स्थानीय निर्वाचन केन्द्रित ‘मिसन जागरण’ अभियानमा एमाले, केन्द्रीय सदस्यलाई विशेष जिम्मेवारी

खगेन्द्र कार्की

काठमाडौँ– नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई लक्षित गर्दै ‘मिसन जागरण’ अभियान सञ्चालन गर्ने भएको छ। पार्टीले सबै केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकेर ३१ पृष्ठ लामो अवधारणा पत्र तथा कार्ययोजना पठाएको छ, जसको मुख्य उद्देश्य पार्टीको गुमेको जनविश्वास पुनःस्थापित गर्नु, संगठनलाई सक्रिय बनाउनु र निर्वाचनमा सफलता हासिल गर्नु रहेको जनाएको छ।

पार्टीले तयार गरेको दस्तावेजमा पछिल्ला निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसक्नुका कारणहरूको समीक्षा गरिएको छ। २०७४ सालको निर्वाचनपछि वाम गठबन्धन र नेकपा गठनबाट उत्साहित बनेको जनमत पार्टी एकता टिक्न नसक्दा तथा एमाले विभाजन भएपछि निराश बनेर वैकल्पिक राजनीतिक शक्तितर्फ आकर्षित भएको निष्कर्ष एमालेले निकालेको छ। दस्तावेजमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई नेपालको अस्थिर राजनीतिक अवस्था र भूराजनीतिक प्रभावको परिणामका रूपमा व्याख्या गरिएको छ।

एमालेले आफ्ना सरकार र नेतृत्वले गरेका सकारात्मक कामको प्रभावकारी प्रचार–प्रसार हुन नसक्दा जनस्तरमा पार्टीको छवि कमजोर बनेको स्वीकार गरेको छ। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार अभियानमा खटिने नेताहरूलाई वर्तमान राजनीतिक अवस्था, विगतका निर्वाचन परिणाम, पार्टीले भोगेका चुनौती र भावी कार्यदिशाबारे स्पष्ट बनाउन अवधारणा पत्र तयार गरिएको हो। उनका अनुसार पार्टीका सबै तहका नेताहरूले एउटै सन्देश लिएर जनतामाझ जान सकून् भन्ने उद्देश्यले दस्तावेज तयार गरिएको हो।

जनतासँगको सम्बन्ध सुधारलाई प्राथमिकतामा राख्दै एमालेले ‘६ ज’ नीति अघि सारेको छ। यसअन्तर्गत जनतामा जाने, जनताका कुरा सुन्ने, जनप्रिय बन्ने, जनसंगठन परिचालन गर्ने, जनताको बहुदलीय जनवादलाई आत्मसात् गर्ने तथा जनमत सर्वेक्षणका आधारमा सक्षम नेतृत्व तयार गर्ने रणनीति अपनाइएको छ। पार्टीले संगठन विस्तारसँगै जनतासँग प्रत्यक्ष सम्पर्क बढाउन पनि जोड दिएको छ।

अभियानमा डिजिटल माध्यमको उपयोगलाई विशेष महत्व दिइएको छ। सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, डिजिटल प्रचार, ‘अल्गोरिदम’ र ‘पर्सेप्सन म्यानेजमेन्ट’ जस्ता विषयलाई अभियानको महत्वपूर्ण पक्षका रूपमा समेटिएको छ। एमालेले बदलिँदो राजनीतिक र सञ्चार परिवेशअनुसार डिजिटल क्षेत्रमा सक्रिय उपस्थिति जनाउन कार्यकर्तालाई निर्देशन दिएको छ।

पार्टीले सबै केन्द्रीय सदस्यलाई विभिन्न पालिकाको जिम्मेवारी तोकेको छ भने आवश्यक स्थानमा अन्य नेताहरूलाई पनि परिचालन गरिएको जनाएको छ। जिम्मेवारी पाएका नेताहरू स्थलगत रूपमा सक्रिय भए–नभएको अनुगमन गर्ने व्यवस्था समेत गरिएको छ। केन्द्रबाट खटिने नेताहरूलाई होटलभन्दा जनताको घरमा बसेर जनजीवन बुझ्न आग्रह गरिएको छ।

एमालेका अनुसार ‘मिसन जागरण’ अभियान आगामी स्थानीय तह र प्रदेश निर्वाचनसम्म निरन्तर सञ्चालन हुनेछ। पार्टी नेतृत्वले यस अभियानलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र निर्वाचन तयारीको प्रमुख आधारका रूपमा अघि बढाएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया