विराटनगरमा चुनावी रणनीतिका लागि सुरक्षा निकायको भेला

फाष्ट मिडिया नेपाल संवाददाता

विराटनगर । कोशी प्रदेशको चुनावी सुरक्षा रणनीति बनाउन जिल्लादेखि केन्द्रसम्मका सुरक्षा प्रमुख विराटनगरमा


विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कोशी प्रदेशको सुरक्षा रणनीति तय गर्न बुधबार विराटनगरमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको छ ।

गृह मन्त्रालय र कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले संयुक्त रुपमा सुरक्षा गोष्ठी आयोजना गरेका हुन् । गोष्ठी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेर निर्वाचित नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न सरकार तयार रहेको बताए ।

कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अझै पनि सुरक्षाका हिसाबले चुनावका लागि उपयुक्त वातावरण निर्माण भइनसकेको भन्दै उम्मेद्वार र मतदाताले भयरहित वातावरणमा चुनावमा सहभागी हुन पाउने वातावरण निर्माण गरिनुपर्नेमा जोड दिए ।

आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले अहिले जसले जे गर्दा पनि हुन्छ भन्ने मनोविज्ञान विकास भएको प्रति चिन्ता व्यक्त गरे । गोष्ठीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका केन्द्रिय प्रमुख पनि सहभागि छन् ।

त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कोशी प्रदेशका १४ वटै जिल्लाका प्रमुखहरू सहभागी थिए । बैठकले कोशी प्रदेशको सुरक्षा अवस्था विश्लेषण गरी चुनाव केन्द्रित भावी सुरक्षा रणनीति तय गर्ने बताइएको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया