ३ करोड ७५ लाख पाउने अनुमान गरीएको छ । 

यसैगरी प्रदेश समानिकरण अनुदानबाट २ करोड ७ हजार, प्रदेश ससर्त अनुदानबाट १ करोड २३ लाख २५ हजार, प्रदेश समपुरक अनुदानबाट १ करोड, संघिय राजश्व बाँडफाँडबाट १८ करोड ३ हजार, प्रदेश राजस्व बाँडफाँड(सवारी)बाट २ करोड १३ लाख ९६ हजार, प्रदेश राजश्व बाँडफाँड रजिस्ट्रेशनबाट ३० करोड रुपैया पाउने अनुमानित आम्दानी विवरण पेश गरेको छ । यस्तै नगद मौज्दात परिवर्तनबाट १ करोड र नगर विकास कोषबाट ३ करोड ऋण प्राप्त हुने अनुमान गरेको छ ।

यसैगरी आन्तरिक श्रोतबाट ६८ करोड १४ लाख रुपैया उठाउने महत्वकांक्षी योजनासमेत बनाएको छ । यो चालु आर्थिक वर्षको असारसम्मको संशोधित अनुमानित आयको दोब्बर बढी हो । चालु आर्थिक वर्षको असारसम्ममा नगरले आन्तरिक स्रोतबाट २९ करोड ६३ लाख रुपैया मात्र आम्दानी गर्न सकेको छ ।

यस्तै उपमहानगरपालिकाले चालु खर्च तर्फ १ अर्ब १५ करोड ७८ लाख रुपैया विनियोजन गरेको छ । नगर विकास कोषको सावाँ व्याज भुक्तानी गर्नको लागि ५० लाख र  पूँजिगत खर्चको लागि १ अर्ब १८ करोड ७२ लाख रुपैया छुट्याएको छ । पुँजीगत खर्च कुल बजेटको ५०।५२ प्रतिशत हो ।

विषयगततर्फ २५ करोड, नगर स्तरीय योजनाका लागि १७ करोड ४५ लाख ६ हजार, ससर्त अनुदानतर्फ ८० करोड ५५ लाख २५ हजार विनियोजन गरेको छ ।

यस्तै वडा सिमातर्फ १० वटा वडालाई प्रति वडा १ करोड ५५ लाखका दरले र बाँकी १० वटा वडालाई १ करोड ७५ लाखका दरले गरी जम्मा ३३ करोड छुट्याएको छ । उपमहानगरको १ करोड ५५ लाख रुपैयाका दरले पाउने वडाहरु १,३,७,१०,११,१३,१४,१५,१८ र १९ रहेका छन् भने वडा नं. २,४,५,६,८,९,१२,१६,१७ र २० ले १ करोड ७५ लाखका दरले रकम पाउनेछन् ।

चालु आर्थिक वर्ष घाटामा

चालु आर्थिक वर्षमा भने इटहरी उपमहानगरपालिका घाटामा गएको छ । आम्दानीभन्दा खर्च बढी भएपछि उपमहानगरलाई ४५ करोड ८४ लाख ४१ हजार रुपैया घाटा भएको हो । उक्त रकम दायित्वका रुपमा आगामी आर्थिक वर्षलाई सारिएको छ । 

चालु आर्थिक वर्षको लागि २ अर्ब १८ करोड ६ लाख बजेट अनुमान गरिएकोमा संघिय र प्रदेश सरकारवाट कर्मचारीको तलब भत्ता विभिन्न कार्यक्रम बजेट थप भएकाले खर्च २ अर्ब २५ करोड ३२ लाख भएको बताइएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षको असार सम्ममा १ अर्ब ७९ करोड ४८ लाख रुपैया मात्र आम्दानी गर्न सकेको छ ।

बजेट कार्यन्वयनमा वित्तिय अभावलाई प्रमुख समस्याको रुपमा देखाइएको छ । वहु वर्षिय आयोजनाहरुका साथै पुराना योजनाहरुको भुक्तानी गर्र्नुपरेको र आन्तरिक आय सोचेजस्तो नभएकोले घाटा भएको बजेटमा उल्लेख छ । 

पुँजीगत खर्च ५१.४६ प्रतिशत

समस्याहरुका बाबजुद पुँजिगत तर्फ ५१.४६ प्रतिशत र चालु तर्फ ७६ करोड ५७ लाख रुपैया खर्च गर्न सफल भएको बताइएको छ । दुवै गरेर कुल बजेटको  ६०.४८ प्रतिशत खर्च भएको उल्लेख छ ।

आगामी आर्थिक वर्षमा चालु खर्चमा व्यापक कटौती गरिएको र आर्थिक कार्यविधी निर्माण तथा परिचालन गरी वित्तिय अनुशासनलाई कडाइका साथै कार्यन्वयन गरिने बताइएको छ ।

इटहरीमा कस्ता योजना आए ?

बजारमा आकाशेपुल निर्माण, रिभर करिडोर ग्रिनवेल्ट (हरितपार्क) निर्माण, स्कुलमा अतिरिक्त क्रियाकलापका लागि फ्राइडे फर फिउचर, रात्रिकालिन बजार, उज्यालो इटहरी स्ट्रिट लाईट, हरेक वडामा व्ययायमशाला, ज्येष्ठ नागरिक र बालबालिकाका लागि ऐलानी जग्गामा हरित पार्क, सार्वजनिक स्थानमा फ्रि वाईफाई, विद्युतीय नगरबस सञ्चालन, चार्जिङ स्टेशन, ८ देखि १० सम्मका विद्यार्थीका लागि कोचिङ कक्षा सञ्चालन, सभागृह निर्माण, इटहरी विकासको गुरुयोजना मास्टर प्लान बनाउने, इटहरीमा गाभिएका गाविसहरु खनार, एकम्बा, पकली र हाँसपोसाको विकासमा विशेष महत्व दिने, आरसीसी ढलानलाईलाई कडाईका साथ प्रोत्साहन गरी पिच र टायललाई निरुत्साहित गर्ने, ट्याङ्ग्रा खोला डाइभर्सन देखि न्युनतम मापदण्ड पुरा गरेपछि मात्र जग्गा प्लटिङका लागि सिफारिस दिनेसम्मका योजनाहरु उपमहानगरले बनाएको छ । 


खगेन्द्र कार्की
प्रतिक्रिया