नजिकिँदो निर्वाचन मिति र बढ्दो सुरक्षा चुनौती

खगेन्द्र कार्की

फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले तयारी तीव्र पारेको छ। अहिले सबैभन्दा बढी चुनाव लागेको निकाय निर्वाचन आयोग नै हो । आयोगले आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी अघि बढाएको छ भने राजनीतिक दलहरू पनि आफ्नो अभियानमा सक्रिय हुन थालेका छन्। समानुपातिक सूची बुझाइसकेका दलहरू अहिले प्रत्यक्ष तर्फका उम्मेदवार छनोटमा व्यस्त छन्। केही जिल्लाबाट सम्भावित उम्मेदवारहरूको सूची केन्द्रमा पठाउने क्रम सुरु भइसकेको छ भने कतिपय स्थानमा अन्तिम छलफल जारी छ।

तर निर्वाचन नजिकिँदै गर्दा देशमा सुरक्षासम्बन्धी चुनौतीहरू पनि तीव्र रूपमा देखा पर्न थालेका छन्। झापामा भेटिएको शंकास्पद वस्तु सेनाले नष्ट गरेको घटना, सुनसरीमा तस्करी नियन्त्रणका क्रममा सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु, मधेशका विभिन्न क्षेत्रमा भएको तनाव—यी सबै घटनाले निर्वाचनपूर्वको शान्त वातावरणमा प्रश्न उठाएका छन्। राजनीतिक दलका नेताहरूले पनि चुनावी वातावरण पूर्ण रूपमा नबनेको अभिव्यक्ति दिइरहेका छन्, जसले राज्यलाई थप जिम्मेवारीसाथ अघि बढ्न सन्देश दिएको छ।

विराटनगर र वीरगञ्जमा प्रदर्शन

सुनसरीको लौकीमा सुरक्षाकर्मीको गोलीबाट सिटी सफारी चालक विजय साहको मृत्युपछि विराटनगरको सीमाक्षेत्रमा विरोध प्रदर्शन भएको छ। स्थानीय युवाहरूले सुरक्षाकर्मीको ज्यादती र बढ्दो महँगीविरुद्ध प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

यसैबीच टिकटकमार्फत धर्मसंस्कृतिलाई लक्षित गर्दै गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषाबाट सुरु भएको विवाद पर्सासम्म फैलिएको छ, जहाँ असन्तुष्ट समूहले प्रदर्शनसमेत गरेका छन्। धनुषा र पर्सासहित आठवटै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ। टिकटकमा हिन्दुस्तानको नाम लिँदै बनाइएको विवादास्पद भिडियोका कारण धार्मिक सहिष्णुतामा खलल पुगेको भन्दै स्थानीय अगुवाहरूले भिडियो पोस्ट गर्ने व्यक्तिलाई प्रहरीमा बुझाएका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय खजुरीमा छलफलका क्रममा केही युवाहरू आक्रोशित बने र मस्जिदमा आक्रमणसमेत भएको थियो।

दलहरूको भिन्न धारणा

राजनीतिक दलहरूले चुनावी वातावरणबारे आ–आफ्ना तर्क दिएका छन्। नेकपा एमालेले सरकारप्रति असन्तुष्टि जनाउँदै आफ्ना शीर्ष नेतामाथिको मुद्दा फिर्ता नलिएसम्म निष्पक्ष वातावरण नबन्ने बताएको छ। एमालेका उपमहासचिव रघुवीर महासेठका अनुसार “देशमा अहिले पनि आन्दोलनका कैदीहरू फरार छन् र प्रहरीका हतियारहरू हराइरहेका छन्, यस्तो अवस्थामा चुनाव सम्भव छैन।”

तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने क्रमशः चुनावी वातावरण बन्ने दिशामा देश अघि बढेको र राजनीतिक निकासको एकमात्र बाटो निर्वाचन नै भएको बताएका छन्। कांग्रेस अहिले आन्तरिक विवादमा व्यस्त देखिए पनि उम्मेदवार छनोटको काम अघि बढाइरहेको छ। राप्रपा र रास्वपाले पनि आगामी निर्वाचनलाई अवसरको रूपमा लिँदै जनआकर्षण बढाउने प्रयास गरिरहेका छन्।

ओली–प्रचण्ड भेटवार्ता

यसबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच च्यासलस्थित एक घरमा गोप्य भेटवार्ता भएको छ। करिब आधा घण्टा चलेको उक्त वार्तामा राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेलका सम्भावना र रणनीतिबारे छलफल भएको बताइएको छ। भेटका विस्तृत विवरण सार्वजनिक नगरिए पनि दुवै दलका नेताहरूबीच संवाद बाक्लिँदै गएको छ।

चुनावी मिति नजिकिँदै गर्दा देशभर राजनीतिक गतिविधि चर्किँदै छन्, तर साथसाथै सुरक्षाका चुनौतीहरू पनि तीव्र बनेका छन्। यस परिप्रेक्ष्यमा राज्यका संयन्त्रहरूलाई चुस्त राख्दै निष्पक्ष, शान्त र विश्वसनीय निर्वाचन सम्पन्न गराउनु अहिलेको प्रमुख दायित्व बनेको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया